सुर्खेत - कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ।
पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो।
५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा ४ लाख ५४ हजार ८ सय ६४ आन्तरिक र २१ हजार २ सय ९१ बाह्य पर्यटक भित्र्याउन सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणन्त्री नन्दसिंह बुढाले जानकारी दिए।
“पर्यटन आगमन सर्वेक्षण २०७५ अनुसार आन्तरिक पर्यटक चालू आवमा करिब ११ प्रतिशत वृद्धि भएको छ,” मन्त्री बुढाले भने, “यो आवको वैशाखसम्म बाह्य पर्यटकको सङ्ख्या ३४ दशमलव २ प्रतिशत वृद्धि भएको पाइएको छ।”
‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार’ मूल नारा बनाएर अघि बढेको प्रदेश सरकारले विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने आधार स्थापित गरेको उनको भनाइ थियो।
पर्यटन मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले पर्यटन आगमन सर्वेक्षण २०७५ र अध्यागमन विभागको तथ्याङ्कअनुसार सबैभन्दा हुम्लामा १७ हजार ४ सय ८९ बाह्य र त्यसमा भारतीय पर्यटक भित्रिएको बताए। सबैभन्दा कम सात बाह्य पर्यटक जाजरकोटमा आएको सचिव प्रधानले बताए।
प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा रु. ७८ लाख १६ हजार ९६ खर्च भएको उल्लेख गरिएको छ। सरकारले नीतिगत रूपमा मन्त्रिपरिषदबाट गरेको निर्णयका आधारमा ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा बजेट खर्च भएको पर्यटन मन्त्रालयले दाबी गरेको छ। (रासस)