भरतपुर – बाँके कोहलपुरकी गजलकार नमिता बरालद्वारा लिखित गजल संग्रह ‘आँगन’ लाई पुरस्कृत गरिएको छ। गत शनिबार गजल मञ्च चितवनको १३औँ वार्षिकोत्सव, ८औँ साधारण सभा तथा ७औँ अधिवेशनको अवसरमा ‘रमादेवी–हीरालाल स्मृति पुरस्कार’ बाट नगद १० हजार १०१ रूपैयाँसहित ‘आँगन’ गजलसंग्रहलाई पुरस्कृत गरिएको हो।
गजलकार केशवराज आमोदी, पुरस्कारदाताको तर्फबाट ब्रह्मकुमारी विमला सापकोटा र गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितमार्फत गजलकार बरालले पुरस्कार ग्रहण गरेकी हुन् । नगद राशिसँगै दोसल्ला, फूलमाला र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो।
स्वर्गीय मातापिताको सम्झनामा भरतपुर ४, लंकू निवासी कोमलकान्त सापकोटाले स्थापना गरेको पुरस्कार गजल मञ्चमार्फत प्रदान गरिएको यो पहिलो पुरस्कार हो। स्वर्गीय सापकोटा ज्ञानज्योति पुस्तकालय लंकूका संस्थापक अध्यक्ष एवम् लक्ष्मी मावि लंकूको व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् । हरेक वर्ष प्रदान गरिने गरी पुरस्कार स्थापना गरिएको हो।
यसवर्षको पुरस्कारका लागि २०७४ मंसिरदेखि २०७५ मंसिरसम्म प्रकाशित भएका गजलसंग्रहहरुमध्ये ‘आँगन’ लाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरिएको गजल मञ्च चितवनले जनाएको छ । सोही अवसरमा गजल गोष्ठीसमेत आयोजना गरिएको थियो । उक्त गोष्ठीमा १५ जना गजलकारहरुले गजल सुनाएका थिए । संस्थाको निर्धारित कार्यतालिकाअनुसार निवर्तमान अध्यक्ष रमेश प्रभातलाई सम्मानपत्र र दोसल्लामार्फत सम्मान गरिएको थियो । आफ्नो कार्यकाल सफल बनाएको भन्दै सम्मान गरिएको सचिव विनोद अनुजले जानकारी दिए।
साथै, ‘गजल सारथि’को चौँथो अंकसमेत विमोचन गरिएको थियो । गजलकार केशवराज आमोदी प्रमुख अतिथि रहेको कार्यक्रममा गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमी, पूर्वअध्यक्ष गोर्खे साइँलो, निवर्तमान अध्यक्ष रमेश प्रभात, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, साहित्यकार लकाश पौडेललगायतले मन्तव्य दिएका थिए ।