युवराज दुलाल –
बिहानै उठ्छ
अनि खुशी खोज्न थाल्छअँगेनामा
खोस्रन्छ खरानी
भेट्टाउँछ एकझिल्को खुशी, सँगै रमाउँछ।
सोच्दो हो, त्यही झिल्कोले
उसको आजको दिन उज्यालो बनाउने छ
केटाकेटी उठ्छन्, छेउमा आउँछन्
बस्छन् र भन्छन्, बा ! भोक लाग्यो
उफ भाँडामा हेर्छ सबै रित्तै !
आफ्नी स्वास्नीलाई सम्झन्छ
विचरीले के खुवाएर अड्काइछ
सास यतिञ्जेल घाँटीमा?
फेरि, ऊ आउँछ अँगेनामा
र बस्छ
अब त साउन लागेछ क्यार,
उसका आँखा पनि रसाउँछन्
एक थोपो पानी आँखाको डिल नाघेर
गाला चाउरिएर बनेको रेखालाई
बाटो बनाउँदै चिउडोबाट तल खस्छ
र निभ्छ एकझिल्को खुशी पनि।
(अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना)