वीरगञ्ज – भोजपुरी स्टार गायकका रूपमा चिनिन्छन्, सुनिल पण्डित। दर्जनौँ भोजपुरी गीत गाएका पण्डितले नेपाली र भोजपुरी भाषा मिसिएको गीत पनि गाएका छन्।
विसं २०२९ असार २५ मा जन्मिएका पण्डितका आमा पासपती देवी र बुवा चोकट पण्डित हुन्। उमेरले उनी अहिले ४७ वर्षका पुगे। पर्सा जिल्लाको सामान्य परिवारमा जन्मिएका पण्डित अहिले स्थापित गायक भएका छन्।
उनी मधेसमा मात्र नभई छिमेकी मुलुक भारतको यूपी–बिहारसम्म चर्चित छन्। भोजपुरी गीतका पारखीहरूको मोबाइलको ग्यालरीमा उनको गीत ‘सेभ’ हुन्छ। एक हिसाबले उनी अहिले आफ्नो सफलताको उत्कर्षमा छन्। सामान्य परिवारदेखि ठूल्ठूला स्टेजसम्मको पण्डितको यात्रा भने निकै चाखलाग्दो छ।
संगीतप्रतिको मोह यसरी जाग्यो
मधेसमा पहिला त्यति धेरै भोजपुरी गीत गाइन्नथ्यो। छिमेकी मुलुक भारतको बिहारका भोजपुरी गीतहरूकै बोलवाला थियो। विवाह, पार्टी अनि पान पसलका ठूल्ठूला लाउड स्पिकरमा घन्किने ती गीतले माहोल नै बेग्लै बनाउँथ्यो।
यही माहोलमा हुर्किएका हुन्– सुनिल पनि। जहाँतहीँ बज्ने गीतहरूले सुनिललाई आकर्षित गथ्र्यो। उनी एक्लै हुँदा ती गीत गुन्गुनाउँथे। पछि साथीभाइहरूका माझमा पनि उनले गाउन थाले। त्यतिबेला नदियाके पार’, ‘धरती मैया’जस्ता फिल्मका गीतहरू खुब बज्थ्यो, सुनिल भन्छन्, ‘त्यही गीतहरू सुन्दासुन्दै म पनि गाउन सक्छु कि भन्ने लाग्यो।’ त्यसपछि नै उनले गायक बन्ने सपना पनि देख्न थालेका थिए।
पहिलो गीत रेकर्ड गर्दा ६ कट्ठा ‘स्वाहा’
प्रायः मान्छेको चाहना नै उद्देश्य बनिदिन्छ। पण्डितलाई गीत गाउने खुब चाह थियो। त्यही चाहनालाई उनले आफ्नो उद्देश्य बनाए। गायक बन्ने उद्देश्य।
वीरगञ्जमा बसेर आफ्नो उद्देश्य पूरा हुने नदेखेपछि उनी ‘बोरिया–बिस्तर’ बोकेर सपनाको सहर राजधानी हानिए। त्यतिबेला उनी २८ वर्षजतिका थिए। नयाँ सहर कसैसँग चिनजान थिएन। केही दिन त उनी त्यसै रुमल्लिए।
‘कसो भाग्यले देविका प्रधानज्यूसँग भेटायो,’ करिब दुई दशकअघिको कुरा सम्झँदै पण्डित भन्छन्, ‘उहाँ नै मेरो लागि भगवान् बनेर आएजस्तो लाग्यो।’ एक जमानाकी चर्चित गायिका प्रधान नेपाली लता मंगेशकर मानिन्छिन्। उनैको घरमा ५–६ महिनाजति बस्ने अवसर पाए पण्डितले। जहाँँ उनले संगीतलाई नजिकबाट बुझ्ने मौका पाए।
‘त्यहाँ एउटा हार्मोनियम थियो, जसलाई म बजाउँथेँ,’ भावुक आवाजमा पण्डितले सुनाए, ‘दिदीले मलाई गीत गाएर सुनाऊ त सुनिल भन्नुहुन्थ्यो।’ प्रधानकै घरमा उनले त्यतिबेलाका चल्तीका संगीतकार शम्भुजित बाँस्कोटालाई भेटे। बाँस्कोटा प्रधानको घरमा आउजाउ गरिरहन्थे।
त्यहीँ उनीहरूले एउटा भोजपुरी गीत रेकर्ड गराउने निधो गरे। ‘रे गोरिया तोहरे बिना ना लागे जियरा, कैसे जाई हम विदेशवा’ बोलको गीत रेकर्ड भयो। संगीत बाँस्कोटाले दिए। ‘देविका दिदी र मेरो आवाजमा गीत रेकर्ड भएको हो,’ सुनिलले मख्ख पर्दै थपे, ‘मैले देविका दिदीलाई भोजपुरी सिकाएको हो।’
दर्शकले पनि मन पराए यो गीत। यो गीतका लागि सुनिलले ठूलै त्याग गरेका थिए। उनी भन्छन्, ‘मैले यो गीत रेकर्ड गराउनका लागि ६ कट्ठा जग्गा बेचेको छु।’ उनले पैसा भने कमाउन सकेका थिएनन् त्यो गीतबाट। ‘यो गीतबाट आम्दानीको आश नगर भनेर शम्भुजित दादाले पहिल्यै भन्नुभएको थियो,’ सुनिलले भने, ‘आफूलाई गायकका रूपमा चिनाउनका लागि मात्र मैले त्यो गीत गाएको थिएँ।’
सांगीतिक यात्रामा अर्को पाइला
कुरा २०६३ तिरको हो। प्रकाश पौडेलको ‘आमा मलाई त्यही केटी चाहिन्छ...’ भन्ने गीत रेडियो, एफएमहरूमा धेरै बज्थ्यो। ‘कमेडी विधा’को यो गीत बच्चादेखि बूढासम्मले मन पराउँथे।
त्यति नै बेला वीरगञ्ज र आसपासका रेडियोहरूमा पनि ठीक त्यस्तै गीत सुनिन थाल्यो। भोजपुरी भाषामा गाइएको त्यो गीत थियो, ‘माई रे माई हमरा उहि लड्की चाहि...।’ यो गीतले तहल्का नै पिट्यो। ‘पहिलो गीत रेकर्ड भएपछि अर्को गीत निकाल्न म निकै उत्साहित थिएँ,’ सुनील सुनाउँछन्, ‘दिल्ली गएर टी–सिरिज कम्पनीमा रेकर्ड गराएको थिएँ।’
यो गीत भारतको यूपी, बिहारलगायत नेपालमा पनि धेरै चल्यो। त्यसपछि उनले अर्को गीत निकाले, ‘सिन्दुर छ पोते छ रातो रङ्गको साडी छ, जाउँ कान्छी घुम्न जाउँ घर डाँडापारि छ। गोरे गोरे देहिया तोहार ए गोरी मनवा करेला चुमली...।’ गीत भोजपुरी र नेपाली दुवै भाषामा थियो। यो गीतमा बिहारकी चर्चित भोजपुरी गायिका इन्दु सोनालीले पनि आवाज दिएकी छिन्। ‘त्यसपछि मैले भोजपुरी फिल्महरूमा पनि गीत गाउने मौका पाउन थाले,’ सुनिल सुनाउँछन्।
किन हराए बीचमा केही समय?
सुनिलको आवाजले राम्रै प्रशंसा पाइरहेको थियो। लगातार हिट गीत गाएका उनको राम्रै ‘डिमान्ड’ थियो, भोजपुरी संगीत क्षेत्रमा। तर, एकाएक उनी हराए। उनका नयाँ गीतहरू आउन छाडे बजारमा। विस्तारै उनको लोकप्रियता पनि घट्दै गयो। ‘गाएर परिवार धान्नै गाह्रो भयो,’ तीन छोराका बाबु सुनिल सम्झन्छन्, ‘गीत गाएर छोराछोरी पाल्न र पढाउनै गाह्रो भएको थियो।’

सुनील सरकारी विद्यालयका शिक्षक पनि हुन्। पर्साकै एक विद्यालयमा उनी अंग्रेजी विषय पढाउँछन्। समयमा विद्यालय पुग्नुपर्ने बाध्यता। त्यसमाथि घर अनि खेतीबारीको काम। निकै धपेडीपूर्ण अवस्था थियो उनको। यी सबै व्यवस्थापन गर्न गाह्रो हुन थालेपछि उनले सांगीतिक क्षेत्रबाट विश्राम लिए। त्यसबाहेक उनी वीरगञ्जको रेडियो वीरगञ्जमा हप्ताको एउटा कार्यक्रम पनि चलाउँथे। उनी विद्यालय, घरखेत र रेडियोमै रमाउन थाले।
यसरी भयो कमव्याक
करिब ५–६ वर्ष नै सांगीतिक दुनियाँबाट हराएका सुनिल एकाएक स्थानीय मिडियामा छाउन थाले। ‘मैले संगीत क्षेत्रबाट विश्राम लिइसकेको थिएँ,’ सुनीलले सांगीतिक क्षेत्रमा फर्किनुका कारण खुलाए, ‘एसएसपी (हाल आईजीपी) सर्वेन्द्र खनाल सरले मलाई हरेक कार्यक्रममा सँगै लिएर जानुहुन्थ्यो। म त्यहाँ गीत गाउँथेँ।’

तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख सर्वेन्द्र खनालकै कारण आफू सांगीतिक क्षेत्रमा फर्किएको बताउँछन् सुनिल। उनी भन्छन्, ‘उहाँले बोलाएर तिमीजस्तो मान्छे यसरी चुप लागेर बस्नुहुन्न भनेर सम्झाउनुभयो। संगीत क्षेत्रमा निरन्तर लागिरहनुपर्छ, आफ्नो प्रतिभा यसरी खेर फ्याँक्नुहन्न भनेर हौसला दिनुभयो।’
अञ्चल प्रहरी कार्यालय नारायणीले चलाएको बालविवाह, महिला हिंसा, दाइजो प्रथाविरुद्धको अभियानका सदस्य बने उनी। अभियानका क्रममा उनी चेतनामूलक गीत गाउँथे। उनले आफैँ लेखेर गाएको ‘जईसन चहनी हमरा ओइसन ससुराल नामिलल’ भन्ने गीत निकै मन पराइएको थियो। पछि खनालकै सहयोगमा सुनिलले त्यसलाई रेकर्ड गराएर म्युजिक भिडियो पनि निकाले । ‘त्यसपछि नै मैले राष्ट्रपति भवनमा सम्मानित हुने सौभाग्य पाएँ,’ सुनिल भन्छन्, ‘ममाथि सर्वेन्द्र सरले ठूलो गुन लगाउनुभयो।’
केही दिन अघिमात्र उनी मुम्बई गएका थिए। ‘३ वटा गीत रेकर्ड गराएर आएको छु,’ उनले भने, ‘देवरा रिक्सावाला भन्ने फिल्मका लागि हो।’ बिहारका रामाकान्त प्रसादको निर्देशनमा बनेको फिल्म छिट्टै रिलिज हुँदैछ । त्यसमा ती गीतहरू सुन्न सकिनेछ।
वीरगञ्जदेखि अस्ट्रेलियासम्मको यात्रा
‘घाँस काटे गइनी हम मोहनाके संगे रे गन्नाके खेत मे..’ बोलको उनको गीत लामो समय यस क्षेत्रका विवाह पार्टीमा अनिवार्यसरह नै थियो। अहिले ‘हाई ब्लड प्रेसर...’ बोलको गीतले पनि त्यस्तै लोकप्रियता पाइरहेको छ।
पछिल्लो समय उनको लोकप्रियता यति बढेको छ कि, वीरगञ्ज र आसपासका क्षेत्रमा हुने कन्सर्ट (सांगीतिक कार्यक्रमहरू) उनीविना अधुरो अनि खल्लो हुन्छ। ‘बाहिरबाट ठूलाठूला कलाकार बोलाएर कार्यक्रम आयोजना गरिन्छ,’ सुनिल सगर्व सुनाउँछन्, ‘उनीहरू स्टेज चढ्नुअघि माहोल तताउनका लागि मलाई प्रायः सबै कार्यक्रममा बोलाइन्छ।’ कार्यक्रम आयोजकका लागि उनी कार्यक्रमको ‘रिडको हड्डी’ बनेका छन्।

मधेसमा राम्रो लोकप्रियता कमाएका सुनिल आजकल पहाडी जिल्लाहरू प्रायः गइरहन्छन्। त्यस क्षेत्रमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा गीत गाउनकै लागि उनलाई राम्रै रकम खर्चेर बोलाइन्छ। सुनिल पनि आयोजकहरूको अपेक्षामा खरो नै उत्रन्छन्। ‘मैले नेपालका अधिकांश कलाकारसँग स्टेज शेयर गरेको छु,’ सुनिल सुनाउँछन्, ‘सुगम पोख्रेल, प्रमोद खरेल, इन्दिरा जोशीजस्ता राष्ट्रिय कलाकारहरूले पहाडमा जति माया पाउनुहुन्छ, मैले पनि त्यति नै पाएको छु।
देशभित्र हुने कार्यक्रमहरूमा दर्शक नचाउने सुनिल हालसालै अस्ट्रेलिया पनि पुगेर फर्किए। सिड्नीमा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी त्यहाँ गएका थिए। अस्ट्रेलिया उनको पहिलो विदेश भ्रमण भने होइन। यसअघि पनि उनी दुबई, कतार, साउदी अरेबियाजस्ता देश पुगिसकेका छन् गीत गाउनका लागि।
गायकबाट नायक बन्दै
गायकका रूपमा राम्रो चर्चा बटुलेका सुनिल अब ठूलो पर्दामा आउने तयारीमा छन्। भोजपुरी फिल्म ‘मधेसी बाबु’मार्फत उनले ठूलो पर्दामा ‘डेब्यू’ गर्दैछन्। ‘यसमा सहायक नायकको भुमिकामा हुनेछु। कमेडी रोल छ,’ सुनिल भन्छन्, ‘आशा छ, दर्शकहरूले मलाई यो रूपमा पनि मन पराउनुहुने छ।
नवआगन्तुकलाई सुझाव
सुनिलको अनुभवमा सांगीतिक क्षेत्रमा टिक्न निकै गाह्रो छ। गीत लेख्नुदेखि गाउन, रेकर्ड गराउन, संगीत भर्न, म्युजिक भिडियो बनाउन, रिलिज गर्न, विक्रीवितरण गर्नलगायत सबै काममा पैसा खर्च हुन्छ। तर, आम्दानीको स्रोत भने कम छ। त्यसमाथि निरन्तरता दिनुपर्ने बाध्यता पनि। ‘आफ्नो मान्छेहरू भयो भने त ठीक हो, उनीहरूको साथ र सहयोगमा सबै काम सजिलै हुन्छ,’ आफ्ना संघर्षका दिन सम्झँदै सुनिल भन्छन्, ‘हामीजस्तो सामान्य गायकका लागि त यो निकै गाह्रो काम हो।’
उनले थपे, ‘संगीत एउटा कला हो। संगीतकर्मीहरूले यही कला बेचेर आफ्नो जीवन निर्वाह गर्नुपर्छ। त्यसैले यो क्षेत्रमा प्रवेश गर्नुअघि यसबारे राम्रोसँग जानकारी लिनुहोला। संगीतको ज्ञान लिएर मात्र यो क्षेत्रमा प्रवेश गर्नुहोला।’