धनगढी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सकहरुको माग संविधान र संघीयता विपरीत भएको बताएका छन्। प्रेस क्लब धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले समायोजनको विरोध गर्नु संघीयता विरोधी कार्य भएको बताएका हुन्।
सरकारले पठाएको अस्पतालमा डाक्टरले जानुपर्ने बताउँदै मन्त्री पण्डितले देशभरका अस्पताल बन्द हुने अवस्था आउन नदिने बताए। विदेश बसेर नेपालमा तलब खाने, निजी क्लिनिक र अस्पतालमा मात्रै बढी ध्यान दिने डाक्टरहरुको मागलाई सरकारले सम्बोधन गर्न नसक्ने मन्त्री पण्डितको भनाइ थियो।
डाक्टरहरुलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको भन्दै मन्त्री पण्डितले उनीहरुको सेवासुविधा नघट्ने बताए। उनले भने, ‘बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गराउँछौँ। भएको सहमतिविपरीत सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरहरुले आन्दोलन गर्नु नाजायज छ।’ मन्त्री पण्डितले भने, ‘कानूनविपरीतका कार्यमा सरकार कसैको पनि दयामाया नगरेर कडा रुपमा प्रस्तुत हुन्छ।’
पेशागत मर्यादा भन्दाबाहिर गएर राखेको माग पुरा नहुने पत्रकार सम्मेलनमा उनले बताए। डाक्टरहरुले संघ रोज्नुको कारण साइनबोर्ड देशभर राख्ने तर आफू काठमाडौँमा बस्ने योजना रहेको उनको भनाई छ।
राष्ट्रसामु खाएको सपथअनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने उनले बताए। हिजोको जस्तै केन्द्रमा बसिरहन्छु भनेर कसैले पनि नसोच्न उनले सबैलाई आग्रह गरे। ‘हिजोको जस्तै केन्द्रमा नै बस्न सरकारले कुनै हालतमा दिने छैन। सरकारले सेवा सुविधासहित पठाएको ठाउँमा तुरुन्त जानुपर्छ,’ उनले भने।
मन्त्री पण्डितले देश नयाँ परिवेशमा गएकाले केही असहज हुनु स्वभाविक भएको बताए। देशलाई संघीयतामा लैजानु सामान्य कुरा नभएको बताउँदै मन्त्री पण्डितले कर्मचारी समायोजनपछि नपुगेका स्थानीय तह तथा प्रदेशमा करारमै पनि कर्मचारी भर्ना गरेर पदपूर्ति गरिने बताए।
देश संक्रमणकालीन अवस्थाबाट माथि उठिरहे पनि सरकारले देखिने गरी जनताको पक्षमा काम गरिरहेको उनको दावी थियो। संघीयता कायान्वयनका लागि सबैको सहयोग आवश्यकता रहेको उनले बताए।