काठमाडौँ, १९ पुस। ‘मिस पूर्वाञ्चल’ २०१८ को उपाधि झापा, भद्रपुरकी पूजा श्रेष्ठले जितेकी छन्। धरान–१५ स्थित इजी राइडर्स होटलमा भएको फिनालेमा पूजाले १३ प्रतिष्पर्धीलाई उछिनेकी हुन्।
सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा श्रेष्ठले ताजसँगै यामाहा कम्पनीको स्कुटर, हङकङ भ्रमणको अवसरका साथै यूएन कलेजको छात्रवृत्ति पाएकी छन्। पूजाले प्रदेश नम्बर १ को प्रमुख पर्यटकीय स्थल भेडेटारको ‘पर्यटन सद्भावना दूत’ बन्ने मौका पाएकी छन् ।
प्रतियोगितामा ‘फस्ट रनर अप’ घोषित धनकुटा, हिलेकी अनिला क्षेत्रीले एक लाख रुपैयाँ हात पारेकी छन्। ‘सेकेन्ड रनर अप’ बनेकी इटहरीकी तपस्या रणपहेलीले ५० हजार रुपैयाँ जितेकी छन्।
विधागततर्फ आकृति आचार्य ‘फेसअफ डिभाइन’ तथा सोनेता दाहाल ‘डिभाइन मिस फोटोजेनिक’ र ‘बराह मिस मल्टिमिडिया’मा विजयी बनिन्। ‘इजिराइडर वेष्ट वाक’ र ‘पेप्सी मिस ट्यालेन्ट’ रुसाली केसी, ‘क्विकस मिस पब्लिक च्वाइस’ र ‘सुरेश स्टडी भिसा मिस इन्टिलेक्चुअल’ सलिना राजवंशी तथा ‘वाईवाई मिस कन्जेनियालिटी’ र ‘पीएलओ मिस फिट्नेस’ विधामा स्वस्तिका विसुंखे सर्वोत्कृष्ट बनिन्। विजयी सबैले समान १५ हजार रुपैयाँ पाए।
प्रियारानी लामाको कोरियोग्राफी रहेको प्रतियोगितामा ‘मिस नेपाल वल्र्ड २०१८’ श्रृंखला खतिवडालाई आयोजकको सम्मान गरेको थियो।
प्रतियोगिताको निर्णायकमा वातावरणविद् राजेन्द्र खनाल, कवि सुदीप पाख्रिन, गायक डिल्ली फोम्बो, सफ्टी हाइजिनका सीईओ भुवन ढकाल, स्त्रीरोग विशेषज्ञ डा.रोहित रिजाल र ‘मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ थिए। पटकथाकार सामिप्यराज तिमिल्सिना, गायिका तथा नायिका विष्णु चेम्जोङ, हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी र डिभाइन वाइनका ब्रान्ड म्यानेजर सञ्जु शाक्य पनि निर्णायक मण्डलमा थिए।