शिरीष शिरीष
झुरुम् झुरुम् बज्छन् हिउँदमा
चिहान हिँडेका सुकेका पातहरू...
लेउ लागेको इनारमा फूल जसरी तैरिएका छन् केही,
केही ग्यारेजमा थन्किएका दर्जनौँ मोटरमाथि
हिउँदको घाम सेकिरहेका छन्।
बुढो मेकानिक एकोहोरो नटबल्टु कसिरहेको छ
साच्चै!
यिनै आद्रताहरूको चिहानबाट
गुज्रिरहेको म चाहिँ को हुँ?
पतकर!
ग्यारेज!
वा
समय ढल्केको मेकानिक!!
............................................................................................................................................
प्वाँख
थाकेर बसेको यायावर चराहरूको हुलमा
म बीचतिर छु...
एक एक गर्दै मेरो छेउ खाली हुँदैछ
अझै पनि,
वल्लो किनारमा छालको बाछिटाले
मुख पखालिरहेको छु।
एकदिन,
जब छालले बगाएर लैजानेछ मलाई
त्यो पल्लो किनारसम्म,
सायद त्यतिबेला...
मेरो आङमा पनि पलाइसकेको हुनेछ
आगो जस्तो भर्भराउँदो प्वाँख।