काठमाडौँ, २२ पुस। गीतकार संघ नेपालमा चूडामणि देवकोटा पुनः अध्यक्षमा चयन भएका छन्। संघको आठौँ साधारणसभा र चौथो अधिवेशनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।
अघिल्लो कार्यकालमा महासचिव रहेका शुभ मुकारुङ उपाध्यक्षमा निर्वाचित भएका छन्। सचिव रहेका वसन्त वित्यासी थापा महासचिवमा निर्वाचित भए। त्यस्तै कोषाध्यक्षको पद सम्हाल्दै आएकी सुशीला पौडेल सचिवमा निर्वाचित भएकी छन्। सदस्यमा रहेका अमृतलाल देवकोटा सुनार कोषाध्यक्षमा निर्वाचित भए।
त्यसैगरी अघिल्लो कार्यसमितिमा सदस्य रहेका चन्दा चामलिङ र बालक गुरुङ पुनः सदस्यमा निर्वाचित भएका छन्। रमेश कोइराला, वसन्त थाम्सुहाङ, सुवास संगम राई र जेबी घले नयाँ अनुहारसहित कार्यसमितिमा प्रवेश गरेका छन्।
संघले पछिल्लो समय आर्थिक उन्नतिर्फ अगाडि बढेको बताउँदै आगामी दिनमा पनि गीतकारहरूका नैतिक, बौद्धिक र आर्थिक अधिकारका लागि निरन्तरता दिने अध्यक्ष देवकोटाले बताए।
कार्यक्रममा गीतकार यादव खरेलले मुलुकमा कुनै पनि विधामा लागेका वर्गहरूमा पीडित कोही छ भने गीतकार छ भन्दै यो पीडाको समयलाई खुशीमा बदल्ने दिन आउनुपर्ने बताए । गीतकार राजेन्द्र थापाले संघलाई चुस्त, दुरुस्त र पारदर्शितासहित समावेशिताअपनाउँदै गतिशील बनाउनुपर्ने बताए ।
त्यसैगरी गीतकार एवं पूर्वअर्थमन्त्री एसपी कोइरालाले संघले गरेको कार्यप्रति खुशी व्यक्त गरेका छन्। देवकोटाको नेतृत्वले संघले आर्थिक उन्नतितर्फ अगाडि बढेको कोइरालाले बताए। उनले आगामी दिनमा रोयल्टीका विषयलाई पनि संघले नेतृत्व गर्दै अगाडि बढ्नुपर्ने बताए।
कार्यक्रममा संघसंस्थाहरूको तर्फबाट संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले बजार हल्लाको पछि नलागी एकजुट भएर अधिकारका लागि अगाडि बढ्न स्रष्टाहरूलाई अनुरोध गरे। बजारमा जस्तो हल्ला चल्छ, त्योभन्दा उल्टो प्रगतिपथमा रोयल्टी संकलनको काम अघि बढेको बताउँदै उनले गीतकार संघको साथ र सहयोग सधैँ रहने विश्वास व्यक्त गरे ।