कृष्ण धराबासी नेपाली आख्यान साहित्यमा एक विशिष्ट लेखक हुन्। उनका आख्यान, गैर आख्यान र चिन्तनप्रधान विविध कृतिहरू पाठक माझ निकै लोकप्रिय छन्। मदन पुरस्कार प्राप्त उनको राधा उपन्यास अङ्ग्रेजीमा अनुवाद भई अमेरिकाबाट प्रकाशित भएपछि उनी अन्तर्राष्ट्रिय लेखकका रूपमा चिनिएका छन् । उनको साहित्य लेखन जति हृदयग्राही छ, चिन्तन उत्तिकै मस्तिष्कग्राही हुन्छ। केही वर्ष अमेरिकामा बसोबास गरेपछि अहिले उनी स्वदेशमै बसेर साहित्यमा थप सेवा पुर्याउन नयाँ सोच लिएर आएका छन्। प्रस्तुत छ साहित्यका विविध विधामा उनको धारणा र अनुभवका सम्बन्धमा केन्द्रित भएर डा. गीता त्रिपाठीले गरेको कुराकानीको सारः
–यहाँसँग यसपालि पोखरा साहित्य उत्सवमा सहभागी भएको ताजा अनुभव छ, यस उत्सवको औचित्यका विषयमा आफ्ना अनुभवसहितका धारणा हाम्रा पाठकमाझ राखिदिनुहोस् न ।
बुक वर्मले लिटरेरी फेस्टिभल मनाउन थालेको यो सातौं पल्ट थियो । यस अघि ललितपुरको झम्सिखेलमा भएको पहिलो उत्सवमा पनि मैले विशेष भाग लिन पाएको थिएँ । त्यसबेला त्यहाँ मेरो आमा कथासङ्ग्रहको विमोचन भएको थियो भने इन्द्रबहादुर राई र मैले एउटै मञ्चमा बसेर लीलाबोध माथि चर्चा गर्न पाएका थियौं । त्यस कार्यक्रमको सञ्चालन रत्नमणि नेपालले गरेका थिए । यसपालिको सातौं उत्सवमा पनि मैले कार्यक्रमको पहिलो सेसनमै इन्द्रबहादुर राईको सम्झनामा चर्चा गर्ने मौका पाएको थिएँ, साथमा हुनुहुन्थ्यो मञ्जुश्री थापा । सञ्चालक हुनुहुन्थ्यो कवि तथा पत्रकार केदार शर्मा ।
विगत छ वटा कार्यक्रम गरेको अनुभवले होला, यसपटकको कार्यक्रम अत्यन्तै व्यवस्थित र स्तरीय थियो । विदेशमा हुने गरेका यस्ता ठूला ठूला सम्मेलनहरू पनि केही देख्न पाएको मैले यसको व्यवस्थापन, सञ्चालन र विषयको छनौट र चर्चा सबै कुरा प्रशंसनीय र ऐतिहासिक भए भन्ने अनुभव गरेको छु । मलाई लाग्छ यो उत्सवले अब एउटा परम्पराको रूप लिइरहेको छ र यसले अन्तर्राष्ट्रिय मान्यता पनि पाउन थालेको छ । यसपालि पनि भारत र पाकिस्तानका सहभागीहरूले कार्यक्रमको राम्रो उपयोग गरेका थिए । मलाई लाग्छ यसले नेपाली साहित्य र बौद्धिकतालाई उत्तरोत्तर बनाउन महत्त्वपूर्ण कार्य गरेको जस पाउँदै जानेछ ।
–यहाँले अमेरिका बसोबासका बेला लेखेका कृतिहरूको परिवेश कसरी छनोट गर्नुभयो ?
मेरो पाँच बर्षको अमेरिका बसाइमा पाँच वटा किताब र एउटा फिल्म लेखिए । जस मध्ये दुईटा उपन्यास थिए, गे्रट फल्स र तल्लो बाटो । दुई यात्रा संस्मरण थिए, कागजको मान्छे र रेड स्क्वायर । एउटा साहित्यिक दर्शनको किताब थिया,े लीलाबोध र फिल्म थियो भोर । यी मध्ये सबै नै विदेशी भूमिसँगै सम्बन्धित थिए । कागजको मान्छे जर्मन, फ्रान्स, बेल्जियम र लग्जम्वर्ग भ्रमणसँग सम्बन्धित थिए भने ग्रेट फल्स र तल्लो बाटो अमेरिकासँग सम्बन्धित छन् । मेरा सबै कृति नेपाली जातिको अध्ययनमा केन्द्रित छन् । विदेशमा नेपालीको अवस्था के छ ? खासमा विकसित मानिएका युरोप र अमेरिकामा पुगेका नेपालीहरूको जीवनस्तर मेरो अध्ययनको केन्द्र थियो । यात्रासंस्मरणहरू दुवै युरोपसँग सम्बन्धित छन्, जहाँ नेपालीहरूको सङ्घर्षको नपत्याउँदो अवस्था छ ।
त्यसलाई बुझ्न त अझ ददि सापकोटाको दुखेको युरोप पढ्नुपर्छ भन्छु । तल्लो बाटो जसरी भए पनि अमेरिका पस्न चाहनेहरूको अत्यास लाग्दो यात्राको कथा छ । त्यस्तो कठिन यात्रा गरी अमेरिका पुगेपछिको जीवन कस्तो होला भन्ने बुझ्न गे्रट फल्स पर्याप्त होला भन्ने लाग्छ । मलाई जहाँ पुगे पनि नेपाल नै खोज्न मन लाग्छ । उतै बसिरहँदा पनि मैले नेपालको तराईमा दाइजोका कारण हुने महिलामाथिको घरेलु हिंसामाथि फिल्म लेखें । मलाई लाग्यो, मैले देश बाहिर आएपछि पनि नेपालीे जीवनकै अध्ययन
गर्नुपर्छ ।
–नेपाली साहित्यमा पहिले सहायक रहेका विषयहरू अहिले केन्द्रीय विषयका रूपमा आएका छन्, जस्तो कि स्वास्थ्यसम्बन्धी विषय । अहिलेको लेखनमा क्यान्सर एउटा केन्द्रीय विषय बन्दै गएको छ तर साहित्य र राजनीति दुवैतिर व्यक्तिगत ठानिने यस विषयप्रति यहाँको धारणा के छ ?
यो एउटा असाध्य रोग हो । विश्वमा यस रोगले बर्षेनी लाखौं मानिसहरू मरिरहेका छन् । अत्यन्त महङ्गो उपचारविधि रहेको यस रोगले बिरामी र परिवार सबैलाई गहिरो निराशाको तहसम्म पनि पुर्याउन सक्छ । अमेरिकामा पनि अत्यन्त उच्च मृत्यदरको एउटा कारण क्यान्सरलाई नै मानिन्छ । यो रोग कसरी लाग्छ भन्ने निश्चित कारणहरू स्पष्ट भएका छैनन् । तैपनि गलत खाद्य संस्कृति, दुर्वेसन, वातावरणीय प्रदूषण, शारीरिक कसरतको अभाव आदि अनेक मानिन्छन् । तर यी र यस्ता कारणहरू नेै क्यान्सरका प्रमुख आधार हुन् भन्ने मलाई लाग्दैन । किनभने हामीले सीताजीलाई क्यान्सरबाट गुमाए पछि निकै समय उहाँलाई के कारणले क्यान्सर भयो होला भनेर अनेक खोजी गर्यौं तर कुनै कारण पनि भर पर्दा लागेनन् । तैपनि अहिलेसम्म चिकित्सा विज्ञानले अनुमान गरेका कुराहरूमा परहेज गरेमा केही हदसम्म नियन्त्रण हुन सक्ला जस्तो लाग्छ ।
राजनीति देशलाई विकासको मूल धारमा हेल्न आएको हुन्छ । साहित्यले व्यक्तिलाई समाज र राज्यसँग कलात्मक ढङ्गले जोड्ने काम गर्छ । सत्ता प्राप्तिको प्रतिष्पर्धामा दौडने राजनीति र जीवनका हरेक सीमाहरूलाई छुँदै अघि बढ्ने साहित्यलाई हामीले समानान्तर रूपमा बुझ्न सक्नुपर्छ ।
साहित्यमा पनि यसबारे अनुभव र सचेतनासम्बन्धी लेखन हुनुपर्छ भन्ने लाग्छ । मैले सीताजी बितेपछि पाण्डुलिपीमा यसबारे केही अनुभव लेख्ने कोशिस गरेको थिएँ । जगदीश घिमिरेले यो रोगसँग लड्नुपर्दाको दिग्दार लाग्दा अनुभवहरू लेखेका छन् । वी पी कोइरालाले पनि धेरै ठाउँमा क्यान्सरबारे चर्चा गरेका छन् । साबी श्रेष्ठ र लक्ष्मी उप्रेतीका क्यान्सर अनुभूति लेखिएका छन् । भर्खरै मनिषा कोइरालाको क्यान्सर अनुभवसम्बन्धी किताब बजारमा आएको छ । यो रोगलाई नजिकबाट चिन्नेहरूले फाट्टफुट्ट किताबहरू लेखिरहेका पाइन्छन् । साहित्यले शरीर स्वस्थ्य रहने कुराको जनचेतनाको माध्यम बन्न सक्नुपर्छ भन्ने सोच्दछु ।
–देशमा अहिले भइरहेको साहित्यिक गतिविधि (लेखन, प्रकाशन र अन्तक्रियासमेत) सँग यहाँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पहिलेको तुलनामा सबै कुरा द्रुत्त गतिले अघि बढिरहेको देखिन्छ । प्रतिस्पर्धा अत्यधिक बढेको छ । प्रकाशकहरू व्यवसायिक ढङ्गले अघि आएका छन् । अहिले पहिलेको जस्तो कृति लेखेर बर्षौंसम्म घरमै पाण्डुलिपी थन्काएर बसिरहनु पर्ने अवस्थाको अन्त्य भएको छ । राम्रो लेखकले अब किताब छाप्न घरबाट रकम निकाल्ने होइन, उल्टै रोयल्टी पाउन थालेका छन् । साहित्यिक गतिविधि पनि अत्यन्त बाक्लो छ । पत्रपत्रिका, सामाजिक सञ्जाल, एफ एम रेडियो, स्थानीय टेलिभिजनहरूका कारणले आज कुनै पनि लेखकलाई सार्वजनिक हुन अत्यन्त सजिलो भएको छ ।
अलिकति राम्रो क्षमता भएको प्रतिभालाई अब केहीले पनि छेक्न सक्दैन । लेखन र प्रकाशनको प्रतिष्पर्धाले गर्दा नमाझिएका, विषयवस्तु राम्रो भए पनि मस्काउन नसकिएका, कृतिको गुणवत्ता भन्दा पनि विज्ञापन ज्यादा हुने गरेका कारणले लेखनको स्तरमा भने ढुक्कले चित्त बुझाउने ठाउँ देखिँदैन । अहिले साहित्यको बजार उत्तरोत्तर छ । यसलाई अझ व्यवस्थित, प्रतिष्पर्धी र गुणस्तरीय बनाउन जरुरी देख्छु ।
–साहित्यको लेखाजोखा गर्ने आजको पद्धतिसँग यहाँको सम्मति र विमति के छ ?
यस्ता पद्धतिहरू समयकालमा फरक पर्दै जाने गर्दछन् । हरेक युगमा जसरी लेखनमा फरक आउँछ, त्यसैगरी समीक्षा र समालोचनाको शैलीमा पनि फरक आउनु स्वाभाविक छ । विश्वमा चलिरहेका हरेक पद्धति हाम्रामा पनि प्रयोग भइरहेका हुन्छन् तर त्यतिले मात्र हामीलाई पुग्छ जस्तो मलाई लाग्दैन । हाम्रो साहित्यलाई हेर्ने र बुझ्ने पद्धति पनि हाम्रै प्रकारको हुनपर्छ भन्ने लाग्दछ ।
नेपाली भाषा, कला, संस्कृति, राजनीति अनेक कारणले प्रभावित भई उत्पादन भएको साहित्यलाई पढ्ने र बुझ्ने आँखा चाहिं पश्चिमी अथवा अन्य छ, जसले गर्दा हाम्रो लेखनमा पनि पश्चिमी विश्वास र मान्यताको ठूलो दबाव छ । मलाई लाग्छ, पहिला भएन भने पनि अब हामीले आफ्नै साहित्यको सैद्धान्तिक आधार बनाउनुपर्ने आवश्यकता छ ।
–साहित्य र समालोचनाको दुरी कम गर्न लेखक र समालोचकबिच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने यहाँको सुझाव छ ?
समालोचना आफैमा रचना पनि हो । समालोचनालाई रचनाको तहसम्म पुर्याउन सक्नुपर्छ । कृतिपरक वा लेखकपरक आग्रह वा पूर्वाग्रहपूर्ण अध्ययन यथार्थमा समालोचना बन्न सक्दैन । नेपाली साहित्यमा अहिलेको समालोचनाको स्तर दैनिक पत्रिकाका शनिबारे अङ्कहरूमा प्रकाशन हुने हजार वाक्यका पुस्तक समीक्षाकै तहमा उभिएका देखिन्छन् । पहिला प्राध्यापकीय भन्ने आरोप लाग्थ्यो, अहिले बुक रिभ्युको स्तरमा उभिएको देखिन्छ ।
आज जुन स्तरका कृति जन्मिरहेका छन्, तीभन्दा धेरै कमजोर समालोचना घिस्रिरहेका देखिन्छन् । यसो हुनुमा समालोचना आयमुलक हुन नसक्नु हो । मूल कृति जस्तो गरी समालोचना नबिक्ने हुँदा तिनीहरूलाई अनुदानको खाँचो पर्छ । साहित्य पनि बौद्धिक सम्पत्ति हो र यो पनि राज्यलाई कर तिर्ने वस्तु हो भन्ने राज्यको सोच पलाउन बाँकी देखिन्छ त्यसैको परिणाम आजको समालोचनाको अवस्था हो ।
लेखक र समालोचक वादी प्रतिवादी जस्तो देखिने चलन छ । त्यसो भएमा हानी लेखकलाई नै हुन्छ । समालोचना समालोचकलाई भन्दा पनि लेखकका लागि आवश्यक कुरा हो । लेखकले समालोचकको सीमा र बाध्यता नबुझे समालोचना आफै कुण्ठित हुन्छ । त्यसको अर्थ लेखन पनि टाक्सिन पुग्नु हो ।
–यहाँ राजनीतिक रूपले पनि सचेत लेखक हुनुहुन्छ । साहित्य र राजनीतिका बिचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
साहित्य र राजनीतिका बीचमा अत्यन्त झिनो अन्तर हुन्छ । राजनीतिलाई कलाले छोप्न सके साहित्य हुन्छ । साहित्यमा रहेको कला हटाइ दिए त्यो राजनीति बन्छ । राजनीतिलाई सचेत गराउने र शालीन ढङ्गले सुझाव दिने काम साहित्यले गरिरहेको हुन्छ । यसलाई यही सीमामा रहेर बुझे सजिलो छ तर धेरैजसो राजनीतिले साहित्यलाई आफ्नो वैचारिक कार्यकर्ता जस्तो बनाउन चाहन्छ र नै यी दुई बिच विपरीत धार बगिरहेको हुन्छ ।
राजनीति देशलाई विकासको मूल धारमा हेल्न आएको हुन्छ । साहित्यले व्यक्तिलाई समाज र राज्यसँग कलात्मक ढङ्गले जोड्ने काम गर्छ । सत्ता प्राप्तिको प्रतिष्पर्धामा दौडने राजनीति र जीवनका हरेक सीमाहरूलाई छुँदै अघि बढ्ने साहित्यलाई हामीले समानान्तर रूपमा बुझ्न सक्नुपर्छ ।
–अहिले देशको साहित्य समकालीनतामा टिकेको छ कि छैन भन्नेतिर कस्तो चिन्तन गर्नुभएको छ ?
लेखन जहिले पनि समकालीन हुन्छ । समकालीनता लेखनको मूल विशेषता हो तर यो धेरै हद सम्म कहिलेकाहीं समसामयिक बनेर अलमलिइरहेको हुन्छ । समसामयिकता कुनै निश्चित अवधिसम्मको लागि मात्र हुन्छ । समकालीनताले लामो समयको प्रतिनिधित्व गर्ने गर्छ । आजको साहित्यले पछिल्लो परिवर्तनको तीस बर्षलाई सम्बोधन गरिरहेको छ ।
–धराबासी विषयले भन्दा शैलीले चलेका लेखक हुन् भन्ने पाठकहरूलाई आफ्नोतर्फबाट केही भन्नु छ कि ?
त्यो त पाठकको मूल्यांकनको स्वतन्त्रता हो । लेखक भनेको पाठकले बनाएको व्यक्ति हो । पाठकले नपढे लेखकको कुनै अस्तित्व नै हुन्न । साहित्यको शक्ति भनेको विषयलाई प्रस्तुत गरिने शैली र शिल्प नै हो । विचार मात्र लेखिए त्यो एकोहोरो शुष्क वैचारिक प्रलाप मात्र हुन पुग्छ । मेरो लेखनमा जे पनि खोज्न, पाउन र जाँच्न पाठक स्वतन्त्र छन् । यसमा मेरो छुट्टै कुनै अभिमत छैन ।
–अहिले तत्काल कस्तो कृतिको तयारी र साहित्यिक गतिविधिमा संलग्न हुनुहुन्छ ?
राधा उपन्यासको अङ्ग्रेजी अनुवाद गतवर्ष अमेरिकाबाट प्रकाशन भयो । म अहिले नेपालमा यसको प्रकाशनको तयारीमा छु । एउटा निबन्ध सङ्ग्रह प्रकाशनको क्रममा छ । नयाँ कृति लेखनका लागि अध्ययनको क्रममा छु । सायद यो कृति आउन अब तीन बर्ष लाग्छ होला । तत्काल भने बैरागी काइँला र रत्नमणि नेपालसँग इन्द्रबहादुर राई स्मृति विशेषाङ्कको प्रकाशनको तयारीमा जुटेको छु । नवगठित भवानी घिमिरे साहित्य प्रतिष्ठानको उपाध्यक्ष भएपश्चात् आगामी माघ १८ र १९ मा झापामा हुने वारिपारिका लेखकको बृहत् साहित्य सम्मेलनको तयारीमा पनि संलग्न छु ।