बैतडी - बैतडीको मेलौलीमा आज (मंगलबार)देखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ। यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव १ दिनका लागि स्थगन भएको थियो।
महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव १ दिनपछि सञ्चालन हुन लागेकोे मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण विकले जानकारी दिए।
‘सुन्दर सुदूरपश्चिमको सौन्दर्य हाम्रो सान, कृषि पर्यटन र संस्कृतिको विकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेलौली सूचना तथा सञ्चार समूह र मेलौली नगरपालिकाको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो।
स्थानीय भाषा, कला, संस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको जनाएको छ। शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ।
महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, मौतका कुवा, जादूघर र सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरिनेछ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा महोत्सव सञ्चालन हुनेछ। (रासस)