काठमाडौँ - वीर अस्पताल मुलुकको ‘मदर’ अस्पतालको रुपमा चिनिन्छ। यहाँ निःशुल्क डाइलासिस गरिन्छ। वीरको डायलासिस विभागमा पुग्दा मिर्गौलाका बिरामीहरु पालो कुरिरहेका थिए। सबैको अनुहारमा मलिनता देखिन्थ्यो। तिनै मलिन अनुहारमध्ये एउटा अनुहार धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिकाकी ४७ वर्षीया भगवती बुर्लाकोटीको थियो।
२०५५ सालदेखि मिर्गौला रोगसँग लडिरहेकी बुर्लाकोटीले विगत ९ महिनादेखि हप्तामा दुईपटक डायलासिस गरिरहेकी छन्। दुई छोराकी आमा बुर्लाकोटीका श्रीमान् पेशाले शिक्षक हुन्। उनी भन्छिन्, ‘मलाई ०५५ सालमा डाक्टरले मिर्गौलामा केही खराबी देखिएको छ, औषधि गर्नुहोस् भनेका थिए। उतिबेला आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकिएन। अहिलेको जस्तो सरकारी सुविधा पनि थिएन। औषधि खाँदै आएकी थिएँ। गएको दशैँदेखि डायलासिस गर्दै आइरहेकी छु, कहिले मरिन्छ, थाहा छैन निक्कै गाह्रो हुने रहेछ रोगी जीवन बाँच्न।’
उनले थपिन्, ‘खान मन लाग्दैन, केही खायो भने पनि पच्दैन, वाकवाकी लाग्छ, यस्तै हो भने अब धेरै बाँचिन्छ जस्तो लाग्दैन।’ मिर्गौलापीडित बुर्लाकोटीका कान्छा छोरा २३ वर्षीय सञ्जन धरेल आमाको उपचारका बारेमा भन्छन्, ‘मानिस जन्मेपछि मर्नै पर्छ तर आधा जीवन छँदै मृत्युसँग लड्नुपर्ने अवस्थामा आमा हुनुहुन्छ, सरकारले निःशुल्क डायलासिसको उपचार व्यवस्था गरेको छ, स्थानीय तहको सरकारले विपन्नको कागज बनाइदिएको छ, यता वीरमा आमाको निःशुल्क उपचार गराइरहेको छु, पहिलेको भन्दा अलि ठीक हुनुभएको छ।’
निःशुल्क डायलासिसबारे अझै बेखबर
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालदेखि शुरु गरिएको निःशुल्क डायलासिस सेवाबाट मिर्गौला रोगी खुसी छन्। त्यतिबेला प्रधानमन्त्री ओलीले उपचारको सम्भावना हुँदाहुँदै कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्ने चाहनाअनुरूप डायलासिस निःशुल्क गरिएको बताएका थिए। साथै, सूचनाको पहुँचमा भएका र शिक्षित मानिसहरूबाहेक अति विपन्न मानिसहरू निःशुल्क रूपमा गरिने डायलासिसबारे अनभिज्ञ रहेका छन्।
डायलासिसबारे उपयुक्त जानकारी नपाएकी मिर्गौलापीडित हुन्– धादिङकी मैना परियार। जिल्लाको ज्वालामुखी गाउँपालिकापाकी ६८ वर्षीया परियार पहिलोपटक डायलासिस गर्न पुगेकी छन्। उनलाई सरकारले गरिब विपन्नहरूको आजीवन निःशुल्क डायलासिस गर्छ भन्ने थाहा रहेनछ।
उनी भन्छिन्, ‘म त उमेरले पनि बूढी भइसकेँ। छोराछोरीले उपचार गर्न ल्याएका छन्, तैपनि धेरै बाँचुलाजस्तो लाग्दैन, अहिले पहिले उपचार भएको भए केही बाँचिन्थ्यो कि ! अनुहार सुन्नियो, खाना खान मन लाग्दैन थियो, वाकवाकी लागिरहने यस्तो समस्याले मलाई ग्रसित बनाएपछि उपचार गर्न ल्याएका छन्।’
मैनाका ७० वर्षे श्रीमान् छन्। उनी आफै गरिखान सक्दैनन्। बुहारीको रेखदेखमा बाँचिरहेका छन्। तीन छोरी र दुई छोराकी आमा मैनाले विगत ३ वर्षदखि रोेग लुकाएकी रहिछन्। मैनाकी कान्छी छोरी आरती परियार भन्छिन्, ‘आमा २–३ वर्ष पहिलेदेखि बिरामी पर्न थाल्नुभएको हो, मान्छे बढी, काम नगरी खान नपुग्ने, दाइहरू ज्यालादारी गरेर जोहो गर्नुहुन्छ, सरकारले निःशुल्क डायलासिस गर्छ भन्ने कुरा पनि थाहा थिएन, अर्को कुरा आमाको बिमार कुन हो? के हो भन्ने बारेमा समेत कुनै जानकारी भएन, बल्ल १ महिनापहिले चेकजाँच गर्दा दुवै मिर्गौला फेल भइसकेका रहेछन्।’
स्थानीय तहले प्रदान गर्ने विपन्नताको परिचय र सम्बन्धित जिल्लाको जिल्ला अस्पतालले मिर्गौला रोगी भएको प्रमाणित गरेको कागजात भएमा मिर्गौला पीडितले निःशुल्क रूपमा डायलासिस गर्न सक्छन्। डायलासिस विभागकी प्रमुख डा. रजनी हाडाले मिर्गौला रोगका लक्षणहरू व्यक्तिपिच्छे फरक हुने बताएकी छन्। उनका अनुसार अनुहार सुन्निनु, खानामा अरुचि हुनु, वाकवाकी लाग्नु, उल्टी हुनु, उच्च रक्तचाप, रक्तअल्पता र कमजोर महसुस गर्नु मिर्गौला रोगका लक्षण हुन्।
मिर्गौलाको काम
मानव शरीरमा दुईवटा मिर्गौला हुन्छन्। मिर्गौलाले शरीरमा हुने विकारलाई रगतबाट छानेर बाहिर फाल्ने काम गर्छन्। मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन्। शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन्। हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन्।
तर, रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाब पर्न गई यी काम राम्ररी हुन पाउँदैनन्। मिर्गौलाको समस्या सबै उमेर समूहका व्यक्तिमा हुन सक्छ। तर, त्यसको कारण फरक हुनसक्छ। बालबालिकालाई पिसाब नलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले संक्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर मिर्गौलाको समस्या देखिएको पाइन्छ।
मिर्गौलाका लक्षण
केही लक्षणहरूले मिर्गौला भएको सङ्केत गर्छन्। जस्तै, पिसाबमा फिँज आइरहनु, पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु, छिनछिनमा पिसाब लाग्ने, पिसाब फेरिसक्दा पनि निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ। कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो। सुत्दा अग्लो सिरानी चाहिने वा थोरै हिँडे पनि स्याँस्याँ हुने वा त्यत्तिकै थाकेजस्तो लाग्ने लक्षण देखिए पनि परीक्षण गराइहाल्नुपर्छ।
मिर्गौलाको परीक्षण
मिर्गौलाको समस्या भएको शङ्का लागे रक्तचाप, शरीरमा चिनीको मात्रा र पिसाबको परीक्षण गर्नुपर्ने डाक्टरहरूको सल्लाह छ। यसो गर्न समय र खर्च दुवै धेरै लाग्दैन। तिनमा समस्या देखियो भने मात्र मिर्गौलाले कति काम गरेको छ भनेर जाँच्न थालिन्छ। मिर्गौलाले काम गर्न छाडेपछि उपचार जटिल र महँगो हुन्छ। त्यसैले शुरुमै चनाखो हुँदा भविष्यमा हुनसक्ने समस्या टार्न सकिन्छ।
मिर्गौला फेर्ने अवस्था मिर्गौलाले काम गर्न छाड्यो भने शरीर सुन्निने, पिसाब रोकिएर वाकवाक आउनेजस्ता समस्या देखा पर्छन्। तर, मधुमेह, रक्तचाप, पाइअलोनिफ्राइटिस जस्ता रोगले भने विस्तारै असर पारिराखेका हुन्छन्। मानिसको दैनिकीमा निकै अप्ठ्यारो पार्ने लक्षणचाहिँ देखिँदैन।
तर, बेलैमा विचार नपुर्याए ठूलो समस्या आइसकेपछि अस्पताल जाँदा धेरै ढिलो भइसक्छ। मिर्गौलाले काम गर्न छाड्दा शरीरका अन्य अङ्गलाई पनि असर पार्ने जोखिम उच्च हुन्छ। त्यस्तो अवस्थामा डाइलासिस वा मिर्गौला प्रत्यारोपण गरेर बिरामीलाई जोगाउनुपर्ने हुन्छ। त्यसैले ३० वर्ष नाघेपछि सबैले कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक छ।