काठमाडौँ– कवि तथा निबन्धकारको पहिचान बनाएका भूपिन उपन्यासका रूपमा आएका छन्। उनको पहिलो उपन्यासको रुपमा ‘मैदारो’ सार्वजनिक भएको छ।
प्रज्ञा प्रतिष्ठान डबलीमा भएको कार्यक्रममा साहित्यकार तथा राजनीतिकर्मी आहुती, आख्यानकार नयनराज पाण्डे र अधिकारकर्मी मोहना अन्सरीले पुस्तक विमोचन गरेका थिए।
पुस्तकमाथि बोल्दै आहुतीले उपन्यासको केही तथ्यगत कमजोरी भएको र आगामी संस्करणमा सुधार गर्न सकिने उनले जानकारी दिए। ‘भाषाशैली, एकदम सानदार छ, झिनो कथामा यति ठूलो कृति सिर्जना गर्ने उनको खुबी हो’ भन्दै आहुतीले प्रशंसा गरे।
‘बिम्बात्मक भाषाशैली, कथा प्रस्तुतीमा नवीनता र भिन्न विषयवस्तुलाई उपन्यासले उठाउने काम गरेको र उपन्यासले यथार्थ र स्वैरकल्पनालाई प्रस्तुत गरेको’ भन्दै आख्यानकार पाण्डेले बताए। यसै गरी अधिकारकर्मी मोहना अन्सारीले उपन्यासले हाम्रो यथार्थवादी समाजलाई प्रस्तुत गरेको बताइन्।
लेखक भूपिनले किताब पढेर सुझाव, सल्लाह र प्रतिक्रिया दिनका लागि अनुरोध गरका छन्। यसअघि उनका कविता तथा निबनधसंग्रह बजारमा आइसकेको छ। उक्त उपन्यास बुक हिल पब्लिकेसनले बजारमा ल्याएको हो।