काठमाडौँ - उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले साहित्यलाई समाज परिवर्तनका लागि प्रयोग गर्नुपर्ने बताएकी छन्।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १०औँ साधारणसभामा उपसभामुख तुम्बाहाम्फेले समाज परिवर्तनका लागि साहित्य उपयोगी हुने बताइन्।
उनले मिश्रकै साहित्यिक योगदानका कारण हामी आज स्वतन्त्र भएर हिँड्न पाएको बताइन्। उनले भनिन्, “जनताको अधिकारलाई पूरा हुन दिनुपर्छ भन्ने उनको भनाइलाई सबै मिली साथ दिनुपर्छ।”
मिश्रजस्ता स्वाभिमानी कवि कतै पनि नपाइने साहित्यकार मोहन दुवाल बताउँछन्। “मिश्रलाई सरकारसँग आत्मसमर्पण गर्न पटक–पटक आग्रह गरियो तर उनी कहिल्यै झुकेनन्,” दुवालले स्मरण गरे।
शुक्रबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष साहित्यकार अनिल पौडेलले आफ्नो कार्यकालमा प्रतिष्ठानले थुप्रै काम गरेको बताए। (रासस)