धनगढी – बडीकेदार, डोटी जिल्लाको बिकट गाउपालिका हो। अन्य विलासी सुविधाको त कुरै छोडौ। शिक्षा, स्वास्थ्य, सडकलगायतका आधारभुत सुविधाको पनि सहज पहुँच छैन यहाँ।
बडीकेदार गाउँपालिका–३, बगडाको अवस्था त झन् नाजुक छ। खानेपानी अभावले यसरी गाँजेको छ की, जनावरले खाने मुहानको पानी खान बाध्य छन्, बगेडाबासी। ‘गाउँको एउटा मात्रै खानेपानीको मुलमा गाईभैसी, बाख्रा, कुकुरदेखि मान्छेले समेत पानी खानुपरिरहेको छ,’ स्थानिय कर्णबहादुर बमले भने, ‘पानीको अरु श्रोत नहुंदा फोहोर नै भएपनि खानुपर्ने बाध्यता छ।’ त्यहि एउटा मुल पनि गाउँबाट झण्डै एक घण्टाको दुरीमा छ।
मुहानबाट घरसम्म पानी ल्याउन केटीकेटीलाई सरदर डेढ घण्टा र बयस्कलाई एक घण्टा जति लाग्ने गरेको अर्का स्थानिय सेतुराम ओलीले बताए। बडीकेदार गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लीलाधर सापकोटाले बजेट अभावका कारण समस्या समाधान गर्न नसकिएको बताए। ‘समस्याबारे हामीलाई थाहा छ,’ सापकोटाले भने, ‘अब चाँडो खानेपानी पुर्याउँछौँ।’ बगेडामा १९ घरधुरी बसोवास गर्छन्।