ज्योति जङ्गल
मङ्सिरको पहिलो साता २०७४ ले मलाई रारा लिएर गयो । तल भुँइमा कालो कालो रिबनको टुक्रा जत्रो देखियोे ताल्चाको रनवे । ऊ तारा एयरको जहाजलाई थाम्न हत्केला थापिरहेको थियो । त्यो देखेर मेरो स्याउजत्रो मुटु चनाको दानो जत्रो भयो छातीभित्र । लगातार बढिरहेको शरीरको वजन एक्कासी घटेर भुवा भयो । वरिपरि रिसाएर बसेका पहाडका अनुहार तिनको आँगन टेक्न आएको मन नपराएजसरी कालै भएर हेरिरहेका थिए । तर एकैछिन अगाडि आकाशबाट देखिएको राराको नीलो रङसँग प्रीत सल्किसकेको थियो । खासै यो दुख्ने चित्त दुखेको आभास भएन ।
प्रायजसो शुभचिन्तक, साथी र प्रियहरू मलाई दुइटा कुरा भनिरहन्छन् । एउटा ‘तेरो चित्त सानो छ ।’ अर्को ‘तँ सँधैँ दुखेर बसिराख्छेस् ।’ माया गर्नेको भाषा यसरी बोले पनि टिप्पणी गर्नेहरूले मलाई नकारात्मक भनिदिन्छन् । म गुनासो मात्र गर्न सक्छु , कि तथागतसँग कि प्रकृतिसँग । यो अगुणसँग सच्चिन सक्दिनँ । किनकी यी दुवै मुकामहरू मेरा पहुँचमा छैनन् । संसारमा मानिसले सबैसँग जित्न सक्छ तर प्रकृतिसँग किमार्थ सक्दैन । मेरा अनुभवले यसै भन्छ ।
ओर्लिने बित्तिकै हावाको लहर अँजुलीमा धुलो लिएर स्वागतार्थ आइपुग्यो । त्यो सुख्खा हावा र मध्यान्हमस्त घामको स्वागतसँगै हामी सिधै डाडा उक्लियौँ । सानो गोरटो दायाँ बायाँ ससाना खाजाघर सहितका पाँच सात घर छोडेर हामी निकुञ्जको रक्षार्थ बसेको नेपाली सेनाको हुटु ब्यारेकतिर उक्लियौं । तिनैमध्येको एउटा घरमा स्याउको सुकुटी, जुस, अचार र विभिन्न स्थानीय फलफुलबाट बनेका वाइनहरू बेच्न राखिएका थिए । अर्गानिक स्याउको सुकुटी किनेर चपाउँदै हामी उकालो लाग्यौं । पाखाभरि चुथ्रोको बोटमा राताकाला फलका स्वाद मैले पहिलोपटक खाएकै भए पनि स्वादिला लागेका थिए ।
तिनको छातीमै टाँसिइसकेका स्तन, गालामा उठेको हड्डी, त्यसमाथि अड्डा जमाएर बसेको कालोपोतो र सुख्खा छालाहरू विरही भएर अनुहारभरि छरिएका थिए । मैले कर्णालीमा यो समयमा पनि ५४ प्रतिशत बालबालिका कुपोषणले ग्रसित भएको समाचार सम्झिएँ ।
हामीसँग उकालो हिँड्न दुईजना नारीहरू पनि आइपुगे । यात्रामा मन त्यसै रोमाञ्चक त भइरहेको थियो, त्यसमा पनि स्थानीय भेटेपछि हामी रौसिँदै तिनीहरूलाई प्रश्न सोध्न थाल्यौं । उनीहरू दाउरा ओसार्न त्यता लागेको बताउँदै थिए । मैले एउटा फोटो खिच्न अनुरोध गरेँ । मसँगै हिँडिरहेकी एउटीलाई नियालेर हेर्दै थिएँ । एक्कासी मुखबाट फुत्किहाल्यो “कति वर्षको हुनुभयो ?”
उत्तर सुनेपछि मेरो मस्तिष्कबाट एकछिन अघिको त्यो यात्राको रोमाञ्चकता गायव भयो । तिनले बताएअनुसार तिनी भर्खर बीस वर्ष कटेर एक्काइसौं वर्षमा हिँडिरहेकी थिइन् । तिनको छातीमै टाँसिइसकेका स्तन, गालामा उठेको हड्डी, त्यसमाथि अड्डा जमाएर बसेको कालोपोतो र सुख्खा छालाहरू विरही भएर अनुहारभरि छरिएका थिए । मैले कर्णालीमा यो समयमा पनि ५४ प्रतिशत बालबालिका कुपोषणले ग्रसित भएको समाचार सम्झिएँ । यिनको समयमा झन् कति प्रतिशत कुपोषण थियो होला भन्ने ठानेर मैले तिनको अनुहारलाई कुपोषित बालिकाको अनुहारसँग तुलना गरेँ र अनसुन्धानकर्ता, अर्थशास्त्री या समाजवादीलाई सोध्न एउटा देब्रे प्रश्नको उठान गरेँ, “संसारले कुपोषित महिलाको गणना गर्ने गर्छ कि गर्दैन ?”
हामी माथि डाँडामा रहेको नेपाल आर्मीको व्यारेकसम्म उकालो हिँड्दा हरियो कम, ढुङ्गा ज्यादा भएको पाखाका बुट्यानहरूमा केही बाख्राहरू चर्न व्यस्त थिए । पुर्वको हरियो जङ्गलका गाईवस्तुहरू चरेको देखेर खुसी हुने म तिनले के खाएका हुन् भनेर टोलाइरहेँ एकछिन । उनीहरूले हामीलाई माथि पुगेपछि पश्चिमतिर तेर्सैतर्सो जाने बाटो देखाइदिए । हामी करीब तीन घण्टा सल्लाको जङ्गलमाझबाट हिँडिरह्यौं ।
रारा पुग्ने त्यो बाटो कति लामो, कताबाट जाने दुई तिहाई बाटो कट्दासम्म कहीँ कतै उल्लेख थिएन । पर पुगेपछि एकठाउँमा मात्र बाटोको एउटा सङ्केत भेटियो । मनभरि लागिरह्यो महेन्द्र राजाकै पालामा चर्चित भएको यो ताल जाने बाटोको व्यवस्थापनमा विचार पुर्याउने के कुनै निकाय नै छैन र ? हामी त यही देशका हौं, कुनै विकसित देशका पाहुना पर्यटक आएभने कति अलमल पर्दा हुन् र जङ्गलभित्रका अन्य दिशामा जाने छ्यासछ्यास्ती छुटिएका गोरेटोतिर हिँडेर कतिपटक बाटो बिराउँदा हुन् भनेर यो सँधैँ दुखिरहने मन फेरि एकछिनलाई चसक्क दुखाएँ । मैले फर्केपछि गुगलमा त्यो बाटोको लम्बाई सात किलोमिटरभन्दा बढी भेटेकी थिएँ । बाटोभरि कतै शौचालय पनि भेटिएन र हामीलाई सौच बिसर्जन गर्न सत्ययुगको जङ्गलीय परिवेश भाग्यमा परेको थियो ।
हाम्रो गन्तब्य आइपुग्यो । लेकको पुर्व मोहडाको मुखमा बनाइएको काठको टाँडमा बसेर हामीले जिन्दगीभरलाई पुग्नेगरी किसिम किसिमका फोटा खिच्यौँ । हामीमा प्राकृतिक सौन्दर्यको मोहनीमात थप्दै लेकले पनि प्रत्येक कुनाबाट फरक फरक अलौकिक दृश्यहरू हामीलाई दान गर्यो । मोबाइल र क्यामेरालाई राराको तस्बीरले भरेर हामी उसलाई देब्रे पारेर दायाँतिरको बाटैबाटो बास बस्ने प्रबन्ध गरिएको चन्दननाथ होटेलतिर लाग्यौं ।
म भोलिपल्ट हामी माथिल्लो बाटो फर्कदा आफ्नो ढाडमा पलेटी कसेर बसेकी बिरामी आमालाई बोकेर उक्लिरहेको युवाको पसिनामय अनुहार देखेपछि चारपाङ्ग्रे नचलेको पीडाले अनुहार उठाइहाल्यो । म फेरि त्यहाँ बाँच्ने जीवनको दैनिक दुःखले अतालिएँ ।
बाटामा भरियाहरूसँग भेट भएको थियो । आगन्तुकसँग भोक लागेको भनी भरियाले खाजा माग्ने शैली त्यहाँ कुनै नौलो रहेनछ । भेट भएका दुई लटलाई आफूसँग भएको चाउचाउ चकलेट र बिस्कुट बाँड्दै हामी पाँच बजेतिर होटेलमा पुग्यौं । निकुञ्ज क्षेत्रभित्रको बाटो भएकाले त्यहाँ कुनै चारपाङ्ग्रे मोटरबाइक जस्ता सवारी साधन चलाउन नपाउने नियम रहेछ । जङ्गलको सुरक्षालाई त्यसले राम्रो साथ दिएको रहेछ भनेर अघिल्लो दिन मख्ख परेको म भोलिपल्ट हामी माथिल्लो बाटो फर्कदा आफ्नो ढाडमा पलेटी कसेर बसेकी बिरामी आमालाई बोकेर उक्लिरहेको युवाको पसिनामय अनुहार देखेपछि चारपाङ्ग्रे नचलेको पीडाले अनुहार उठाइहाल्यो । म फेरि त्यहाँ बाँच्ने जीवनको दैनिक दुःखले अतालिएँ ।
अन्तिम दिन मुगुको गमगढी झरियो । त्यहाँ चल्ने सिरेटो र धुलोले त्यहाँका मानिसहरूको मुहारमा गरेको कालो दस्तखतलाई मैले आपतकाल जसरी भोगिरहेँ । भौगोलिक अभिसापलाई चुनौती दिएर ती सबै मानिसलाई अँगालामा उठाएर सुपरम्यान जसरी हिँड्न पाए म कति मुस्कुराएको हुनेथिएँ । के राज्यले यिनलाई कुनै सुगम स्थानको स्याटलाइट बस्तीमा सारेर त्यहाँ स्याउ नै स्याउ रोपेर स्याउजोन बनाउँन सक्दैन र ? मैले यस्तै थुप्रै स्वप्नखयाल् मनभित्रै कैद गरेर रारासँग बिदा मागेँ ।