काठमाडौँ – हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरु लाग्नुपर्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिलवालले विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पारे।
उनले भने, ‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ।’ भर्ना अभियानलाई सबैले अपनत्व लिनुपर्ने उनको भनाई छ। सिलवालले भर्ना अभियान प्रभावकारी बनाउनको लागि विद्यालयहरुले विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्नेमा पनि जोड दिए। नयाँ शिक्षा ऐनमा पनि केही कमजोरी भएकोले सुधार गर्न जारी रहेको सिलवालले बताए।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आएपनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन्। विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको तर्क छ।
सापकोटाले शिक्षालाई खण्डीकरण गर्न नहुने धारणा राखेका छन्। उनले भने, ‘शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन्। तर, शिक्षा निजी हुँदैन्। त्यसैले शिक्षालाई खण्डीकरण नगरौँ।’ शिक्षाको सिकाई उपलब्धिमूलक छ कि छैन्? भन्नेतर्फ आजको बहस हुनुपर्नेपनि उनले जोड दिए।
नेपाल अभिभावक महासंघका केन्द्रिय संयोजक सुप्रभात भण्डारीले विद्यालय भर्नासँगै भर्ना भएकाहरुलाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने बताए। उनले शुल्क बढाउँदा वैज्ञानिक तवरले बढाउनुपर्नेमा जोड दिए। शुल्क वृद्धिको नाममा अभिभावकको ढाड सेकाउने काम र शोषण गर्ने काम गर्न नहुने उनको भनाई छ।