काठमाडाैं – नेपालको मौलिक कथा बोकेको चलचित्र हो, कागजपत्र। नेपाली समाजमा देखिएको विदेशप्रतिको मोह र त्यसले समाजमा भित्र्याएको विकृतिलाई रमाइलो तरिकाले पर्दामा उतारिएको यो चलचित्रले एउटा पेचिलो सन्देश दिएको छ।
२०७५ को अन्त्यतिर पर्दामा आएको यो चलचित्रले मध्यम व्यापार गरिरहेको छ। अझै पनि केही हलहरूमा कागजपत्र चलिरहेको छ। यही फिल्मका लेखक तथा निर्देशक अपिल बिष्टलाई नेपाली पब्लिकको कार्यालयमा बोलाएर सुरज खनालले एक दर्जन प्रश्न सोधेका छन्।
कागजपत्र चलचित्रले दर्शकबाट कस्तो प्रतिक्रिया पाइरहेको छ त?
– दर्शकको प्रतिक्रिया एकदम राम्रो छ। यसका बारेमा सबैले राम्रो प्रतिक्रिया दिएका छन्। यो कथाको विषयवस्तु धेरैसँग मिल्ने भएकाले पनि यसलाई धेरैले मन पराएका हुन्। समीक्षकले चलचित्रको दोस्रो भागमा कथा बहकिएको भनिरहेका छन्। ८० प्रतिशत दर्शकको प्रतिक्रिया राम्रो नै छ।
कागजपत्रमा अलि धेरै ‘एडल्ट जोक’हरू प्रयोग भयोजस्तो लाग्दैन?
– हो। हाम्रो चलचित्रले ‘युनिभर्सल सर्टिफिकेट’ पाएको पनि होइन, अभिभावकको उपस्थितिमा हेर्नुपर्ने हो। मैले समाजमा आम पात्र कसरी बोल्छन्, त्यही विम्बलाई पर्दामा उतार्न खोजेको हुँ। केही संवादमा भने ‘ब्याकफायर’चाहिँ भएकै हो र सायद त्यही भएर पारिवारिक दर्शक टाढा बस्यो कि भन्ने धेरै समीक्षकको विचार छ।
कागजपत्र चलचित्रमार्फत दिन खोज्नुभएको सन्देशचाहिँ के हो?
– सन्देशभन्दा पनि मनोरञ्जन दिन खोजेको हुँ। अर्काे कुरा, समाजमा अहिले जसरी पनि विदेश जाने मोह छ, जुन हाम्रो समाजमा व्याप्त छ। त्यही कुरालाई रमाइलो तरिकाले प्रस्तुत गरूँ भन्ने कोसिस गरेको हुँ।
एक निर्देशकका रूपमा तपाईंलाई चलचित्र कस्तो बनेको छ जस्तो लाग्छ?
– निर्देशकका रूपमा मलाई चलचित्र सफल भएजस्तो लाग्यो। र, कथालाई न्याय गरेजस्तो लाग्छ। तर, लेखनमा चाहिँ म सन्तुष्ट छैन। यसमा अलिकति चुकेजस्तो लाग्छ।
कतिपय एजुकेशनल कन्सल्टेन्सी व्यवसायीहरूले फिल्म हेरेर चित्त दुखाएका छन् अरे, तपाईंलाई कसैले केही भनेको छ?
– आजसम्म व्यक्तिगत रूपमा मलाई कसैले केही भनेको छैन। किनकी मैले चलचित्रमा उहाँहरूलाई केही पनि भनेको छैन। सायद उहाँहरूले चित्त दुखाउने ठाउँ पनि छैन होला।
व्यापारको दृष्टिकोणमा कागजपत्र कस्तोे चलिरहेको छ?
– औसत नै भन्नुपर्छ किनकी नेपालबाट मात्र नाफा निकाल्न सकिँदैन। यदि चलचित्र बाहिर जान सकेन भने घाटा हुन्छ। विदेशमा पनि यस चलचित्रको राम्रो बजार पाउने आशा छ। सायद यसको सबैभन्दा ठूलो बजार अष्ट्रेलिया हो। त्यहाँ अर्काे हप्ताबाट यस चलचित्र प्रदर्शनमा आउँदै छ। अहिले बनिरहेको चलचित्रभन्दा यो अलि सस्तो पनि रहेकाले हामी नाफामा हुन्छाैं जस्तो मलाई लाग्छ ।
उदीयमान कलाकार लिएका कारण चलचित्रको व्यापारमा असर परेको हो कि?
– केहीले यस्तो पनि भन्दैछन् तर अहिले स्टारकै चलचित्र पनि चलिरहेको छैन। त्यस्ता कलाकारलाई धेरै पारिश्रमिक दिनुपर्ने र यदि त्यही अनुसारको व्यापार भएन भने घाटा पनि धेरै हुने हुन्छ। यसबाट हाम्रो घाटाको अनुपात पनि कम छ।
नेपाली चलचित्रमाथि विदेशी चलचित्र हावी भएकै हो त?
– होइन, हाम्रो चलचित्र नै राम्रा नभएका हुन्। सायद हलिउड र बलिउडका चलचित्र राम्रा नै छन् र अहिले तिनीहरूसँग हामीले प्रतिस्पर्धा गर्न पनि नसकेको हो। सायद हामीले दर्शकको आशा अनुसारको मनोरञ्जन दिन नसकेको हो जस्तो मलाई लाग्छ।
वितरकले पनि दुःख दिन्छन् अरे नि?
– वितरकहरूले एउटाभन्दा बढी चलचित्र वितरणको जिम्मा लिइरहेका हुन्छन्। त्यो समस्या हामीले पनि भोग्यौँ। व्यापारिक रूपमा त केही घाटा पाइरहेकै छाँै। सायद अलिकति धेरै सो भएको भए व्यापार केही धेरै हुन्थ्यो होला। हलमा मात्र भर परेको भए सायद घाटा हुन्थ्यो। विदेश अहिले राम्रो आम्दानीको स्रोत भइरहेको छ।
चलचित्रको अन्त्यले सिक्वेल आउने संकेत गरेको देखिन्छ, कुनै योजना छ?
– सिक्वेलको कुनै योजनाचाहिँ छैन तर यससम्बन्धी कथाहरूचाहिँ छन्।
एउटा सानो कथालाई उत्कृष्ट तरिकाले पर्दामा उतार्नुभएको छ, यही कथामा चलचित्र बनाउनु पर्छ भन्ने चाहिँ कसरी लाग्यो?
– देशको अवस्था हेरिरहँदा लेखकका रूपमा यो कथालाई पर्दामा उतार्नुपर्छ भन्ने लाग्यो र पछि निर्माताहरूले ‘ग्रिन सिग्नल’ (हरियो संकेत) दिएपछि यो चलचित्र बन्छ जस्तो लाग्यो र १ वर्षअघि सुटिङमा गयौँ।
अहिले निर्देशक अपिल विष्ट केमा व्यस्त हुनुहुन्छ?
– अब अरू प्रोेजेक्टहरू छन्। ‘प्रताप’ र ‘रकडेल क्याफे’ दुई चलचित्रमा कुनमा अगाडि जाऊँ भन्ने सोचिरहेको छु।
दुईवटै चलचित्रको लेखन सिद्धिइसक्यो। अब सहायक लेखकहरूले यसमा अरू बाँकी काम गर्दै हुनुहुन्छ। यसमा केही नयाँ र कम कमजोरी गराैँ भनेर अझै काम भइरहेको छ। दर्शकले अब आउने चलचित्रमा अझ नयाँ र राम्रो देख्न पाउने छन्।