भारतीय नेपाली कवि राजा पुनियानी (सन् १९७७) कथ्य र शिल्प दुवैमा अर्थपूर्ण प्रयोग रुचाउने लोकप्रिय कवि हुन्। पेशाले अध्यापनलाई अँगालेका स्नातकोत्तर पुनियानीको लेखनको मुख्य विधा कविता हो भने निबन्ध, समालोचना र अनुवादमा पनि उनको योगदान रहँदै आएको छ। उनको श्रृङ्खला कविता ‘अर्को लश्कर’ (द अदर क्याराभान, सन् २०१३) मानवी प्रकाशन, कालेबुङबाट प्रकाशित छ। उनका कविता तथा निबन्धहरू भारत तथा नेपालका विभिन्न पत्रिकामा निरन्तर प्रकाशित हुँदै आएका छन्। नेपाली भाषाका दैनिक, साप्ताहिक पत्रिकाहरूको सम्पादन गर्दैै आएका पुनियानी दार्जीलिङे ‘हस्तक्षेप’ साहित्यिक आन्दोलनका अभियन्तामध्ये एक हुन्। दिल्ली, कोलकाता, गुजरातलगायत नेपालका विभिन्न ठाउँमा कविता प्रस्तुति दिएका पुनियानीले पछिल्लो समय ‘भ्रम पहाड’ र ‘इन्काउन्टर’जस्ता प्रयोगपरक मल्टिमिडिया पोएट्री प्रस्तुत गरी कवितामा समकालीन विश्वको विम्बात्मक अभिव्यक्तिमा लोकप्रियता कमाएका छन्। प्रस्तुत छ, उनै लोकप्रिय युवा कवि राजा पुनियानीसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी:
कविहरूले देख्ने सपना र शासकले देख्ने सपनाबीचको द्वन्द्वले समकालीन कवितामा कस्तो परिणाम ल्याएको देख्नुहुन्छ?
–कवि र शासकले देख्ने सपनाको फरक एउटा आम मान्छेलाई पनि थाहा छ। वास्तवमा बहुलांश कवि भुइँमान्छेको पक्षमा सोच्छ, लेख्छ र बाँच्छ। भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो। भुइँमान्छेले देखेको सपनामा उसको मुक्ति छ। त्यो मुक्ति जुन युटोपियाजस्तै कल्पना नै ठहरिँदै आएको छ। विपना भएको छैन अझ। मान्छेको सार्विक मुक्ति नभएसम्म ‘मुक्ति’ युटोपिया नै हो। मान्छे शासकबाट शोषित छ। तब नै उसको मुक्ति सम्भव छ, जब शासकको सत्तामा भुइँमान्छे पुग्छ। भुइँमान्छे सत्तामा पुगेपछि फेरि उसले अरू भुइँमान्छेलाई शोषण गरेको इतिहाससमेत छ। यसोसले यो बडो जटिल, गम्भीर र संवेदनशील सवाल भएछ।
शासकले शोषण नगरी पनि शासन गर्न सक्नुपर्छ। जुन असम्भवप्रायः देखिएको छ। समाजलाई चलाउन नाइकेको खाँचो त पर्छ नै। तर, नाइके भएको नातामा शासकले प्रशासन नचलाएर दोहन थाल्ने गरेको हुन्छ। यहीँ छ समस्या। शासकले देखेको सपना भनेको सत्ता हो। चौकी हो। भोग हो। कविले देखेको सपना भनेको भुइँमान्छेले मान्छेजस्तै भएर बाँचेको संसार हो। समकालीन होस् कि असमकालीन, जबदेखि कविता जन्मियो, तबदेखि कविले उसको कवितामा लेखेको भनेकै रोमान्स, सौन्दर्य, मुक्तिको सपना हो। शासक र कविको सपनाको द्वन्द्वले ल्याउने परिणाम भनेको शोषक र शोषितको सपनाको द्वन्द्वको प्रतिफल हो।
तपाईं नेपाली कवितामा प्रयोगपरक शिल्पका पारखी मानिनुहुन्छ। आफ्ना कवितालाई तपाईं कसरी परिचय गराउनुहुन्छ?
–आफैले आफ्ना कविता यस्तो हो वा उस्तो हो भन्न गाह्रो हुन्छ। ‘राजा पुनियानी नेपाली कवितामा प्रयोगपरक शिल्पका पारखी मानिन्छन्’ – केही साथीहरूले यस्तो भन्दै गरेको सुनेको पनि छु। प्रयोग यसकारणले पनि मलाई मन पर्छ कि सधैँ प्रयोगले पुरानोलाई नयाँ बनाइदिन्छ र नयाँलाई फेरि पुरानो बनाइदिन्छ। जसरी बीउ चिरिएर बिरुवा हुन्छ, बिरुवाबाट फेरि बीऊ निस्कन्छ। त्यही बीऊ फेरि चिरिन्छ। कविता यस्तै हुनुपर्छ जस्तो लाग्छ। यसैले पनि म प्रयोग रुचाउँछु होला कवितामा।
प्रयोगको अर्को गजबको गुण के हो भने यो खुला छ। फ्रेमलाई यसले मान्दैन। घेराहरूलाई यसले तोड्न चाहन्छ। आफै आफ्नो निम्ति च्यालेन्ज भएर देखा पर्छ। प्रयोग जुनै पनि नजरमा लागू हुनसक्छ। जति प्रयोगवादी एउटा प्रतीकवादी कवि हुनसक्छ, उत्तिकै प्रयोगधर्मी एक प्रगतिवादी कवि हुनसक्छ। प्रतीकवादी गुलिमए पोलोनिएर र प्रगतिवादी नाजिम हिकमतलाई लिऊँ न। दुवै आआफ्ना नजरमै बसेर पनि कति प्रयोगी छन्। यसैले पनि दुवैका कविता उम्दा छन्। सधैँ नयाँ, ताजा र जीवनिला छन्।
कहिलेकाहीँ मेरा कविता सपाट भए भन्छन्। कहिलेकाहीँ कविता अराजक भए भन्छन्। कविताको म्याट्रिक्सले जस्तो फर्म र कन्टेन्ट माग गर्दछ, कविता उस्तैगरी लेखिन्छ। मेरो हरेक पछिल्लो कविता अघिल्लो कवितालाई हाँक हो। मलाई मेरै कविता भीर जस्तैजस्तै लाग्छ। रहरलाग्दो, करलाग्दो र डरलाग्दो। खासमा, कविताको नस्ल छुट्टाउनु खोज्नु कवितालाई अन्याय गरिएको जस्तै हो। जात, जाति, रूप, रङ, वर्ण, वर्ग, लिङ्ग, राष्ट्रियता, शिविर, आयुदेखि मुक्त भएको ‘स्वत्व’– को जुन ‘प्रोटोटाइप समाज’ मान्छेले भित्रबाटै कल्पिन्छ नि, त्यसैको एस्थेटिक मोडलिङ नै कविता हो। यसैले पनि कविता अजात, ठेगानाहीन, बेनाम, बेलगाम, निराकार, निर्लज्ज, नाङ्गो, अलिङ्गी, अराजक छ।
कविताको वर्तमान अपेक्षा के हो? जीवनका खास कविता कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ तपाईं?
–कविताको वर्तमान अपेक्षा हो– आफैबाट टाडिँदै जान बाध्य मान्छेको मनको गुँडको गीत गाइदिनु। मान्छे विस्तार आफ्नै टेक्नोलोजीको पिँजडामा जसरी कैदी बनेको छ, त्यसरी उसले मुक्तिको बाटो खोज्न झनै गाह्रो पर्ने हो। यस अर्थमा कविताले उसलाई त्यो कैदबाट मुक्त भएर मान्छे हुनुको एलिमेन्ट–को याद दिलाइरहनु र उसको बितेको गौरवगाथा सुनाइदिइरहनु पर्ने हो। कविताले मानिसको छायाँजस्तै भएर उसको चोटमा, उसको घातमा र उसको पतनमा उसको साथी भएर हिँडिदिइरहन सकेन भने कविताको उपादेयता मरेर जानेछ। कविको व्यक्तिगत कुण्ठाको भारी बोकाइरहनु कविताको पक्षमा खतरनाक र अन्यायपूर्ण छ। जीवनका खास कविता खास कवितैजस्तो हुनुपर्छ।
समकालीन नेपाली कविहरू कविताको कथ्यमा गहिराइ भेट्ने धैर्य राख्दैनन् भनिन्छ, भारतीय नेपाली कविताको वर्तमान तस्बिर कस्तो छ?
–समकालीन नेपाली कविहरू कविताको कथ्यमा गहिराइ भेट्ने धैर्य राख्दैनन् भनिनु केही तोकिएका कविहरूलाई होला। जहाँसम्म यो सवालको इशारा हो– त्यस्ता कविहरू जो कथ्यको गहिराइसम्म नपुगी गोता हान्न खोज्छन्, उनीहरू आफैँ जटिलताको भुँवरीमा डुबेर हराउने हुन्। कवि त बाँचिदिन्छ, जस्तै प्रतिकूल हावाहुण्डरीमा पनि। खासमा कवि उभिनु नै हावाकोविपरीत दिशातिर हो। भारतीय नेपाली कविताको तस्बिर आशलाग्दो र चाखलाग्दो छ।
प्राय:जसो सबै कवि जातीय उन्मुक्तिको स्वर उरालिरहेका छन्। राजेन्द्र भण्डारी, रेमिका थापा, मनप्रसाद सुब्बा, उदय थुलुङ, सुधिर छेत्री, ज्ञानेन्द्र सुब्बाजस्ता सार्विक आयुका कविता गर्ने कविदेखि टीकाभाइ, रवि रोदन, भूपेन्द्र सुब्बा, प्रदीप लोहागुण, उमेश परियार, विशाल नाल्बोजस्ता शोषणको प्रतिवादी स्वर उराल्ने कविता गर्ने कविहरूसम्म हामीसँग छन्। यता नयाँ हाँचका कविले कविता फलाक्न थालेपछि अडियन्सलाई मजा आउँछ। सत्तालाई रिस उठ्छ।
कुनै एउटा कविताको रचनागर्भ, जसले तपाईंको कविता रचना प्रक्रियालाई अविस्मरणीय बनाइदिएको छ, त्यस्तो कुनै घटना सम्झनुहुन्छ?
–त्यसबेला इन्टरनेट थिएन। गरिमा, कविता र के के पत्रिकामा झुल्कन्थे मञ्जुल। एउटा कविता लिएर। मलाई कवि मञ्जुलले जहिले पनि ताने। जब जब उनको एउटै पनि कविता पाउँदथे, त्यो कविता महिनौँ पढ्ने गर्थें। एकदिन कवि मञ्जुलको किताब आयो। ‘मृत्युकविता’। राति, दिउँसो, साँझ र बिहान १०८ मञ्जुलीय मृत्यु कवितामा गरिमामय, महिमण्डित, आमर जीवन्त मृत्यु म सँगसँगै हिँड़्यो। बस्यो। गम्यो। लड्यो। उठ्यो। सुत्यो।
आजभन्दा १९ सालअघिको भाबरिलो जुलाई महिनाभरि लगाएर मैले मञ्जुललाई जवाफी पत्र लेखेँ। जीवन कविता। त्यो कविता श्रृङ्खला थियो। दुईवटा जीवन कविता कवि अविनाश श्रेष्ठले उनको सम्पादनमा निस्कने पत्रिका ‘कविता’मा निकाले। नीलो मसीले सरसर्ती लेखेको त्यो किताबको पाण्डुलिपि केही साल नेपाल बसेर फेरि भारत फर्कियो। जीवन कविता अहिले १९ साल पुरानो दिस्ता पन्नाहरूमा सुइसुइला मार्दै चुपचाप बस्छन्। कुनै दराजको कुनै ड्रयरमा। साङ्लो र मुसाहरूको सङ्गतमा। मलाई मञ्जुलको मृत्यु कविताले जीवनलाई नजिकबाट हेर्न सघाएका हुन्। मेरो जीवन कविताले मृत्युलाई नजिकबाट फिल गर्न लगाउने कोसिस गरेका होलान्।
तपाईंका कवितामा पाइने पाँच खास कुरा के के होलान्?
–नाङ्गोपन, बनावटीपन, सरलता, जटिलता र मौनता। शायद।
भारतीय नेपाली कवितामा देखा परेका काव्यिक आन्दोलनका विषयमा तपाईंको धारणा के कस्तो रहेको छ?
–तेस्रो आयाम आन्दोलन सबैभन्दा बलियो आन्दोलन थियो। यो जति बलियो थियो, उति नै जटिल थियो। आख्यानमै यसको मूल फोकस देखिए पनि बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण–मध्यरातपछिको सडकसित’, ईश्वर बल्लभको ‘मेरो आमाले आत्महत्या गरेको देश’जस्तो मास्टरपीस कविता यही आन्दोलनको बाइप्रोडक्ट हुन्। त्यसयता ‘किनाराका आवाज’ सबैभन्दा सशक्त काव्यिक आन्दोलन हो।
रेमिका थापा र मनप्रसाद सुब्बाले पावरफूल किनारा कविताहरू गरे। र, विरोदन, ज्ञानेन्द्र सुब्बा, विजय वान्तवा कैलाशी, सूरज गुरुङ, वासुदेव पुलामी, सरिता समदर्शी, विनोद प्रधान, निरज थापा, कर्ण विरह, पुकार राईहरूजस्ता पछिल्लो पुस्ताका कविताहरू कतै न कतै किनारा कविताको आंशिक प्रभावमा देखापर्ने गर्छन्। संक्रमण र विचलनले पनि प्रभावशाली काव्यिक हस्तक्षेप गरेर गएका हुन्। सुधिर छेत्री, उदय थुलुङ, केवलचन्द्र लामा, सञ्जय बान्तवाहरू यी आन्दोलनका मानसपुत्र कविहरू हुन्।
तपाईंका कवितामा पारिवारिक विघटनका विषयभन्दा पनि सामाजिक मनोविज्ञानका पक्षहरू धेरै आइरहेको पाइन्छ। तपाईंका सामाजिक विषयका कवितामा नछुटाइएका पक्ष कुन कुन छन्?
–यसको उत्तर मेरा कवितामै होलान्। मेरा कविताले छुटाएका पक्ष धेरै धेरै धेरै छन्। नछुटाएका पक्षहरू केही होलान्।
भर्खरै अरुन्धती रायको बहुचर्चित ताजा उपन्यास ‘द मिन्सिट्री अफ अटमोस्ट ह्याप्पिनेस’ नेपालीमा अनुवाद भएको छ। त्यस कृतिको अनुवादकका नाताले तपाईंका चुनौतीका बारेमा केही प्रकाश पारिदिनुहोस् न!
–अनुवाद आफैमा ‘सेल्फ एक्सलुसिभ’ काम हो। यो कतै छ भने, त्यहाँ छैन। जता छैन, यो त्यतै छ। क्लोनिङ जस्तो पनि हो अनुवाद। अनुदित कृति मूल कृतिको क्लोन होला। तर, क्लोन क्लोन हो, मूल मूल। अनुवाद जस्तो आर्ट नहँुदो हो त फेरि संसारभरिका भाषाहरूमाझ संवाद, साटासाट र सहवास हुने थिएन। अनुवादले एकैसाथ मूल कृतिलाई नयाँ भाषामा जीवन दिइरहेको हुन्छ र स्रोत भाषामा मृत्यु।
कविता होस् या आख्यान – सबैको आफ्नै संरचना हुन्छ। त्यो संरचना आफैमा भाषाभित्रको अर्को भाषा हो। त्यो भाषा नितान्त मूल लेखकको भाषा हो। जुन भाषालाई पाठक र अनुवादकले अङ्गीकार गर्नु हो भने मूल लेखकको मानसिक जीवनको एभ्लोयुसनबाट गुज्रिएर पनि सम्भव छैन। क्याल्कुलस गणितमा फन्क्सन अफ फन्क्सनको कन्सेप्टजस्तै त्यो ‘भाषाभित्रको भाषा’। अनुवादकले त्यो भाषीय म्याट्रिक्सलाई छेउ किनारबाट छुने कोशिशसम्म गर्न सक्ने हो। यसो र मूल कृतिको ‘सिल्हट’सम्म चैँ अनुवादकले कोर्न सक्ला।
पर्यावरणीय सङ्कट र आदिवासी समस्याको सम्बन्धलाई समकालीन भारतीय नेपाली कविताले न्यायिक स्वर दिनसक्यो या सकेन?
–सकेको छैन भन्दा मिल्छ। अबको विश्व राजनीति भनेको पर्यावरणीय राजनीति हो। क्षेत्रीय लेखन भनेको पर्यावरण लेखन हो। पर्यावरण चेतको लेखनीको थालनी हुने गरी नेपाली साहित्यमा बलियो गरी पायोनियरिङ काम गरेका हुन् तीक्ष्ण दूरदृष्टि राखेका कवि अविनाश श्रेष्ठले। यिनका कविता किताबहरू ‘परेवा सेता काला’ र ‘करोड़ौँ सूर्यको अन्धकार’ यसका विलक्षण नमूना हुन्।
अनुवाद र चर्चा हुँदा हुन् त यी दुई किताबले नेपाली कवितालाई विश्व कवितामा उहिल्यै उभ्याइसक्ने। तर, भएन। न अनुवाद भयो। न चर्चा। किन भएनन् भने हाम्रा अनुवादक र समालोचक दुवै अझ समयको फ्रेमदेखि बाहिर गएर हेर्न सक्दैनन्। उनीहरूले बुझेका भनेका सामयिक र तात्कालिक यथार्थहरू हुन्। यी हुन्– भोलि, पर्सि र निकोर्सिका कविता।
भारतबाट मनप्रसाद सुब्बाजस्ता जण्डा कविले लेखे, ‘ऋतु क्यान्भसमा रेखाहरू।’ इको पोएट्री। यही किताबको समालोचना पनि भएकै छैन। आदिवासी समस्याको सवालमा सृजनशील अराजकता, रङवादी र उत्तर रङवादीहरूले नेपालमा बेजोड काम गरिरहेका छन्। तरै पनि जुन फ्रेस वेभ यसले क्रिएट गरेको हो, त्यो मोमेन्टम आउने पुस्तामा सरेको हो जस्तो लाग्दैन। आदिवासी स्वर उराल्ने यी कविहरूको प्रभावमा कन्टेम्पोरेरी छिमलका युट्युब जेनेरेसनका युवा र टिन कविहरू उति छैनन्, जति उनीहरू साराह के–हरूको प्रभावमा छन्। भारततिर आदिवासी डिस्कोर्सको कविता लेख्ने कवि मैले भेट्टाएको छैन। अझ।