काठमाडौँ - कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।
विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका साहित्यकार नेपाल २ महिनादेखि निवासमै अचेत अवस्थामा थिए। ५ महिनाअघि फोक्सोमा समस्या देखिएको थियो।
२ महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेकाे उनका माहिला छोरा विनयकुमारले जानकारी दिए ।
उनी मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए। उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो। शब्दसागरमा १ लाख २५ हजार शब्द थिए।
विसं २०७० मा ‘नेपाली शब्दसागर’को दोस्रो संस्करण प्रकाशन गरी १ लाख ४१ हजार शब्द पुर्याइएको थियो। उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन्।
यसैगरी १ सय ३५ वटा उपनिषद् पनि अनुवाद गरेका छन्। हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ। १ सयवटा पाण्डुलिपि तयार छन्। उनका श्रीमती, ४ छोरा र ३ छोरी छन्। (रासस)