डोटीको बिकटमा छ बडीकेदार गाउँपालिका। बडिकेदारको वडा नम्बर ३ मा घाङल भन्ने ठाँउ छ। गाउँपालिका कार्यालयबाट झण्डै २० किलोमिटर पैदल यात्रा गरेपछि पुगिन्छ त्यहा। घाङलको बगडामा छ बग्र आधारभूत विद्यालय। जहाँ कक्षा ३ सम्मको पढाई हुन्छ। राज्यको आँखा नपुगेको यो विद्यालय मानव बस्तीभन्दा झण्डै एक घण्टाको दुरीमा छ।
ढुङ्गा–माटोले बनाइएको चार कोठे भवनको छाना जस्ताको छ। अफिस कोठा बाहेकका तीन वटा कक्षाकोठा हुन्। त्यहि कोठाको कार्पेट ओछ्याएको भुईँमा स–साना बालबालिकाहरुको पढाई चलिरहेको थियो। उनीहरुलाई पढाउने व्यक्ति हुन, तेजेन्द्र बुढामगर। तेजेन्द्र बिद्यालयका शिक्षक होइनन्। उनी हुन बिद्यालयका कार्यलय सहयोगी। लाई पढाई रहेका थिए कार्यालय सहयोगी तेजेन्द्र। ‘बिद्यालयमा खासै बिद्यार्थी पनि आउदैनन्,’ तेजेन्द्रले नेपाली पब्लिकसँग भने, ‘विद्यालयमा शिक्षक नआएपछि सधैँ आफैँले पढाउने गरेको छु।’
बग्र आधारभूत विद्यालयमा दुई शिक्षक, एक शिक्षिका र कार्यालय सहयोगी गरी चार कर्मचारीको दरबन्दी छ। जसमध्ये एउटा शिक्षक पद रिक्त छ। तिन जना मात्रै कार्यरत छन्। बि. सं. २०५२ मा स्थापना भएको विद्यालयमा प्रत्येक वर्ष १० देखी १५ जना विद्यार्थी अध्ययन गर्ने गरेको कार्यालय सहयोगी तेजेन्द्रले जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक रमेश बुढामगर कहिले तालीम त कहिले विद्यालयको काम भन्दै तराईतिरै बस्ने गरेको उनले बताए। साथै बाल कक्षामा पढाउने शिक्षिका घरको काम सकेर फुर्सदमा मात्रै बिद्यालय आउने हुँदा स्कुलको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा रहेको उनि बताउँछन्। विद्यालयमा कक्षाकोठाको सरसफाइ गर्ने, लिटो पकाएर विद्यार्थीलाई खुवाउने र सबै कक्षामा पढाउने काम एक्लैले गरिरहेको उनले सुनाए।