काठमाडौँ - शंकरदेव क्याम्पस अगाडिको फुटपाथ। खुला आकाश। न घाम छेकिन्छ न त पानी नै। कहिले त्यही फुटपाथबाट पनि नगर प्रहरीले आएर लखेट्छ। भएभरका सामान गाडीमा हालेर लगिदिन्छ। बाध्यता, फेरि त्यहीँ बसेर काम गर्नुको विकल्प छैन। काम नगरी साँझबिहान हातमुख जोड्न गाह्रो छ। यो दुखेसो हो-एक श्रमिकको।
महोत्तरीका सेवल राम बागबजारको टुकुचा तरकारी बजारछेउमा मोची (जुत्ता सिलाउने) काम गर्छन्। उनले जुत्ता सिलाउन थालेको २५ वर्ष भइसक्यो। बिहानै फुटपाथमा आएर बोरा ओछ्याएर आफ्ना सामग्री मिलाउने, ग्राहकका जुत्ता सिलाउने र पालिस लगाउने – सेवलको दिनचर्या यही हो। यसैबाट उनको गुजारा चल्छ।
सेवल सुन्दापुर गाविस (हाल सोनमा गाउँपालिका) मा जन्मिएका हुन्। उनी काठमाडौँ आएको २५ वर्ष पूरा भयो। यसबीचमा धेरै व्यवस्था फेरिए। २५ वर्षदेखि काठमाडौँ, शंकरदेव क्याम्पस अगाडिको फुटपाथमा जुत्ता सिलाउन थालेका सेवलको अवस्था भने ज्यूँका त्यूँ छ। उनको परिचय भने फेरियो। सामान्य मोचीबाट श्रमिक नेता बने उनी। श्रमिक नेताको परिचय बनाएका सेवलको अवस्था भने फेरिएन। अहिले पनि उनी त्यही फुटपाथमै जुत्ता सिलाएर दैनिकी चलाइरहेका छन्।
दुई पटक समानुपातिक उम्मेदवार
१६ वर्षदेखि राजनीतिमा पनि सक्रिय छन् सेवल। उनी राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य हुन्। तत्कालीन सद्भावना पार्टीले उनलाई २०६४ मा समानुपातिक उम्मेदवार बनायो। त्यस्तै २०७४ सालको चुनावमा पनि राजपाले सेवललाई समानुपातिकको उम्मेदवार बनायो। ‘विभिन्न आन्दोलनमा ६ पटक जेल गएको छु’ सेवल भन्छन्, ‘दुई पटक उम्मेदवार बनाए पनि सांसद बनाएनन्।’
सेवल राम समाजकल्याण मञ्च र नेपाल छाला तथा जुत्ता मजदूर व्यवसायी मञ्चका अध्यक्ष पनि हुन्। बिहान ११–१२ बजेसम्म्म जुत्ता सिलाउने राम त्यसपछि पार्टी र मञ्चका बैठक, भेटघाट लगायतका कार्यक्रममा जान्छन्।
मजदूरका समस्या पार्टीभित्रै सुनुवाइ भएन
सेवल श्रमिकका विभिन्न समस्या रहेको सुनाउँछन्। ‘श्रमिकले न्यूनतम ज्याला समयमै पाएका छैनन्। सुरक्षाको व्यवस्था छैन,’ उनी गुनासो गर्छन्, ‘कैयौँ पटक हाम्रो पार्टी र सरकारका व्यक्तिलाई मजदूरका समस्या समाधानका लागि आग्रह गरेको छु तर सुनुवाइ भएको छैन।’
श्रमिकका माग सम्बोधन गर्न सरकारले पनि चासो नदेखाएको उनको गुनासो छ। ‘हामीलाई अरू केही चाहिँदैन। सरकारले हाम्रा आधारभूत माग पूरा गरोस्, यही नै श्रमिकमाथि सच्चा सम्मान हुनेछ,’ उनले भने।
आश्वासन र आशावादी
‘आश गर्नु भर नपर्नु’ भन्ने उखान सेवलको जीवनमा मेल खान्छ। उनी पार्टीप्रति पूरै विश्वस्त छैनन् तर पनि आशावादी भने छन्। ‘पार्टीको काम गर्दै गर्नुस्,’ पार्टीको आश्वासन सुनाउँदै उनी भन्छन्, ‘नेताहरूले सधैँ आश्वासन दिन्छन् तर पूरा गर्दैनन्।’ नेताहरूको यस्तो रवैयाप्रति उनी रुष्ट छन्।
पसिनाले दिलाएको खुसी
श्रमिक र राष्ट्रका लागि केही गर्नुपर्छ भनेर राजनीतिमा लागेका हुन् सेवल। यसकै लागि उनी गाउँमा भएको खेतीपाती छोडेर काठमाडौँ आएका थिए। तर, काठमाडौँमा पेट पाल्न नै गाह्रो भएपछि जुत्ता सिलाउने थाले। ‘दैनिक ५ सय रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ,’ उनी भन्छन्, ‘त्यसले सामान्य खर्च टार्न मात्र ठिक्क हुन्छ।’
गाउँमा थोरै खेत छ, सेवलको। त्यसबाट उब्जेको खेतीले खान पुग्दैन। जुत्ता सिलाएर कमाउने पैसाले नै घरखर्चदेखि छोराछोरीको पढाइ खर्चसमेत टार्नुपर्छ।
५२ वर्ष कटेका सेवलका तीन छोराछोरी छन्। छोरीको विवाह भइसक्यो। एक छोरा काठमाडौँमै व्यवस्थापन पढ्दै छन्। अर्का छिमेकी लघुवित्त संस्थामा जागिर खान्छन्। सेवल काठमाडौँमा कोठा भाडा लिएर बसेका छन्।
दलित समुदायलाई राज्यले हेप्याे
दलित समुदायलाई अझै पनि राज्यले हरेक क्षेत्रमा हेपेको उनको गुनासो छ। ‘दलितमाथि गरिने छुवाछूत अन्त्य गर्नुपर्छ,’ दलितमाथि हुने गरेको विभेद अन्त्य हुनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो पेशालाई सम्मान गर्दै आधुनिकीकरणतर्फ लैजान राज्यले पहल गर्नुपर्छ।’