डा. राजेन्द्र भण्डारी
चैतको झरीमा भिज्दै
उन्मादका तारहरू बजाइसकेपछि
फर्केको छु बाजागाजा घुइँक्याएर
अन्तस्–को गीत सुन्न।
चैतको झरीमा भिज्दै
सुकिलो ढुङ्गामा बसी
सुन्दैछु म हुचिल बासेको।
वाचाल जिब्रो सुतेको छ मेरो
मैदानबाट झगडालु विचारहरू
हिँडिसकेका छन्।
बल्लतल्ल आइपुगेको छु
तिम्रो दैलोमा
ए मेरो अन्तस्
दैलो खोल त!
कालेबुङ, दार्जीलिङ