काठमाडौँ, २३ पुस। सुपरस्टार मानिएका अनमोल केसीले ‘ब्याचलर बन्टी’ बाट हात झिकेका छन्। उनले सहमतिबाटै यो चलचित्र छाडेका हुन्। ‘ब्याचलर बन्टी’ मा अनमोलले उकुसा गिरीसँग स्क्रिन सेयर गर्ने भएका थिए।
सुदीप खड्का निर्माता रहेको यस चलचित्रको छायाङ्कन वैशाखबाट शुरु गरी भदौमा रिलिज गर्ने सहमति भएको छ। अनमोलले उक्त चलचित्रका लागि लिएको पारिश्रमिक ‘साइनिङ एमाउन्ट’ मङ्गलबार टिमलाई फिर्ता गर्दैछन्। उनले ४५ लाख रुपैयाँ पारिश्रमिक बुझेका थिए।
अनमोलले आइतबार औपचारिक रूपमा चलचित्र छाडेको बताएका थिए। अनमोल भन्छन्, ‘शुरुमा निर्माण टिमसँग काम गर्न तयार भएको तर स्टोरी चित्त बुझेन। स्क्रिप्ट नराम्रो भनेर चाहिँ होइन।’
‘आफ्नो क्यारेक्टरमा आफूले जति नै प्रयास गरे पनि फिट नहुने भएपछि चलचित्र छाडेँ। त्यसैले एग्रिमेन्ट फिर्ता गरेको हुँ’ अनमाेलले भने।
मङ्गलबार चलचित्र ‘ए मेरो हजुर ३’को गीत छायाङ्कनका लागि अमेरिका जान लागेका केसीले साइन गरेको चलचित्र पहिलो पटक छाडेका हुन्। स्रोतका अनुसार चलचित्र ‘ब्याचलर बन्टी’ मा पल शाह भित्रिने सम्भावना छ। निर्माता खड्काले ‘वीरविक्रम २’ मा व्यस्त पललाई सेटमा पुगेर चलचित्र अफर गरेको चर्चा छ।