काठमाडाैँ - शैलुङ, दोरम्बा र मेलुङ गाउँपालिकाको संयुक्त आयोजनामा वैशाख १३ गतेदेखि तीन दिने ‘प्रथम शैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव-२०७६’ हुने भएको छ।
बहुभाषिक तथा बहुधार्मिक समुदायको कर्मक्षेत्र शैलुङलाई देशविदेशमा परिचित गराउन, पर्यटन प्रवर्द्धन एवं दीगो व्यवस्थापन गर्ने महोत्सवको उद्देश्य रहेको छ। महोत्सवको उद्घाटन २०७६ वैशाख १३ गते बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गरिने आयोजकले जानकारी दिएको छ।
पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत समग्र शैलुङको डीपीआरसहितको प्याकेज तयार गरी वितरण, धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम, शैलुङ जडिबुट्टी संकलन, प्रशोधन व्यवस्थापन जस्ता विषयलाई शैलुङ क्षेत्र पर्यटन प्रवर्द्धनका लक्ष्य अन्तर्गत राखिएको छ।
महोत्सवमा एैतिहासिक खाडादेवि मन्दिर तथा पवित्रस्थल अलेश्वरी दर्शन गर्दै दोरम्बा गाउँको अवलोकन जस्ता करिब एक दर्जन मुख्य आकर्षणहरुलाई समावेश गरिएको आयोजकले बताएको छ।
कार्यक्रमको समापन सत्तारूढ दल नेकपाका अध्यक्ष प्रचण्डले गर्ने आयोजकले बताएको हो।