लहान - माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ।
मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसईई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो।
गोपाल सर्युग नायक जनता मावि भेडियाका १७ वर्षीय पिकंकुमार गोइतको नाममा उनका दाइ अमनकुमारले उक्त केन्द्रबाट परीक्षा दिइरहेको थिए।
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले दाइ अमनकुमारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ।
प्रहरीले यससम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। (रासस)