नेपाली आख्यानमा स्व. इन्द्रबहादुर राई (१९८४–२०७५) को विशिष्ट योगदान छ । स्थानीय नेपाली कथ्य भाषाको मनोरम प्रयोगबाट भाषिक आकर्षण दिनु उनको आख्यानको खास सौन्दर्य हो । यो वर्ष उनको महाप्रस्थानले नेपाली भाषा साहित्यका अनुसेवीहरूलाई निकै गहिरो अभाव महसुस भइरहेको छ । उनको आयामेली कथाहरूको सङ्ग्रह कथास्था (सन् १९७२, मार्च) मा सङ्गृहीत ‘एउटा विचारको यात्रापथ’ शीर्षकको चिन्तनप्रधान कथा उनको स्मृतिमा सम्मान स्वरूप यहाँ प्रस्तुत गरिएको हो ।
इन्द्रबहादुर राई
दिनैपछि छोरीलाई स्कुल पठाउनु, त्यसले मलाई आफ्नो पेटी बाँधिमाग्छ, त्यो स्कुल जान्छ, यै जीवन हो र यति मात्र जीवन हो । महान् काम गर्न सक्दै नसकुँला मैले, तर छोरीको जामाको पेटी म कसिदिन सक्छु, जति सक्छु त्यै जीवन हो । आज आजै सकिने कुराहरू (भविष्यत् हेरिरहनुपर्दैन), अर्को साल फेरि रोप्नुपर्ने मकै र आलका बिउहरू, यी मात्र जीवन र जीवनका सामग्री । अनेक थोक मिसाएर मानिसले जीवनलाई बिख बनाइसकेको छ ।
यो निराश कुण्ठिएको विचार टुकुल–टुकुल दगुर्दै मेरो मनमा कहाँदेखि आज आएको छ; म यसलाई पैल्याउँछु ।
रहस्यहरूले खसेर जीवनलाई दुख्दो मीठो पारेको हुँदो रहेछ; यी रहस्यहरू जुन एक्कासि साँझको पहेंलो क्षणमा, मध्यरात बितिसकेको एक्लोको जगाइमा वृष्टिप्रहरमा बाहिर वर्षा खस्न थालेपछि हाम्रा अस्तित्वमाथि आइलाग्छन् यी नभए जीवन सेतो उज्यालो मात्र हुने थियो । रहस्यहरू मैले पनि किनिराखेको छु । छानामा एकोहोरो वृष्टि पिटिएको, बलेसीमा झुसिएको पानी तल भुइँमा रातभरि झरेको मलाई प्रिय छ । कसरी हो, फेरीवालले फेरी लाउँदा पनि म जाग्छु; सजिलो फेरीवालले फेरी फुक्छ, घर वरिपरि घुम्दै गहिरो गुन्गुनाउँछ, म बुझ्दिनँ । घरको कुकुर पनि चुप्प लागेको हुन्छ; मेरो सुनाइभित्र ठूलो आहटले हिँड्दै उ टाढो गइसकेर बुझिन्छ । म अझै सुन्ने बल गरिरहेको हुन्छु ।
सानोको पहिलो राती फेरीवाललाई सुन्दा म डराएको थिएँ, र बाबुको छेउमा पुगेको थिएँ जस्तो लाग्छ । बाबु व्युँझिनु भएको रहेछ । मैले के के सोधेहुँला, बाबुले भन्नुभयो –“भोलि बिहान हेर्नु ।”
फेरीवाललाई हेर्दा देखिन्छ पनि मलाई यो पच्न निकै अन्धकार लाग्यो । बिहान दैलोमा फेरीवाल आएर उभेछ । आमाले नाङ्लो लानुभयो । मैले भित्रै भित्ताको दुलोदेखि हेरें । आमाको साल हो कि फेरीवालको लुगा देखें सेतो सेतो के देखेँ ।
“फेरीवाललाई किन त्यत्रो थोक दिएको ? हर्दी, नुन, चामल, काँटी,” मैले सोधेँ । “फेरीवालले लडाइँ गरी भूत धपाइदिन्छ ।” आमाले भन्नुभयो ।
रात्री अन्धकारका प्राणीहरू रम्रम्ती डुल्दा रहेछन्, सुतेका हामीहरूलाई हेरेर जान्छन् होला, कालो रातमा झन् कालो तिनीहरूको आकार उभिएको र आइरहेको म आँखा फारेर देख्नसक्थेँ ।
“तपाईंको मनमा अँध्यारो रहस्यहरू जम्मा हुन थालेछ ।”
पछि पनि एक रात फेरीवाल आयो । आकाशबाट एक छाँगो सेतो जून खसेर घरभित्र समेत छिटा उफ्रेका थिए । मैले उठेर आवाज नपारी झ्यालको पर्दा च्यातेर चियाएँ ।
घुम्लुङ्ग सेतो बर्को ओढेको मान्छे रहेछ । घरदेखि ओह्रालै गयो । गइसकेपछि कुकुरले ङुरङुर ग¥यो, एकपल्ट जस्तो भुक्यो ।
ठूलो भइसकेपछि म आफ्नो आदर्शलाई सोझो आँखामा हेर्न सक्थेँ र एक बिहान थुप्रै थोक दिएर सोधेँ— “तपाईंहरूले उच्चारेको एक लवज बुझ्दिनँ म, के भन्नुहुन्छ दाइ, तपाईंहरूले ?”
उसले बतायो, उनीहरू शिवका अनुचर छन् । उसले एक पङ्क्ति लेखाइदियो: जहाँतक जोगी भेरी बजायै उहाँतककी रच्छे ।
शिवको (बेलाको) कल्पना आयो मलाई । शिव कुनै व्यक्ति नै थियो हिमालयका पहाडहुँदो कुनै ठाउँ कुनै कालमा । तिनको शरण सुरक्षा थियो पीडितहरूलाई । वीरत्वको युग थियो । ऊ चार दिशा भेरी फुक्थ्यो, भेरीको आवाज जहाँतक पुग्थ्यो त्यहाँतक उसको अधिकार, उसको शान्ति । प्रतिद्वन्द्वी आवाज सुनेर चुप रहे हार्दथ्यो ।
“आज पनि मेरो जोगी भेरी बजाएर रातमा समग्र द्वन्द्वी शक्तिहरूलाई आह्वान गरेर हिँड्छ ।” एक दिन म सिमाना बजार पुगेको थिएँ
। धुस्सिएको दिन थियो, दाउरा ट्रकमा चढाएर पठाएपछि हामी ठेकादारसँगै उसको बासमा गयौं, चियादोकान पनि रहेछ उसको घर ।
दोकानकोठादेखि छिरेर हामी भित्र पस्यौं, धुवाँले रङभङिएको अन्धकार कोठा थियो, मेरो खुट्टाले मान्छे कुल्च्यो ।
मान्छे कुल्चेको जुत्तामा पनि थाह पाउँछौं । म उभिएँ रोकिएर । मान्छे कराएन पनि यसो चलेन पनि । अप्रकृति र एउटा अपुग लाग्यो । ‘के छ यहाँ ?’ कराएछु मैले ।
निकै अघि निस्किएको घरमालिकले भन्यो— “जोगी सुतेको छ, फेरीवाल ।” “के ?” कराएछु मैले । जोगिएर अब पाइला सारेँ । खुट्टानै खसेको लाग्दै थियो । फेरि अर्को मान्छे कुल्चेँ ।
“कति जना छ ?” कराएँ रिसले ।
उता उज्यालोमा पुगिसकेको उसले दिक्क मानेर भन्यो— “पच्चिस तीस जना होला ।”
“पच्चिस ? तीस ?” मैले सोधेछु, कालो कोठामा अँध्यारोभित्र हेरेर भनेछु— “तीस जना फेरीवाल !”
तीस जना फेरीवाल एक ठाउँमा; मलाई त्यो सङ्ख्या र जमात नै घिन लाग्दो लाग्यो । फेरीवालको पनि जमातहरू हुनसक्छ, थुप्रै र हरू— हुनसक्छ, एक र अर्को एकै हुनसक्छ, यो मैले सोच्नसकेको थिइनँ । मेरो फेरीवाल एउटा हुन्थ्यो, एक्लै हिँड्थ्यो, अर्को फेरीवाल उसले थाह पाएको हुँदैनथ्यो । नेपाली बाघको भयावह मूर्ति एक्लाएक्लै गरी हेरेको छु; बाघ त्यसै बलियो हुन्छ, उसलाई पखेटा लाइदिएकोले त्यसले समुद्र नाघेर आउनसक्छ; तर त्यो बाघको फौजको कल्पनासँग मलाई घृणा लाग्छ । त्यो बाघ भए पृथ्वीमा एउटै हुनुपर्छ ।
म तिनीहरूकोे कोठामा आएँ । मास्तिरको एउटा खापा खोलेको देखेँ र ऐले उज्यालो पसेको थियो कोठामा । दुईजनाले व्युँझिएर ओधानमा आगो निकालेको रहेछ, जलेको आगोको धुवाँ थिएन अब । माटोको भूइँ ढाकेर मैलो बर्को एक एक वटा तानेर मुख छोपेका धेरै शरीरहरू कुप्रेका र तन्केको थिए । सानो सानो मान्छेहरू मैलो लुगाको फस्रोहरू, मिसिएको ह्वास्स गन्ध । कोठामा एउटा बलजफ्ती थियो ।
सुके बजारमा आइपुगेर मैले एउटा दाज्यूलाई चोट सुनाएँ । उसले भन्यो— “आदर्शहरू त्यसरी एक एक गर्दै सबै ढल्दै जान्छ । सदा रहेन आदर्श एउटै छ : ईश्वर ।”
ईश्वरको आदर्श झन् मेरो अघि नै ढलिसकेको थियो ।
एउटा आदर्श, मेरो एउटा रहस्यको, आज पतन भयो, भोलि अर्को एउटाको हुन्छ (राष्ट्रियता, सद्चरित्रता, साहित्यिकताको), पछि पछि सबै मेरा आदर्शहरू सिद्धिन्छन्, अनि के मैले यो जीवनलाई फाटेको टालो बनाएर ओडिरहनु ?
घरको दैलोमा दश रकमका माग्ने र ठग्नेहरू आएर उभिन्छन् । त्यसै र मेरो घरमा एउटा नियम छ । असहाय र अपाङ्गहरूलाई भए पैसा, मुट्ठीदान, चिया, पुरानोकोट दिइहाल्छौँ । ठगार आएर उभिए, घरको नियम छ, एक दाना इस्कुश दिन्छौं । बारीमा खोल्साभरि इस्कुश झरिबसेको हुन्छ, त्यै दिइहाल्छौं एक दाना; त्यो पनि थापेर आफ्नो याचिता र विनयिता देखाएर जान्छन् ठगारहरू ।
हिजो राती फेरी लाग्यो भन्छ, बिहान दैलोमा टाटेपाटे झोला खोलेर फेरीवाल उभिएको रहेछ । नानीहरूको आमाले ठूलो थालमा अनेक थोक भाग लाएकी रहिछन् मैले रोकेँ, अनि एक दाना इस्कुश टिपेर गएँ, त्यै दिएँ ।
फेरीवालले हेर्यो, तिरष्कारसँग हेरेर नथापी त्यो गयो ।
मेरो एउटा आदर्श चकनाचुर भएको थियो अवश्यै, तर म जुन मानिस हुँ (र मानसिकता) अलिकति पनि चोइटिएको छैन रहेछ, (म बाँचेको छु, चोइटिए पनि पूरै छु), दैलोमा मैले हर्ष र बल पाएँ; एउटा के, साराका सारा आदर्शहरू नष्ट भएपछि पनि मानिसको मानिसता सिङ्गो नै रहने रहेछ ।
यो धक्का सहेर म धेरै बलियो भएको छु र आज झन् भन्छु : मान्छेसँग पहिले आदर्श थिएन तर ‘जीवन’ साँचो र पूर्ण थियो उसको । थिएन भन्नु जीवनप्रति ब्लाशफेमी हो । आदर्शहरू बटुल्ने काम पछि हुँदै आएछ र थपिँदै आयो । जीवन तर त्यसै बाँचिन्छ, यसमा आदर्श र सिद्धान्तहरूले अर्थ हाल्नुपर्दैन । एउटा नाउँ नजानिएको कीराले, एउटा दिनले जसरी जीवन बिताउँछ, बित्नै चाहिँ जीवन त्यसरी बित्नुपर्छ, आदर्शहरूको आहारा र लुछाचोक्टी नबनी । थोरै ती महान्हरूलाई होइन, (महान् काम गर्दै नगरूँला मैले) साधारण सहस्रहरूलाई देखेर सिकिन्छ जीवन : काम सबै कामै मात्र हो । निक्खर जीवन बाँच्नै दिएनन् यिनीहरूले । जिन्दगीमा हामी यहाँ जन्मेको यी आदर्शहरूको चाकरीमा लाग्न आएका होएनौँ ।