तनहुँ – नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा केही दिनदेखि पर्यटकरुको चहलपहल बढेको छ। नयाँ सालको पहिलो दिन आउनुभन्दा दुई–तीन दिनअगाडि नै पर्यटकहरुको ओइरो लागेको होटल व्यवसायीहरुले बताएका छन्।
मुग्लिन–पोखरा सडखण्डकको डुम्रे बजारबाट ८ किलोमिटर दक्षिण पहाडको फेदमा पर्ने बन्दीपुरमा देशीभन्दा विदेशी पाहुनाहरुको संख्यामा बृद्धि हुँदै गएको हिमचुली गेस्टहाउसका सञ्चालक राज जयसिंहले बताए। उनका अनुसार यस वर्ष नयाँ वर्ष मनाउन स्पेनी, जर्मनी, चिनियाँ, रुसी, डचसहित अन्य विभिन्न मुलुकका पर्यटकहरुको घुइँचो लागेको छ।
पर्यटकको आगमनसँगै बन्दीपुरमा रहेका करिब ६० वटा होटलहरु खचाखच भरेका छन्। ‘दुई दिनअघि नै अनलाइन बुकिङबाट सबै होटलहरुको कोठा बुक भइसकेका छन्,’ होटल सञ्चालक जयसिंहले भने, ‘यो वर्षको अन्तिम दिन पनि दर्जनौं पर्यटकहरु आइरहेका छन्, हामीसँग कोठा नभएका कारण उनीहरुलाई फर्काउनु पर्यो।’
उनले बन्दीपुरमा केही वर्षयता खुलेका ६ वटा होमस्टेले गर्दा पनि पर्यटक थाम्न सहज भएको बताए। १४ जना सदस्य रहेका ६ होमस्टेले कम्तीमा ३० जना पाहुनाहरुलाई रातिको बसाइसँगै दिनरातको खानासहित नास्ताको व्यवस्था पनि दिने गरेका छन्। बन्दीपुरमा एक रातको ७ सयदेखि १० हजार रुपैयाँहरुको कोठाहरु पनि पाउने भएकाले हरेक पर्यटकको गन्तव्य रुपमा पनि पछिल्लो समय चिनिन थालेको छ।
हालको संघीय संरचना अनुसार तनहुँको बन्दीपुर–२ र ४ को दोसाँधमा रहेको बन्दीपुर बजार यहाँको मुटु मनिन्छ।
यसैबीच, थानीमाईको मन्दिर, बिन्दबासिनी माईको मन्दिर, टुँडिखेल, रानीवन, खडकदेवी मन्दिर, हस्पिटल, प्याराग्लाडिङ तथा बन्दीरपुर आसपासको विभिन्न पुराना वस्तीहरु हेर्न तथा थानीमाई मन्दिरबाट नेपालको उत्तरी भेगमा लहरै रहेका हिमश्रृंखलाहरुलाई हेर्न पनि पर्यटकहरु आउने गरेका छन्।
उनीहरुले माछापुछ्रे हिमाल, गौरीशंकर, अन्नपूर्ण हिमाल लगायतको हिमचुलीहरु पनि हेर्न सक्छन्। प्राचीन समयमा मगर वस्तीको रुपमा चिनिएको बन्दीरपुर २०५२ सालतिर नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेपछि तथा राजधानीको भक्तपुरबाट नेवार समुदाय होटल व्यवसायको क्रममा बन्दीपुर पुगेपछि यो बजार पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको यहाँका बसिन्दाहरु बताउँछन्। साथै, काठमाडौंदेखि पोखरा वा पोखराबाट काठमाडौं फर्किने पर्यटकहरु एक रात भएपनि बन्दीपुरमा बस्न रमाउन आउने भएकाले पनि यो ठाउँ चर्चामा रहन्छ।
