लक्ष्मीप्रसाद सापकोटा, पर्वत - पर्वतमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेको सङ्ख्या बढ्दै गएको छ। जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, अभिभावक र विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि निजीबाट बालबालिकालाई छुटाएर सरकारी विद्यालयमा भर्ना गराउन थालेका छन्।
अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जलजला गाउँपालिका–९ बनौका जनप्रतिनिधि र शिक्षक तथा अभिभावकले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गरेका हुन्। बनौले सरकारी निकायमा आबद्ध भएका र जनप्रतिनिधिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरेको थियो।
वडाध्यक्ष गौबहादुर पुनले आफ्नी छोरीलाई निजी विद्यालबाट छुटाएर शनिबार स्थानीय बनौ माविमा भर्ना गराए। उनले मात्र होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर पुर्जाले पनि आफ्ना दुई छोरीलाई कक्षा १ र कक्षा ४ मा भर्ना गराएका थिए।
त्यस्तै वडा सदस्य पार्वती सर्किनीले दुई छोराछोरी, विव्यस सदस्य टीकाराम पुर्जा, शिक्षिका गौमाया पुर्जा, मनकुमार गर्वुजा, सविता फगामी लगायतले पनि आ–आफ्ना बालबालिकालाई गाउँमै रहेको र केही सदरमुकाममा रहेको निजी विद्यालयबाट छुटाएर गाउँमै सामुदायिक विद्यालयमा लगेका छन्।
वडाध्यक्ष गौबहादुर पुनले राज्यको भर्ना अभियानलाई सघाउ पुर्याउन र सरकारी निकायमा आबद्ध व्यक्ति सरकारी विद्यालयप्रति उत्तरदायी बन्नुपर्छ भन्ने मान्यता राखेर सबैले सामुदायिक विद्यालयमा भर्ना गराएको बताए।
उनले गाउँमा रहेको एकमात्र मावि बनौ माविमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने, तल्लो तहमा निजी विद्यालयजस्तै नर्सरी, केजी र मन्टेश्वरी विधिबाट पढाइ सञ्चालन गर्न थालेपछि निजी विद्यालय छाड्नेको सङ्ख्या बढेको बताए। उनले आफ्नो विद्यालयमा मात्रै ८८ विद्यार्थी नयाँ भर्ना भएको जानकारी दिए।
निजी विद्यालयबाट सामुदायिक विद्यालयमा विद्यार्थी स्थानान्तरण गर्ने अभिभावक तथा शिक्षकलाई शनिबार एक कार्यक्रमका बीच दोसल्ला र अबिर लगाएर सम्मान गरिएको वडाध्यक्ष पुनले जानकारी दिए।
यस्तै सदरमुकाम कुश्माबजारमा रहेको शिवालय नमुना माध्यमिक विद्यालयका शिक्षक तथा अभिभावकले पनि आफ्ना बालबालिकालाई आफैँले अध्यापन गराउने विद्यालयमा स्थानान्तरण गरेका छन्। उनीहरूले गत आइतबार सामुदायिक विद्यालयमा सामूहिक रूपमा भर्ना गराएका हुन्।
निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थी एसईई उत्तीर्ण भएपछि उच्च शिक्षामा कमजोर हुने र अन्य व्यावहारिक रूपमा समेत घुलमिल हुन नसक्ने भएकाले सामुदायिकमै पढाउनु उपयुक्त हुने शिक्षक आनन्द शर्माकाे भनाइ छ।
यता नारायण माध्यमिक विद्यालय कुश्माले निजी विद्यालय छाडेर आउने विद्यार्थीलाई कक्षा ९ मा प्रवेश परीक्षासमेत लिएको छ। वर्षेनि कक्षा ८ को पढाइ सकेर कक्षा ९ मा भर्ना हुन आउनेका लागि प्रवेश परीक्षा लिने र उत्तीर्ण हुनेलाई मात्र भर्ना गराउने गरिएको प्रधानाध्यापक अम्बिका लोहनीले बताए।
उक्त विद्यालयमा १ हजार २ सय विद्यार्थी छन्। विगत वर्षभन्दा यस वर्ष सामुदायिक विद्यालयमा जाने विद्यार्थीको सङ्ख्या बढेको निजी विद्यालयले जनाएका छन्। (रासस)