काठमाडौँ, २४ पुस। ‘एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस’ ले चलचित्र निर्माण गर्ने भएको छ। एक्सपर्टले क्रिकेटसम्बन्धी चलचित्र निर्माण गर्न लागेका हो।
संस्थाका सद्भावना कप्तान नेपाली राष्ट्रिय क्रिकेटर पारस खड्काले चलचित्र निर्माण हुने बताए। सिड्नीमा आयोजित एक कार्यक्रममा खड्काले निर्देशक सञ्जीव शर्माद्वारा चलचित्र निर्माण हुने बताएका हुन्। खेलकुद विधामा चलचित्र निर्माण कम भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको उनले बताए।
सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने सङ्घर्षको कथावस्तुलाई चलचित्रमा उतारिनेछ। चलचित्रमा सुनोद श्रेष्ठको मुख्य भूमिका रहनेछ भने अन्य कलाकार र निर्देशकको नाम छिट्टै सार्वजनिक हुने चलचित्रका निर्माता सञ्जीव शर्माले जानकारी दिए। आधा दर्जन म्युजिक भिडियो गरिसकेका श्रेष्ठको यो डेब्यु चलचित्र हो ।