काभ्रेपलाञ्चोक - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ३ वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरे। उनले ३ वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी एवं गुणस्तरीय शिक्षा बनाइने बताएका हुन्।
एसियाली विकास बैंक (एडीबी)को ६ करोड रुपैयाँ ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले ३ वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने बताए।
मन्त्री बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताउँदै भने, ‘हाम्रो मुलुकमा रहेका सम्पूर्ण स्रोतसाधन उपयोग गर्न प्राविधिक शिक्षा आवश्यक छ, यसप्रति सरकारको विशेष ध्यान गइरहेको छ।’
मन्त्री बाँस्कोटाले शिक्षा सामाजिकीकरण र व्यावहारिक हुनुपर्ने बताए। उनले भने, ‘शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्दछ, यसले आत्मनिर्भरतालाई प्रोत्साहित गर्दछ।’ परिमार्जित शिक्षाले मानिसलाई संस्कारप्रति बफादार बनाई श्रमप्रति सम्मान गर्ने उनको दाबी थियो।
सांसद गङ्गाबहादुर तामाङले मुलुक निर्माणको चरणमा रहेकाले जनतासँगका प्रतिबद्धता पूरा गर्ने बताए। प्रदेशसभा सदस्य रत्न ढकालले शिक्षा उत्पादन र समृद्धि उन्मुख हुनुपर्ने धारणा राखे। गाउँपालिका अध्यक्ष दीननाथ गौतम र विद्यार्थी नेता दीपक गौतमले संविधानमा सुनिश्चित गरिएको मौलिक हकका अधिकारबाट कोही पनि बञ्चित नभएको बताए।
मन्त्री बाँस्कोटाले शुक्रबार नै स्विट्जरल्यान्डस्थित तेर दे जोम (टीडीएच) नामक गैरसरकारी संस्थाको करिब ७ करोड रुपैयाँको सहयोग तथा किर्डाक संस्थाको समन्वयमा भुम्लु गाउँपालिकाको सल्लेभुम्लु, फलाँटे र भुम्लुटारमा निर्मित ३ वटा स्वास्थ्यचौकी भवनको उद्घाटन गरेका थिए।