हेमन्त केसी, जाजरकोट - सरोकारवाला निकायको संरक्षण नपुग्दा इतिहास बोकेको जाजरकोटको शिवालय क्षेत्रको दैनिक महत्त्व हराउँदै गएको छ।
भेरी नगरपालिका–१ कालेगाउँमा रहेको धार्मिक तथा ऐतिहासिक शिवालय क्षेत्र मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको हो। पर्यटन विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने शिवालय क्षेत्र आवश्यक प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।
शिवालय भेरी नदीको किनारमा रहेको धार्मिक दृष्टिले निकै सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो। जिल्लाको स्थानीय परम्परा, लोकसंस्कृति र इतिहाससँग प्रत्यक्ष जोडिएको शिवालय क्षेत्र जाजरकोटलगायत रुकुम, सल्यान र सुर्खेत जिल्लाको धार्मिक तीर्थस्थलका रूपमा परिचित छ।
स्थानीयवासी, सरोकारवाला निकाय र सरकारको बेवास्ताका कारण यस शिवालय क्षेत्रको उचित संरक्षण हुन सकेकाे छैन। यसकाे संरक्षण हुन सके जाजरकोटको इतिहासको संरक्षण मात्र नभई पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने स्थानीयवासी बताउँछन्। शिवालय क्षेत्रमा तीन ऐतिहासिक एवं कलात्मक मन्दिर छन्।
शुरुमा सुनको गजुर भएको बूढापाकाको भनाइ भए पनि अहिले एउटा मन्दिरमा सुनको जलप लागेको गजुर र अन्यमा जीर्ण रहेका काठ र अन्य वस्तुका गजुर रहेको पाइन्छ। शिवालय क्षेत्रमा रहेका तीनमध्ये एउटा जाजरकोटी राजा इन्द्रनारायण शाहका छोरा दीपनारायण शाहले आफ्नी आमा शिवकुमारीको सम्झनामा बनाएको मन्दिरको नाम हो शिवेश्वर।
त्यस्तै दीपनारायणका छोरा जङ्गबहादुर शाहले बुवा दीपनारायण शाह र आमा दुर्गाकुमारी (रणबहादुर शाहकी छोरी)को सम्झनामा अर्को मन्दिर दीपदुर्गेश्वर बनाएका थिए। जङ्गबहादुर शाहका छोरा अम्बरबहादुर शाहले आफ्ना दाजु महाशमशेर शाहको नाउँमा बनाएको मन्दिरको नाम हो महामुक्तेश्वर।
जाजरकोटी राजा दीपनारायण शाह र उनका छोराले २ सय वर्षअघि निर्माण गरेको शिवालय क्षेत्र अहिले ओझेलमा पर्दै गएको स्थानीय सरोकारवाको भनाइ छ। तेलिया इँट प्रयोग गरी अति कलात्मक रूपमा बनेका मन्दिरको सुन्दरता र वरिपरिको प्राकृतिक वातावरणले शिवालय क्षेत्र ठूलो सम्भावना बोकेको पर्यटकीय एवं धार्मिक क्षेत्र बन्नसक्ने भेरी नगरपालिका–१ कालेगाउँका स्थानीयवासी एवं पत्रकार सहदेव बस्नेत बताउँछन्।
शिवालय क्षेत्रभित्र रहेका तीन मन्दिर विसं १८८३ मा महामुक्तेश्वर, १८८७ दीपदुर्गेश्वर र १८९७ मा शिवेश्वर मन्दिर निर्माण गरिएको शिवालय गुठी संरक्षण तथा व्यवस्थापन समितिका सचिव दलबहादुर खत्रीले बताए। मन्दिरका कलात्मकताले सबैलाई मोहित पार्ने गरेको छ।
मन्दिर र शिवालय क्षेत्रले नेपाल एकीकरणको सन्दर्भ तथा जाजरकोट र गोर्खाली सेनाबीचको सम्बन्धको महत्त्व पनि दर्शाउने गरेको खत्रीले बताए। जाजरकोट र गोरखाका राजा एवं पछि काठमाडौँ र जाजरकोट राज्यबीचको वैवाहिक तथा कूटनीतिक सम्बन्धका केही विषयलाई यो शिवालय क्षेत्रमा रहेको दीपदुर्गेश्वर मन्दिरले झल्काउँछन्।
छेउमै कलकल बग्ने भेरी नदीको सुन्दरतासँगै खुलाचौर अनि वरिपरि हरिया पहाडको बीचमा रहेको शिवालय क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवं आकर्षक पर्यटकीयस्थल बनाउनुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।
शिवालय गुठी संरक्षण तथा व्यवस्थापन समितिको तर्फबाट शिवालय क्षेत्रमा रहेका मन्दिरको संरक्षण, सम्वर्द्धन, शिवालयसम्म पुग्ने बाटो, खानेपानी, आगन्तुकलाई विभिन्न खेलकुद तथा मनोरञ्जनका साथै अन्य धार्मिक संस्कारमा सहभागी गराउन आवश्यक पूर्वाधार तथा तयारी जरुरी रहेको शिवालय गुठी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष योगबहादुर वलीले बताए।
साँघुरिँदै शिवालय क्षेत्र
पहिले १६ रोपनी क्षेत्रफलमा रहेको शिवालय क्षेत्र अहिले आएर ७ रोपनीमा मात्र सीमित भएको छ। यसको संरक्षण गरी जिल्लामा पर्यटन व्यवसायको विकास गराउन स्थानीयवासी, सरोकारवाला र स्थानीय सरकारले गम्भीर चासो दिनुपर्ने वडाध्यक्ष दीपक रानाले बताए।
सडक यातायातको पहुँचभित्रै रहेको शिवालय क्षेत्रको उचित विकास र व्यवस्थापन हुन सके वर्षेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक शिवालय भ्रमणमा आउने मात्र नभएर स्थानीय युवाका लागि रोजगारीको राम्रो अवसर सिर्जना हुनसक्ने रानाको भनाइ छ।
“भेरी नदीमा पौडी तथा र्याफ्टिङ खेल्ने, खुला हरिया चौरमा वनभोज खाने, पवित्र शिवालय मन्दिरको दर्शन गर्ने, विभिन्न प्रकारका खेलकुद सञ्चालन गर्ने लगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि शिवालय अति सम्भावनायुक्त एवं उर्वरक्षेत्र भए पनि सरोकारवालाको उचित ध्यान गएको पाइँदैन”, स्थानीय उत्तर बटालाले बताए।
विशेषगरी शिवरात्रि, तीज, चैतेदशैँ रामनवमी तथा स्वस्थानी पर्वका समयमा सयौँ भक्तजनको उपस्थितिमा ठूलो मेला लाग्ने गरेको शिवालय क्षेत्र अब फुर्सदका बेला या बिदाका दिन मनोरञ्जन प्राप्त गर्ने ठाउँका रूपमा परिणत हुन जरुरी रहेको बटालाको भनाइ छ।
विगतमा तत्कालीन जिल्ला विकास समिति र अन्य सरकारी तथा गैरसरकारी निकायको सहयोगमा शिवालय क्षेत्रको सुधार एवं विकासका लागि थोरै प्रयास भएको भए पनि खासमा यस क्षेत्रको प्रचारप्रचार र विकासका लागि ठोस पहल नभएको स्थानीयवासीको आरोप छ।
शिवालय क्षेत्रलाई सुन्दर एवं मनोरम क्षेत्र बनाउन व्यवस्थित आर्यघाटको निर्माण, जोगीबाबाहरू बस्ने कुटी निर्माण, पाहुनाघर निर्माण, सुन्दर बगैँचा निर्माण, गाडी पार्किङको उचित व्यवस्था, वृद्धाश्रम निर्माण तथा नदीसम्म पुग्नका लागि पक्की सडक र मान्छे हिँड्ने सहज पैदल मार्ग निर्माण लगायतका योजना कार्यान्वयन हुनुपर्ने माग चर्को उठेको छ।