काठमाडौँ – सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया आकृति गुरुङलाई सम्मान गरेको छ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै उक्त स्कुलले गुरुङलाई सम्मान गरेको हो। स्वर्ण पदक विजेता गुरुङ संस्कार स्कुलमा हाल कक्षा ९ मा अध्ययनरत छिन्।
गत अप्रिल १९ तारिख जापानको ओसाकामा सम्पन्न २५ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा गुरुङले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिइन्। नेपालबाट विभिन्न तौल समूहमा सहभागी हुन २३ जना प्रतियोगीहरु जापान गएका थिए। तीमध्ये नेपालको लागि स्वर्ण ल्याउन आकृति सफल भएकी थिइन्।
स्कुलको तर्फबाट निर्देशक विमला गुरुङ र तेक्वान्दो गुरु मुगामाया पाख्रिन लगायतले उनलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन्। कार्यक्रममा स्कुलकी निर्देशक विमला गुरुङले नेपालको छबि अन्तर्राष्ट्रियस्तरमा उचो बनाउने काम गरेको भन्दै स्वर्ण पदक विजेता गुरुङलाई बधाई दिईन्। भविष्यमा पनि यस्ताखाले प्रतियोगितामा सहभागी हुनको लागि स्कुलको तर्फबाट स्वर्णपदक विजेता गुरुङलाई जस्तोसुकै सहयोग गर्न पनि आफूहरु तयार उनले प्रतिवद्वता जनाइन्।
तेक्वान्दो गुरु मुगामाया पाख्रिनले आफू र आकृतिको लगनशीलता र निरन्तर परिश्रमका साथै स्कुलले पुर्याएको सहयोग र आवश्यक व्यवस्थापनका कारण स्वर्ण पदक जित्न सफल भएको सुनाइन्।
स्वर्ण पदक विजेता आकृति गुरुङले छोटो समयको तयारीमा पनि आफूहरुले यस्तो नतिजा ल्याउन सफल भएको सुनाउँदै यसको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन र गुरुको मार्ग निर्देशन भएको बताएन्। प्रतियोगिताको फाईनलमा आयोजक राष्ट्रलाई नै हराउन पाउँदा आफू निकै खुशी भएको पनि उनको भनाइ थियो।