काठमाडौँ – सजिलो न्यूज एप्लिकेशनमार्फत लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष सार्वजनिक गरिएको छ। भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, प्राज्ञ अमर तुम्याहाङ र प्रा. बालकृष्ण माबोहाङले संयुक्त रुपमा उक्त शब्दकोष सार्वजनिक गरेका हुन्।
कार्यक्रममा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले लिम्बु भाषालाई संरक्षण गर्नको निमित्त राज्यले बहुभाषिक नीति लागु गरेको बताए। उनले भने, ‘सरकारले अहिले सोहीअनुसार पाठ्यक्रम निर्माण गरिरहेको छ। राज्यले पर्याप्त स्रोत र साधनको अभावका कारण यसलाई अझै प्रभावकारी बनाउन सकिरहेको छन्। आगामी दिनमा प्रभावकारी बनाउँदै अघि बढ्छ।’
प्रा. बालकृष्ण माबोहाङले भाषालाई परिवारदेखि राज्यसम्म प्रयोगमा नल्याएसम्म यसको प्रभावकारिता नहुने स्पष्ट पारे। उनले भने, ‘लिम्बु भाषालाई संरक्षण गर्ने हो भने आगामी दिनमा पनि यसलाई अझै प्रभावकारी रुपमा प्रयोगमा ल्याउनुपर्छ।’
त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवम् किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष प्रेम येक्तेनले भाषा आयोग र अहिलेसम्म गठन भएका आदिवासीलगायतका आयोगहरुलाई असफल तुल्याउन वर्तमान सरकार लागिपरेको आरोप लगाए। उनले यसप्रति सबै सरोकारवाला पक्षले खबरदारी गर्नुपर्ने र आफ्नो अधिकार स्थापित गराउनुपर्नेमा जोड दिए।
उक्त शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषाको संरक्षण र प्रवर्द्धनमा मद्दत पुग्ने पनि सजिलो न्यूज एप्लिकेशनले विश्वास दिलाएको छ। सजिलो न्यूज प्रा.लिका अध्यक्ष सेरिहाङ लिङ्देनले यो शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषा प्रविधिको उच्चतम प्रयोगले संरक्षण तथा प्रवर्द्धनमा ठूलो योगदान पुगेको विश्वास दिलाए।