काठमाडौँ - २०७५ साललाई बिदाई र नयाँ वर्ष २०७६ काे स्वागत गर्दै सबैले आफ्ना योजना बनाउँछन्। नयाँ वर्षमा कलाकारहरुका पनि आफ्नै योजनाहरु हुन्छन्। धेरैजसो कलाकारहरु नयाँ वर्षमा विभिन्न कार्यक्रममा व्यस्त हुन्छन्। यसैगरी कोही परिवारसँग घुम्न जाने गर्छन् भने कोही घरमै बसेर आफ्ना परिवारहरुसँग रमाइलो गर्छन्। नेपाली कलाकारहरुको नयाँ वर्षको योजना के छ त? २०७५ सालमा आफूले गरेकाे चर्चायोग्य काम र नयाँ वर्षको याेजनाको विषयमा सात कलाकारसँग नेपाली पब्लिकले गरेको कुराकानी:
दिपक बज्रचार्य (गायक)
हाम्रो समूह नै उपत्यकाबाहिर कार्यक्रममा व्यस्त छौँ। प्रि न्यू इयरमा भैरहवामा कार्यक्रम रहेको छ। यसैगरी न्यू इयर इभमा नेपालगञ्ज र न्यू इयरमा धनगढी कार्यक्रममा व्यस्त हुनेछौँ। नयाँ वर्षमा म प्राय व्यस्त नै हुन्छु। २०७६ वैशाख २ गते काठमाडौँमा आइपुग्ने योजना छ।
२०७५ सालमा ‘मन मगन’ भन्ने गीतले धेरै राम्रो प्रतिक्रिया पाएकाले यो वर्षको बिर्सन नसक्ने क्षण बनेको छ। बच्चादेखि बुढासम्मले गीतको भाव बुझेर होस् या नबुझेर होस् सबैले मन पराइ दिनुभयो। त्यसमा म धेरै नै खुसी छु। आगामी दिनमा अझै पूर्व-पश्चिमलाई समेटेकाे गीत लिएर दर्शकमाझ आउने र २०७६ साललाई भव्य तरिकाले बिताउने योजना बनाएकाे छु।
बर्षा राउत (अभिनेत्री)
नयाँ वर्षमा म परिवारसहित पोखरामा हुनेछु। पोखरा घुम्ने र रमाइलोका साथ नयाँ वर्ष मनाउने सोचमा छु।
२०७५ पनि रमाइलोसँग नै बित्यो। यही वर्ष मेरो विवाह भयो, त्यो मेरो जिन्दगीकै बिर्सन नसक्ने क्षण हो। विवाहजस्तो पवित्र बन्धनमा बाँधेको यो वर्षलाई विदाई गर्दै २०७६ साललाई भव्यताका साथ स्वागत गर्ने योजना बनाएकी छु। यसैगरी आगामी दिनमा ‘दाल भात तरकारी’ र ‘जात्रा नै जात्रा’ भन्ने फिल्म प्रदर्शन आउने भएको छ।
दयाहाङ राई (अभिनेता)
नयाँ वर्षको लागि नै भनेर केही योजना बनाएको छैन। घरमा नै बसेर आफ्नो परिवार, साथीभाईसँग रमाइलो गर्छु। नयाँ वर्षमा खासै मेरो त्यस्तो योजना कहिल्यै हुँदैन। सँधै रमाइलो गर्ने, सँधै रमाउने गर्छु। आफ्नो कामलाई बढी प्राथमिकतामा राख्छु। नयाँ वर्षमा आफ्नै समूहका साथ बस्नेछु।
२०७५ साल पनि रमाइलोका साथ बित्यो। काममा धेरै व्यस्त भएँ। २०७६ साल पनि राम्रोसँग रमाइलोका साथ बिताउने योजना रहेको छ। याे वर्ष अझ नयाँ र दर्शक, शुभेच्छुकको मन जित्ने काम गर्न सकुँ भन्ने लागेकाे छ।
जितु नेपाल (रंगकर्मी)
नयाँ वर्ष इभ चितवनमा मनाउने र नयाँ वर्षका दिन बुटवलमा हुन्छु। परिवारसहित बुटवलमा जाँदैछु। बुटवलको कार्यक्रममा सहभागी हुन्छु। परिवारको साथमा रमाइलो गर्ने, घुम्ने र बस्ने योजना छ।
२०७५ सालमा ‘मुन्द्रेकाे कमेडी क्लव’ कार्यक्रम शुरु गरेँ। यसमा म धेरै नै खुसी छु। दर्शकहरुको राम्रो प्रतिक्रिया र माया बटुल्न सफल भएको छु। आगामी दिनमा पनि यसलाई अझ राम्रो बनाउने र फिल्महरु बनाउने सोचमा छु।
भरत सिटौला (गायक)
अहिले नयाँ वर्षको योजनामा नै व्यस्त छु। न्यू इयर इभमा मेरो पेप्सीकोलामा कार्यक्रम छ। त्यसैगरी नयाँ वर्षमा काभ्रेको पाँचथरमा हुने कार्यक्रममा सहभागी हुन्छु। नयाँ वर्षकै अवसरमा दुबईमा हुने कार्यक्रमको पनि तयारी गरिरहेको छु।
२०७५ साल त्यति धेरै उल्लेखनीय भएन, सामान्य रुपमा नै बित्यो। २०७५ साललाई बिदाई गर्दै २०७६ सालमा सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लाग्ने र राम्राे गीतहरु लिएर दर्शकमाझ आउने योजना बनाएको छु।
आयुष रिजाल (अभिनेता)
सर्वप्रथम सबैलाई नयाँ वर्ष २०७६ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आफन्तको मृत्यु भएका कारण नयाँ वर्ष मनाउने यो पटक योजना छैन। विशेष नयाँ वर्षमा आफ्नो परिवारलाई भेट्न उपत्यकाबाहिर धादिङ जाँदैछु। नयाँ वर्षमा परिवार साथीभाईसँग भेट्छु। यो वर्ष कुनै पनि उत्सव नमनाउने भएको छु।
२०७५ सालको अन्तिमतिर मेरो ‘शेर ए हिन्दुस्तान’ भोजपुरी फिल्म राम्रोसँग चल्यो। मैले यो वर्ष ‘ब्ल्याक’ फिल्ममा पृथक खालको अभिनय गर्दा पनि दर्शकहरुले रुचाइ दिनुभयो, यसमा म धेरै खुसी छु। यो मेरो २०७५ सालको सम्झनालायक वर्ष भयो। आगामी दिनमा भोजपुरी र नेपाली गरी तीन फिल्म भदौसम्म आउने भएको छ। यसैगरी २०७६ मा चलचित्र क्षेत्रमा नै जोड दिइ अझ राम्रो गर्ने योजना छ।
अभिनास घिसिङ (गायक)
यो वर्ष मेरो खासै त्यस्तो भव्य याेजना छैन। तर, केही कार्यक्रमहरुमा व्यस्त हुन्छु। नयाँ वर्षको दिनमा काभ्रेको पाँचथरमा हुने कार्यक्रममा सहभागी हुनेछु। नयाँ वर्षमा साथीभाईहरुसँग रमाइलो गरी मनाउने योजना छ। आगामी २०७६ साल वैशाखको १३ र १४ गते शैलुङ पर्यटकीय महोत्सव कार्यक्रमको लागि रामेछाप जाँदैछु। कलाकारहरुलाई जहाँ बोलाउँछन्, सम्झिन्छन्, माया गर्छन् त्यो नै ठूलो कुरा हो।
२०७५ साल भने मेरो त्यस्तो उल्लेखनीय र सम्झनालायक क्षण केही भएन। अब आउने दिनहरुमा नयाँ गीत तथा भिडियो लिएर दर्शकमाझ आउने योजना छ।