बागलुङ - परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ। अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो।
ग्रामीण पर्यटन प्रवर्द्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ। जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ। गलकोट नगरपालिका-१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ।
मह शिकारसहित विविध खेलकुद र सांस्कृतिक कार्यक्रम हुनेछन्। वडा कार्यालय र रमुवाको सरस्वती युवा क्लबले मह शिकार कार्यक्रमको आयोजना गरेका हुन्। रमुवाको मौरीभीरमा रहेका झण्डै एक सय गोलाबाट मह काढिने वडाअध्यक्ष तिलक घर्तीले बताए।
“पर्यटन प्रवर्द्धनको उद्देश्यले मह शिकार कार्यक्रम राखिएको हो”, उनले भने, “यसलाई साहसिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ।” रमुवाका भीरमा प्रशस्त भीर मौरी पाइन्छ। गाउँलेले पुस्तौँदेखि मह शिकार गर्दै आएका छन्। अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्छन्।
बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भर्याङ (पराङ) मा झुण्डिएर मह शिकार गरिने शिकारी धनबहादुर घर्तीले बताए। “हाम्रा बाउबाजेले पनि यसरी नै मह काढ्थे”, उनले भने, “ज्यानकै बाजी लगाएर भीरमा उक्लनुपर्छ।”
साहस र कौशल नभएका व्यक्तिले मह शिकार गर्न नसक्ने उनको भनाइ छ। साहसिक मह शिकारले आन्तरिक पर्यटक लोभ्याउने आयोजकको विश्वास छ। “मह शिकारलाई व्यावसायिक बनाउन पनि आवश्यक छ”, क्लबका अध्यक्ष गिरीप्रसाद घर्तीले भने।
स्थानीय शिकारीले वर्षेनी मह काढ्ने गरे पनि यो वर्ष पर्यटन प्रवर्द्धन गर्ने गरी मह शिकार हुन लागेको उनको भनाइ छ। मह शिकार हेर्न पर्यटक भित्रिँदा महको किनबेच पनि बढी हुनेछ। शिकारीले राम्रो याममा एउटै गोलाबाट २० लिटरसम्म मह निकाल्ने गरेका छन्।
भौगोलिक हिसाबले विकट रुमुवामा सडक, सञ्चारजस्ता सुविधा पुगेपछि पर्यटन गतिविधि सञ्चालन गर्न गाउँले कस्सिएका हुन्। मह शिकार कार्यक्रममा जानेलाई रु ५० मा मह खाने व्यवस्था समेत मिलाइएको छ। खरिदका लागि पनि मह उपलब्ध हुनेछ। भीर मौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा व्यावसायीकरण गर्न सजिलो छ।
गलकोटका धेरै ठाउँमा भीर मौरी रहे पनि मह शिकार कमै हुने गरेको छ। खर्चिलो र जोखिमयुक्त हुने भएकाले शिकार कम हुन्छ। घरायसी प्रयोगमै सीमित भीर मौरीको मह रमुवावासीले भने बिक्रीसमेत गर्दै आएका छन्। मह शिकारका लागि वैशाख-जेठ उपयुक्त महिना हुन्।
गत वर्ष पनि गलकोट नगरपालिका -४ निलुवामा मह शिकार महोत्सवको आयोजना गरिएको थियो। निलुवाको पाँच सय मिटर अग्लो भीरमा पनि वडा नं १० रमुवाकै अनुभवी शिकारीले मह काढेका थिए।
निलुवालाई पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो। दशकौँपछि गरिएको मह शिकार हेर्न निलुवामा सर्वसाधारणको भीड लागेको थियो।
परम्परागत प्रविधि र सीप अपनाएर मह काढिएको थियो। मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग हुने गरेका छन्। आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेका छन्।
https://www.youtube.com/watch?v=dwtlNE_vHd8