पाेखरा - ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा,’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए।
सङ्गीत पारखीहरूको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो। गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए, ‘शीतल पनि चिनिनुपर्छ’ भनेर चिनाए दर्शकलाई।
गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उति नै ऊर्जा मिल्छ। आयोजकलाई पनि उत्साहित बनाउँछ। वातावरण त्यस्तै थियो।
एकाएक गायक खरेल केही भावुक भए। सबै आश्चर्यमा परे। उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे।
पोखरा उनको गृहनगर। अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ। गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए।
“याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ,” दर्शकदीर्घामा रहेकाहरू झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्बिरहरू देखिए।
गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई। जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए। “यो गीतले राजनीतिको धेरै मोडहरूमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पललाई मानसपटलमा ल्याइदियो,” भट्टराईले सम्झिए, “सम्झना–सम्झना नै हो।”
सँगै थिए अधिकारीका सहपाठी दिलीप श्रेष्ठ। “आँखा ओभाउँदै थियो, यो गीत र स्क्रिनमा देखिएको उनको तस्बिरले अनायासै आँखा रसायो फेरि,” श्रेष्ठले भने, “धेरैचोटि उनलाई सम्झेर रोएको छु, उनलाई गुमाएको डेढ महिना हुनलाग्यो। प्रमोदको गीतले फेरि रुवायो उनको यादले।” अन्य दर्शक पनि त्यसरी नै भावुक बनेका थिए।
बार्दली मिडिया प्रालिले आयोजना गरेको ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रममा खरेलले आफ्ना लोकप्रिय गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए। उनलाई गायिका मीना निरौलाले साथ दिएकी थिइन्। चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रस्तुतिबाट पनि दर्शकले साङ्गीतिक कार्यक्रममा फरक स्वाद लिन पाए।
पोखरा सङ्गीत पारखीका लागि उर्वर मानिन्छ। सडक बालबालिकाको सहयोगार्थ आयोजित यस साङ्गीतिक कार्यक्रम भव्य रूपमा सफल भएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए।
कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरूको उपस्थिति थियो । (रासस)