कवि विमला तुम्खेवाका कवितामा जीवनको सूक्ष्मता विधिवत्भन्दा अनायास अनुभूत हुन्छ। उनका कवितामा प्रेम र जीवनबीचको सन्तुलन खोज्दा यी दुवैका बीचमा बाधाजस्तो केही उभिएको देखिँदा नदेखिँदै त्यो अहम्को पहाड एउटा आत्मसम्मानको गीत भएर गुञ्जेको आभास हुन्छ। अहिले उनका सत्चालिस थान कविताहरूको सँगालो ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ प्रकाशित भएको छ। कवि विमला तुम्खेवाको यसभित्रका कविताले जीवन भोगाइका त्यस्ता सजीव अनुभूतिलाई फेरि सामान्यीकरण गरिदिएका छन्। कविता लेख्नु भनेको जीवनको हरेक टुक्रालाई ऐनामा हेर्न लालायित हुनुजस्तै रहेछ। छर्लङ्ग हेर्ने चाहना र धमिलो मात्र देखिनुबीचको अनुभूति नै तुम्खेवाका कविताको प्रस्तुत र अप्रस्तुत भाव सौन्दर्य हो।
जेठी सुब्बेनीको चरित्र र स्वभावलाई चित्रकारजस्तै उभ्याउने तुम्खेवाले जीवनको सम्पूर्णतालाई यही एउटा कवितामै सर्लक्क उभ्याउन सफल भएकी छन्।
नारी स्वर मुखर छ, यस कृतिमा तर सबैले भन्दै आएको भन्दा फरक गरी पितृसत्ताको भन्दा पनि पुँजीबजारको कुरालाई अर्थ दिएका छन् उनका कविताले। जेठी सुब्बेनीको चरित्र र स्वभावलाई चित्रकारजस्तै उभ्याउने तुम्खेवाले जीवनको सम्पूर्णतालाई यही एउटा कवितामै सर्लक्क उभ्याउन सफल भएकी छन्। उनका कविताको शक्ति भनेकै विदितबाट अविदितको स्पर्शमा पुर्याउनु नै हो। उनका कविताले डोर्याउँदै लैजाने यथार्थबाट अविदितको प्रदेशमा यस धर्तीकै छायाँ परेको पहाडको कथा छ र यही कथाभित्र व्यावहारिक जीवनदर्शनको विस्तृति छ:
…जीवन सकिनै लाग्दा
दुःखले गाल्न नसकेको जेठी सुब्बेनीको शरीर
सुगरले गालेपछि
आँखा चिम्म गरेर योग गर भन्दा
उमेरमा तन्नेरीसँग धान नाचेको मात्र
सम्झना आउँछ भन्छिन्
र, भन्छिन्, ‘गर्दिनँ नाथे योग।’
लुङ्गा,
जीवनको यो निरन्तर चक्रव्यूहमा यी किराँत ‘आइमाई’
सायद,
मानव सभ्यताको सुन्दर गीत हुन सक्छिन् (पृ.१०)
श्रमका योगले नथाकेको शरीरकथामा रोगले थलिनु जीवन शास्त्रको अन्तिम अध्याय हो र यसपछि गीतको अस्तित्व शुरु हुन्छ, चाहे त्यो वियोगान्त होस् वा संयोगान्त ! किराँत आइमाई अर्थात् प्रकृतिकी देवी सनातन जीवन बाँच्दाबाँच्दै आएको आगन्तुक रोगलाई देशमा पसेको परदेशीलाई झैँ झर्को मान्छिन् किनकि त्यो परदेशी पाहुना होइन, उनको शरीरको अस्तित्व समाप्त पार्न आएको लुटेरा हो।
उनका कवितामा देश र माटोको चिन्तनमा जनताका विशिष्ट स्वरूप र संस्कृति सँगसँगै आएका छन्। किनिमा र अकबरे खुर्सानीको आदिवासी स्वाद देशको राष्ट्रियताभित्रै छ। नेपाल भन्ने देशको नक्सामा आदिवासी स्पर्श गरेको छ उनको बूढी औँलाले।
तुम्खेवाले यसरी नै पालो, संसारका तानाशाहलाई खुलापत्र, मेरो कथाको पनि कविता लेख्नु है, सहरको यौटा बदनाम कथा, छोरी, साडी, अनागरिक, सच्याऊ, यो इतिहास, खेल, सेतो गुलाफको फूल, अन्तिम भेट, अठोट, जोसँग सम्बन्धित छ, जीवन पुतली खेलेजस्तो हुन्न, अस्तित्व, सम्बोधनको एउटा सवाल, त्रासदी, नेपालको नक्सामा किनिमाको तिहुनजस्ता सत्र थान कवितामा नारी विषयका पीडादायी कथ्यमा विद्रोहको नयाँ ढाँचा संयोजन गरेकी छन्। उनका कविताले शरीरभन्दा मानस अस्तित्वको प्रश्न उठाएको छ।
यसरी नै तुम्खेवाका पात्रहरू कवितामा केही विशेष खोजमा रहेका भेटिन्छन्। भोक र विसङ्गतिका कविताबाट देशको नक्सा फेरिन नसकेकाप्रति उनका कवितामा विद्रोह छ। उनी लेख्छिन्:
…हाउ,
बरु लेखिदिन्छु कवितामा किनिमाको मिठो स्वाद
बरु लेखिदिन्छु अकबरे खुर्सानीको मिठो स्वाद
ठट्टा नै सही
मैले लेखिदिएँ कवितामा नेपाल भन्ने देशको नक्सा
कस्तो मेरो हातको बूढीऔँलाभन्दा सानो हगि?
प्रस्तुतिको यो मौलिकता विमलाका कवितामा निकै ठाउँमा भेटिन्छन्। उनका कवितामा देश र माटोको चिन्तनमा जनताका विशिष्ट स्वरूप र संस्कृति सँगसँगै आएका छन्। किनिमा र अकबरे खुर्सानीको आदिवासी स्वाद देशको राष्ट्रियताभित्रै छ। नेपाल भन्ने देशको नक्सामा आदिवासी स्पर्श गरेको छ उनको बूढी औँलाले। ठाउँ कुठाउँ ल्याप्चे ठोक्ने यही औँलामा देशको अस्तित्व र आयतन देख्नु निकै ठूलो विद्रोह र व्यङ्ग्य ध्वनित छ। तुम्खेवा इतिहास सच्याउन कविताको हत्केलामा पृथ्वी उठाएर नेतृत्वको सामु उभिएकी कवि–योद्धा हुन् र फरक यत्ति छ योद्धाहरू तरबार लिन्छन् उनी कलम।