काठमाडौँ – समता स्कूल काठमाडौँलाई दिएको प्रमाणपत्र नक्कली रहेको भन्दै प्रकाशित समाचारप्रति वर्ल्ड बुक अफ रेकर्डसले आपत्ति जनाएको छ। केही सञ्चारमाध्यममा प्रमाणपत्र नक्कली हो भनी निराधार रुपमा कपोकल्पित समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानाकार्षण भएको रेकर्डसले जनाएको छ।
उक्त प्रमाणपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको उपस्थितमा प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौँलाई हस्तान्तरण गरेका थिए। उक्त प्रमाणपत्र नक्कली रहेको भन्दै केही सञ्चारमाध्यममा मंगलवार समाचार आएको थियो।
‘समता स्कुललाई वर्ल्ड बुक अफ रेकर्ड, लण्डन ले ‘शिशु कक्षा देखि स्नातकोत्तर सम्म न्युनतम शुल्क (मासिक १ डलर) मा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था’ को प्रमाण–पत्रलाई लिएर केही सञ्चार माध्यमले नक्कली हो भनी निराधार रुपमा यस अन्तर्राष्टिय संस्थाको गरिमामा आँच आउने प्रकारकोे कपोकल्पित समाचार सम्प्रेषण गरेको प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ।’ वर्ल्ड बुक अफ रेकर्डसद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएकोछ, ‘यसले संस्थाको मान र प्रतिष्ठामा नकारात्मक असर परेकाले त्यसप्रति हामी खेद प्रकट गर्दछौँ।’
साथै यस्ता तथ्यहिन, अपुष्ट समाचारहरु सम्प्रेषण हुदाँ सर्वसाधरणमा भ्रामक सन्देश प्रवाह भएकोले भ्रामक समाचार सम्प्रेषन नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गर्दै पत्रकारिताको आचारसंहिताको परिधिमा रहेर सत्य तथ्य कुराहरुमात्र सम्प्रेषण गर्न ध्यानाकर्षण गराइएको छ।
‘हामी निरन्तर नेपाल र नेपालीमा रहेका प्रतिभाको सम्मान गर्दै विश्वसामु पहिचानको बाटोमा डोर्याउने कार्यमा अनवरत खटिने छौँ र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ।’ वर्ल्ड बुक अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।