काठमाडौँ – दोश्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला आजदेखि शुरु भएको छ। शैक्षिक मेलाको सभामुख कृष्णबहादुर महराले आइतबार राजधानीमा उद्घाटन गरे।
मेलाको उद्घाटन गर्दै सभामुख महराले शैक्षिक मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नेपाली नागरिकमा देखिएको चिनियाँ भाषा सिक्ने उत्सुकता र चिनियाँ नागरिकहरुले नेपाली भाषा सिक्न गरेको प्रयासले दुई देशबीच देखिएको भाषागत खाडल पुरिदैँ जाने बताए।
सभामुख महराले आगामी दिनमा नेपाल र चिनियाँ विश्वविद्यालयहरुले सहकार्य गरी प्राविधिक शिक्षाबाट दीक्षित जनशक्ति उत्पादन गरी दुवै देशको हितमा काम गर्ने वातावरण बनाउन सक्ने भएकोले त्यसतर्फ दुवै देशका सरकार र नेतृत्वले गम्भीर भएर सोच्न जरुरी औँल्याए।
आयोजक चिनिया भाषा शिक्षक संघका अध्यक्ष कुमार खड्काका अनुसार नेपाल–चीनबीच शैक्षिक नीति तथा सम्बन्ध र चीनका विश्वविद्यालयमा पढाइ हुने विषयका बारेमा शैक्षिक मेलामा जानकारी गराइने छ। मेलामा चीनका ख्यातीप्राप्त विश्वविद्यालयका प्रतिनिधि र नेपालका शैक्षिक क्षेत्रका सरोकारवालाहरु तथा विद्यार्थीहरुको सहभागिता छ।
चीनमा पठाइ हुने प्राविधिक तथा अन्य कोर्ष तथा नेपालका विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरुका बारेमा जानकारी आदनप्रदान गरिने चिनिया भाषा शिक्षक संघका अध्यक्ष खड्काले जानकारी दिए।
मेलामा विभिन्न परामर्शदाताहरु तथा कन्सल्टेन्सी संचालकहरुबाट नेपाल तथा चिनिया शिक्षाका बारेमा आगन्तुकहरुलाई जानकारी गराउने कार्यक्रमहरु छ। शैक्षिक मेला ३ दिनसम्म सञ्चालन हुनेछ।