काठमाडौँ, २२ पुस। सोमबार औपचारिक घोषणा हुन लागेको चलचित्र ‘हृदयभरी’मा पल शाहले दुई नायिकासँग काम गर्ने भएका छन् ।
सुरज सुब्बा नाल्बोको निर्देशनमा चलचित्र ‘हृदयभरी’ तयार हुन लागेको हो । उक्त चलचित्रमा दुई नायिकाका साथमा पलको भूमिका रहनेछ। चलचित्रमा नवनायिका श्रद्धा क्षेत्री र रेखा लिम्बूले एकैसाथ काम गर्दैछन्। नवनायिका क्षेत्री भारतको कोलकातामा बसेर मोडलिङ गर्दै आएकी छन्।
नायक शाह जति चल्तीका कलाकार हुन्, उनीसँग काम गर्ने नायिका पनि त्यतिकै चल्तीका रहेको पाइन्छ। यसपटक भने उनले दुई नायिकासँग स्क्रिन सेयर गर्दैछन्।
निर्माण पक्षले दुई नायिकाको आवश्यकता परेको खबर सार्वजनिक गरेपछि श्रद्धा र रेखा जोडिन आइपुगेका छन्। ‘हृदयभरी’ चलचित्रको घोषणा कार्यक्रममा सहभागी हुन भारतबाट श्रद्धा नेपाल आइसकेकी छन्। चलचित्र शाह प्रोडक्शनको ब्यानरमा निर्माण हुँदैछ।