भाव र शिल्पका प्रसिद्ध कवि भूपिनका कविता सङ्ग्रहहरू ‘हजार वर्षको निद्रा’ (२०६६) र ‘सुप्लाको हवाईजहाज’ (२०७३) निकै चर्चित छन्। यी दुवै सङ्ग्रहका कवितामार्फत भूपिनको कवित्व स्थापित भइसकेको छ। विषयगत विविधता र शिल्पको कसिलो कलाले उनका कवितामा प्रयुक्त आवश्यक कोरियोग्राफी पाठकका निम्ति स्वादिष्ट छन्। उनको काव्यिक भाषा र भावले युक्त निबन्ध सङ्ग्रह ‘चौबीस रिल’ (२०६९)ले उत्तम शान्ति पुरस्कार प्राप्त गर्यो। उनको उपन्यास ‘मैदारो’ आउँदो शनिबार काठमाडौँमा सार्वजनिक हुँदैछ। उनका लेखनका विधागत अनुभूति र अनुभवमा केन्द्रित रहेर नेपाली पब्लिकका निम्ति डा. गीता त्रिपाठीले गरेको कुराकानी:
भूपीनजी, कुनैबेला तपाईंले भन्नुभएको थियो, ‘गीताजी, यो समालोचनातिरको आकर्षणले कविको परिचयलाई विस्थापित गराउला है, ख्याल राख्नुहोला!’ यो प्रश्न अहिले म तपाईंलाई सोध्न चाहन्छु, कवितादेखि यो उपन्यासको यात्रालाई के भन्नुहुन्छ?
–मैले कुन सन्दर्भमा कहिले उक्त कुरा भनेँ? मलाई ठ्याक्क सम्झना भएन। आशय चाहिँ तपाईंको कविता यात्रा जारी रहोस्, कतै बीचमा नटुङ्गियोस् भन्ने रहेछ। म अहिले पनि तपाईंलाई त्यही कुरा दोहो याउँछु। म तपाईंका कविताको प्रशंसक थिएँ र छु। म त्यो बेला पनि कोही कवि अर्को विधामा लाग्नु हुन्न भन्ने पक्षमा थिइनँ, अहिले पनि छैन। कविता सँगसँगै तपाईं र म दुवैले निबन्ध लेख्यौँ। ठीकै त छ।
मैले समालोचनामा त्यति रुचि राखिनँ, अझ भनुँ साहस गरिनँ। तपाईं समालोचनामा पनि लाग्नुभयो। यो पनि ठीकै छ त। अलग विधामा नलेख्ने कसम न तपाईंले खानुभयो, न मैले खाएँ। ठीकै छ त। के थाहा, भोलि मेरो साथीलाई विषयवस्तुले उपन्यास लेख्न बाध्य गर्ला! उपन्यास लेखिएला र प्रकाशित होला। त्यो नेपाली आख्यानको एक महत्तम उपलब्धि ठानिएला। म खुसी हुनेछु। गीताजी, कविता हाम्रो पहिलो प्रेम हो। यसलाई कसरी बिर्सन सकिएला र? म त चौथो कविता सङ्ग्रहको तयारी गरिरहेछु। तपाईंको तयारी कस्तो छ?
तपाईंका कविताले यथार्थको जुन कलात्मक संयोजन गर्न सकेको छ, त्यो भाषिक शिल्पगत विशिष्टता उपन्यासमा कतिसम्म निर्वाह गर्न सक्षम भएको मान्नुहुन्छ?
– कविताको उपासक भएकाले उपन्यासमा पनि मेरो विशेष कोसिस कवितात्मक भाषामा त छ नै। कविताको बानी परेका हामीलाई घटना, विषयवस्तु, चरित्र चित्रण आदि पनि कविताकै रूपमा लेख्न सहज लाग्दो रहेछ। तर, सत्य के हो भने आख्यानले आफ्नै भाषा खोज्छ, आफ्नै भाषा बनाउँछ। कसैले जबरजस्ती कविता नै कविता लेख्छु भनेर आख्यान लेख्न त सक्ला, तर त्यो कृत्रिम बनिदिने खतरा हुन्छ।
तपाईंले छनोट गरेका पात्रहरूको संवाद तपाईंको कविताजस्तो नहुन पनि सक्छ। ती पात्रहरूको संवादमा कविता थोपरिँदा त्यो अभिनय गरिरहेको अभिनेताजस्तो लाग्नसक्छ। अभिनेताले अभिनय गरेकोजस्तो लाग्नु अभिनयको असफलता मानिन्छ। सत्य हो, आख्यानीकरणको कलात्मक संयोजनमा भने मैले विशेष ध्यान दिएको छु।
विकल्प एउटा छ, आफ्ना पूर्ववर्ती सङ्ग्रहका लोकप्रिय कविता र नयाँ लेखएका सार्थक कविताको सङ्कलन निकाल्ने। सुप्लाको हवाईजहाज निकाल्ने बेला मलाई पनि यस्तो सुझाव नआएको होइन। तर, मैले चुनौती स्वीकारेर नयाँ कविताहरूको मात्र सङ्ग्रह निकालेँ।
कसैले तपाईंका पछिल्लो कविता सङ्ग्रहका अधिकांश कवितालाई अनावश्यक रूपले तन्काइएको पनि भनेका छन्, तपाईं के भन्नुहुन्छ?
– मेरो खास टिप्पणी छैन गीताजी। हजार वर्षको निद्रा होस् या सुप्लाको हवाईजहाज, दुवै कृतिमा कलात्मक उडान, कल्पनाशीलता र मानवीयताको पक्षधरतालाई मैले विशेष ध्यान दिएको छु। कृतिका सबै कविता उत्तिकै सुन्दर भएनन् होला। यसलाई म बढो हार्दिकतापूर्वक स्वीकार गर्छु। घुम्ने मेचमाथि अन्धो मान्छेका भूपि शेरचनबाहेक मैले अर्को कुनै कवि देखेको छैन, जसका सबै कविता उत्तिकै पर्फेक्ट आएका होउन्। भूपि अपवाद नै भए।
विकल्प एउटा छ, आफ्ना पूर्ववर्ती सङ्ग्रहका लोकप्रिय कविता र नयाँ लेखएका सार्थक कविताको सङ्कलन निकाल्ने। सुप्लाको हवाईजहाज निकाल्ने बेला मलाई पनि यस्तो सुझाव नआएको होइन। तर, मैले चुनौती स्वीकारेर नयाँ कविताहरूको मात्र सङ्ग्रह निकालेँ। मलाई लाग्यो, प्रतिनिधि कविताहरूको सङ्ग्रह निकाल्ने अझै बेला भएको छैन मेरो। मलाई चुनौतीपूर्ण काम गर्न मन लाग्यो। मलाई लाग्छ, सकेसम्म सङ्ग्रहका सबै कविता सार्थक बनाउने प्रयत्न गर्ने हो कविले तर नयाँ कविताहरूको सङ्ग्रह निकाल्दा केही कविता औसत वा झुर नै पनि आउने सम्भावना रहन्छ। मूल कुरा, सार्थक कविता कति आए भन्ने होला !
कविता, निबन्ध र उपन्यास कुन चाहिँ बढी सहज विधा हो भन्ने तपाईंको अनुभव रह्यो?
– मेरो विचारमा कुनै पनि विधा एक अर्कोभन्दा सहज वा गाह्रो भन्ने नै हुँदैन। त्यसलाई हामीले कति गम्भीरतापूर्वक लिन्छौँ र कसरी विधागत लेखनमा आफूलाई अभ्यस्त बनाउँछौँ भन्ने कुरा महत्त्वपूर्ण होला। अन्य सिकाइमा झैँ लेखनमा पनि अभ्यस्तता अत्यन्त जरुरी कुरा हो। सामान्य अवस्थामा कुकुरले घण्टी बज्दा र्याल निकाल्दैन। तर, पाव्लवले अभ्यस्ततामार्फत कुकुरलाई घण्टी बज्दा पनि र्याल निकाल्ने बनाए। हामी त मानिस, त्यसमाथि सर्जक पनि।
पुरुष सत्ता र विश्व पुँजीवादी बजारले निर्माण गरेको नारी सुन्दरताको मानकप्रति असहमति छ त्यसमा। मेरालागि पारिजात र झमक घिमिरेहरू विश्वसुन्दरी हुन्। मेरी आमा विश्वसुन्दरी हुन्।
कुनै एक विधामा कलम चलाइरहेको र अध्ययनले माझिएको कुनै पनि लेखकका निम्ति विधागत अभ्यस्तता त्यति असजिलो काम सायद होइन। कवितामा काव्यिक अन्तरदृष्टि प्राप्त गर्न कैयौँ समय कुर्नुपर्छ, प्राप्त भएपछि त्यसको लेखन व्यवस्थापन गर्न उत्तिकै गाह्रो। मेरो एक कविता छ, जुन मैले २०५५ सालमा म्याग्दीको पहिरो देखेपछि लेख्न खोजेथेँ, अझसम्म पूरा गर्न सकेको छैन। आख्यानमा घटना र पात्रहरूको कुशल व्यवस्थापन गर्न सजिलो हुँदैन। लेखन यात्रा सजिलो मान्नेहरू सुखी प्राणी हुन्।
केही कथ्य वा सार, जसले मनलाई अझै बोझिलो बनाइरहेको छ, त्यस्तो अनुभूति भएको छ कतै?
– त्यस्ता केही अनुभवहरू छन्। सुप्लाको हवाईजहाजमा एक कविता छ विश्वसुन्दरी। यो मेरो सर्वाधिक विवादास्पद कविता हो। मेरा कविताका पाठकको ठूलो वर्गले मन पराएको कविता पनि हो। त्यो कवितामा मैले विश्वका ठूला ठूला सहरदेखि साना टोलसम्म भइरहने सुन्दरी प्रतियोगिताप्रति विमति राख्ने कोसिस गरेको छु।
पुरुष सत्ता र विश्व पुँजीवादी बजारले निर्माण गरेको नारी सुन्दरताको मानकप्रति असहमति छ त्यसमा। मेरालागि पारिजात र झमक घिमिरेहरू विश्वसुन्दरी हुन्। मेरी आमा विश्वसुन्दरी हुन्। धेरै पाठकले मन पराए पनि केही साथीहरूले कविता मन पराएनन्। लेखन यात्रामा यस्तो हुन्छ। यसलाई म एक विशेष अनुभवका रूपमा लिन्छु।
समकालीन कविताले अँगालेको कथ्य र शिल्पका विषयमा चाहिँ तपाईंको धारणा के छ?
–कविताका कथ्यहरूमा व्यापक परिवर्तन देख्छु म। गणतन्त्र र लोकतन्त्रका कुरा, पहिचान र समावेशिताका कुरा, नारी विद्रोहका कुरा, अभियानकै रूपमा आएका दलित मुक्तिका कुरा, पर्यावरणीय लेखनका कुरा, युद्ध र अभिघातका कुराले नेपाली कविताको ब्रह्माण्ड फराकिलो बनाउँदै लगेका छन्। यी हाम्रा सुन्दर प्राप्तिहरू हुन्।
शिल्पको दुनियाँमा भने हामीहरू अलिक अल्छी नै छौँ। केही अपवादलाई छोडेर अधिकांश कविहरू आफ्नो सिग्नेचर निर्माण गर्ने कोसिसमा उदासीन छन्। सीमित कविहरूबाहेक धेरै कविहरूको कि विषयवस्तुमा मात्र ध्यान छ, कि शिल्प निर्माणमा मात्र। विषयवस्तु र शिल्पको सर्वोत्कृष्ट संयोजनमा कविहरूले अतिरिक्त ध्यान दिनु जरुरी देख्छु।
तपाईंले विश्व साहित्य र नेपाली साहित्यबीच के, कति र कस्तो सीमा महसुस गर्नुभएको छ?
–नेपाली साहित्य पनि विश्व साहित्य नै हो, तर विश्व बजारमा हाम्रो उपस्थिति कमजोर छ। टाढाको कुरा छाडौँ, दक्षिण एसियाको साहित्यमा पनि नेपाली लेखनको खासै चर्चा सुन्न पाइन्न। तपाईं र मैले सार्क लिटरेचर फेस्टिभलमा सँगालेका अनुभवहरूले सायद यही कुरा भन्छन्। गुगलमा सर्च गर्दा होस् वा किताबमा खोज्दा, हामी हाम्रो उपस्थिति देखेर निरास हुनुपर्छ।
डा. गोविन्दराज भट्टराईको एक कार्यपत्रमा लेखिएको थियो, प्रमिथसको मिथकलाई आधार मानेर रचना गरिएका विश्वसाहित्यको चर्चा गर्दा हाम्रा महाकविको प्रमिथस काव्य नै छुट्छ। जब कि सामान्य फुटकर कविताको पनि चर्चा चल्छ। विश्वबजारमा हाम्रा सिर्जनात्मक खजानाहरू पुगेका छैनन्, पुगेकाको पनि गतिलो ब्रान्डिङ छैन। मैले अमेरिकामा अनुभव गरेको कुरा, प्राय: अमेरिकनहरू सर्वाधिक लोकप्रिय खेल फुटबल हेर्दैनन् तर अमेरिकन सोकरका प्रतियोगिताहरूभन्दा उत्कृष्ट खेल मान्न थालेको पाएँ। अमेरिका सफल, हामी असफल। भाषासाहित्यको कुरा पनि त्यही हो। हाम्रो शैक्षिक प्रणाली, अङ्ग्रेजी भाषाको प्रभाव र बजारमा बिक्ने हिसाबले जान अन्जानमा हाम्रो रुचि युरोपकेन्द्रित छ।
म यसलाई नकारात्मक मान्दिनँ, तर हामीले उनीहरूले झैँ आफ्ना आविष्कारलाई ब्रान्डिङ गर्न सकेनौँ। कोकाकोला, केएफसीदेखि लिएर साहित्य पनि हामीले उतैबाट मात्र आयात गर्यौँ। भाषा, पेसा र धर्मले उनीहरूलाई साथ दियो। हामी देशभित्रै सीमित हुन अभिशप्त छौँ। युवा समीक्षक महेश पौडेलका दाबी छ, सार्क क्षेत्रमा भएको हिन्दी भाषाको उपनिवेशबाट पनि हामी मुक्त हुन सकेनौँ। आयातको लत लागेका हामीहरू साहित्यको निर्यातमा साँच्चै कतै छैनौँ। यो अत्यन्त दुखद कुरा हो।
समकालीन कविताका विषयमा भइरहेका समालोचनाप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ?
–यही त समस्या छ। कुनै पनि देशको साहित्यको ब्रान्डिङ गर्ने दायित्व समालोचकहरूको मन्तव्यबाहेक कोही दोस्रो व्यक्तिले विश्व सम्मेलनमा नेपाली साहित्यलाई जुरुक्क उचाल्ने मन्तव्य दिएको हाम्रो नोटिसमा छैन। युवा समालोचकहरूबाट आशा छ, तर उनीहरू पनि आग्रह र पूर्वाग्रहका पर्खालभित्र सीमित देखिन्छन्। हल्काफुल्का अनुसन्धान र सर्वेक्षणमा हामी अल्मलिइरहेछौं। हाम्रो लेखन इतिहास लामो छैन तर विश्वबजारमा लैजान सकिने मौलिक विषयमा हामी गम्भीर छैनौँ।
बुद्धलाई फेसबुक र ट्विटरमा नेपाली नागरिकता दिन तँछाडमछाड गर्ने हामी अझै बुद्ध साहित्य पढ्न विदेशी लेखकको भर पर्नुपर्ने अवस्था छ। सगरमाथा र भरियाहरूको दुःखको कथा समालोचनाभित्र कति आएको छ? छुवाछूतका कथाहरू नेपाल र भारतबाहेकका लेखकले गहिरोसँग लेख्न सक्दैनन्।
बुद्धलाई फेसबुक र ट्विटरमा नेपाली नागरिकता दिन तँछाडमछाड गर्ने हामी अझै बुद्ध साहित्य पढ्न विदेशी लेखकको भर पर्नुपर्ने अवस्था छ। सगरमाथा र भरियाहरूको दुःखको कथा समालोचनाभित्र कति आएको छ? छुवाछूतका कथाहरू नेपाल र भारतबाहेकका लेखकले गहिरोसँग लेख्न सक्दैनन्। अन्यत्रका पाठकलाई विश्वमा यस्तो खराब परम्परा छ भन्ने पनि थाहा नहुन सक्छ। माओवादी युद्धताका हाम्रा आघात र उभार विश्वनागरिकका लागि नवीन विषयवस्तु हुन सक्छन्।
विविधतामय भूगोल र संस्कृतिका विषय हाम्रा मौलिक सम्पत्ति हुन सक्छन्। मन्दिरहरूको सहर भनेर चिनिने राजधानीका मन्दिरका आर्टिटेक्टमा हाम्रो ध्यान छैन। लेखियो भने पनि त्यसको ब्रान्डिङमा हाम्रो ध्यान सायदै जाला। समालोचकले कहिलेकाहीँ नवीन क्षेत्रप्रति लेखनलाई प्रेरित गर्नसक्नुपर्ने हो, त्यसको प्रस्ट सङ्केत छैन। विश्वले नयाँपन महसुस गर्ने विषयमा लेखिएका सिर्जनाको ब्रान्डिङमा नलागेसम्म हामी टाढा पुग्नै सक्दैनौँ।
तपाईं यस उपन्यास यात्राको गन्तव्यप्रतिको पाठकीय जिज्ञासालाई के भन्नुहुन्छ?
–मेरो कविता यात्रा जारी रहेकाले मेरालागि यो प्रश्न सायद असान्दर्भिक नै हो कि? निबन्ध सङ्ग्रह चौबीस रिल प्रकाशित गर्ने समयमा केही यस्तै प्रश्न उठेका थिए। निबन्ध आएपछि ती प्रश्न विस्तारै सेलाएर गए। अहिले उपन्यास लिएर आउँदै गर्दा यस्ता प्रश्न आउनुलाई म सामान्य रूपमै लिन्छु। पाठकलाई शङ्काको सुविधा हुन्छ, लेखकलाई आफ्नो सार्थकता प्रमाणित गर्ने सुविधा हुन्छ। म त्यसतर्फ प्रयत्नशील छु।
सत्य के हो भने म लेखनमा नवीनता र प्रयोग रुचाउँछु, मलाई चुनौतीसँग खेल्न मन पर्छ। कारणवस नै म आख्यानमा आएको हुँ। फेरि दोहोर्याउँछु, मैदारो मैले सबैभन्दा बलियोसँग आख्यानमा मात्रै लेख्न सक्थेँ। कति बलियोसँग लेख्न सकेँ? त्यो पाठकहरूले भन्ने कुरा भयो।
कविताबाट उपन्यासमा आउँदा हुने सम्भावित दुर्घटना के के होलान्? ती सम्भाव्यताबाट बच्न के कस्ता सुरक्षानीति अवलम्बन गर्नुभएको छ?
– सिर्जनाको एक विधामा पाएको ज्ञानले अर्को विधालाई सघाउँछ। सिकाइको सकारात्मक स्थानान्तरणको सिद्धान्तले भन्छ, पूर्वज्ञान, सीप, धारणा र अनुभवले नयाँ सिकाइलाई मद्दत गर्छ। फरक फरक विधामा काम गर्ने क्रममा मैले चाहिँ कुनै दुर्घटनाको महसुस गरिनँ।
बानीका कारण शुरुवाततिर केही अप्ठ्यारो र चुनौती अवश्य महसुस गरेँ, तर समयक्रममा मैले चुनौतीलाई प्रेममा बदलेँ। म स्वभाविकलयमा आएँ। म इमानदारीपूर्वक भन्छु, कविता र निबन्ध लेखनको बानीले मलाई उपन्यास लेख्न कुनै बाधा दिएन, सहयोग मात्र गर्यो।
तपाईंलाई के कारणले उपन्यास ‘मैदारी’ लेखिनैपर्ने विषय भन्ने लागेको हो?
–यो धेरै महत्त्वपूर्ण प्रश्न हो र उत्तिकै गम्भीर पनि। जबदेखि मैले हाम्रो समाजमा हुने गरेका सामाजिक विभेदका आयामहरू पहिल्याउन शुरु गरेँ, मलाई सर्वाधिक पोल्ने विभेद छुवाछूत नै थियो र छ। अरू विभेदहरू पनि छन् तर मेरो विचारमा जन्मकै कारणले कोही पवित्र हुने र कोही अपवित्र मानिने विभेद सर्वाधिक कुरूप छ। चेतनाको विकास नहुँदासम्म मैले पनि यस्तो विभेदको अभ्यास गरेँ। अचेल सोच्छु, विश्वको कुनै कुनामा भर्खरै समाज पढ्न थालेको विद्यार्थीले जब भारत र नेपालको समाजबारे पढ्न थाल्छ र यहाँ अभ्यासमा भएको छुवाछूतबारे पढ्छ या सुन्छ, उसलाई यस्तो विभेद अस्तित्वमा छ भनी पत्याउन वास्तवमै मुस्किल पर्छ। उसलाई अम्बेडकरको लेखन र अरुन्धतीका मन्तव्यप्रति शङ्का लाग्नसक्छ। जनावर छुत हुने, मानिस अछुत हुने।
उही खोलाबाट उही नालामा आएको पानी गाग्रीमा भर्दा कहीँ पवित्र हुने, कहीँ अपवित्र हुने। त्यसलाई हाम्रो संस्कारले संस्कृतिका रूपमा अवलम्बन गर्ने। भन्ने बेलामा वशुधैव कुटुम्बकम् भन्ने तर चलनमा मानिसलाई एउटै धरतीका सदस्य मान्न इन्कार गर्ने। मुलुकी ऐनमा समेत समान अपराधका लागि कथित उपल्लो जातलाई सहुलियत र कथित तल्लो जातलाई कठोर सजायको व्यवस्था गर्ने। जीवनभरि अछुतहरूलाई अलग्याएर उनीहरूको जीवनको स्वत्व र सौन्दर्य नष्ट गर्ने। योनी र सीप चल्ने तर पानी नचल्ने।
यस्तै संस्कारमा हुर्की खेली आएका हामीलाई यी कुरा सामान्य लागे पनि मुद्दा असामान्य छ। यो दुनियाँमा पहिला मानिसको शरीर जन्म्यो कि भाषा? सभ्यता विकासका क्रममा मानिसले सञ्चारका लागि आविष्कार गरेको भाषाले मानिसलाई किन तँ छुत र तँ अछुत भनिदियो? मानवीयता प्राथमिक कि भाषा? भाषाले किन यति खराब भाष्य निर्माण गरिदियो? किन कसैका लागि यो दुनियाँ झलमल्ल घाम लाग्दा पनि अँध्यारो?
यावत सवालहरू मेरा मनमा आइरहन्थे। मलाई लाग्यो, हाम्रो समाज र समय लेख्ने हो भने लेखनमार्फत न्यायपूर्ण र समतामूलक समाजको पक्षमा उभिने हो भने यस्तो घिनलाग्दो अश्पृष्यताबारे मैले लेख्नैपर्छ र यो विश्वका पाठकका लागि पनि नवीन विषय हुनसक्छ (यद्यपि यसबारे नलेखिएको चाहिँ होइन। अम्बेडकरले त दलित आन्दोलनमार्फत विद्रोह छेडे र नेपालमा त्यसको सकारात्मक प्रभाव पर्यो। तर हाम्रामा यस मुद्दामा लेखिएको साहित्य निकै अपर्याप्त छ।) कला साहित्यले समाज परिवर्तन गर्छन् गर्दैनन्, बहसको विषय हो। मेरो विश्वास छ, यसले परिवर्तनका लागि आवश्यक पर्यावरण निर्माण गर्छ। यी महत्त्वपूर्ण दुई कारण हुन्, जसले मलाई यो विषय लेखिनुपर्ने लाग्यो।