✒ हरिमाया भेटुवाल
समयको सानु फुर्को समातेर
मैले सडकमा उभिनु
अभद्रता ठान्छौ भने
मैले टेकेको माटोको कसम म अभद्र छु यतिबेला
मलाई लाखौँ पटक भन्काउन आए
ऐतिहासिक दस्तावेजहरू
धार्मिक ग्रन्थहरू
गुरुबाका उपदेशहरू
घरमा बा भन्थे– आइमाई र गाई उस्तै हुन्
खुट्टा उचाल्यो भने कुटाई खान्छन्
मैले खुट्टा उचाल्नु साटो
आफैलाई कोपरेकी छु कैयन् पटक
मेरा चोटहरू हेरेर
बेस्सरी हाँसेकै हौ तिमी
ए भद्र पुरुष !
म अभद्र छु यतिबेला
तिमीले कोरेको लक्ष्मण रेखालाई
मैले आमाको कात्रो किन्न जाँदा तोडेकी हुँ
हो म निस्किएकै हुँ मध्यराति
जुनकिरीहरूको साथ लागेर
ए भद्र पुरुष !
तिमी जुनसुकै उपमा दिन सक्छौ
म यो भत्किएको मैजस्तो सडकमा
उभिएको छु यतिबेला
मलाई हेरेर बज्न बिर्सिएको छ घन्टाघरले
सडकभरि बलेको छ रंगीन बिजुली
तिमी जुनसुकै रंगको देख मलाई
म रंगीन सपनाको कुम्लो हुँ यतिबेला !
ए भद्र पुरुष !
म अभद्र छु यतिबेला
तिमीलाई थाहा हुनु पर्छ
असाध्यै गर्मी बढेपछि
बादलले पनि पानी बोक्छ
निष्पट्ट अँध्यारो रातमा
जुनकिरीको उज्यालोले पनि बाटो देख्छ
सधैँ–सधैँ भद्रतामा त
भित्ताको फोटो उभिन सक्छ
मन्दिरका मूर्तिहरू उभिन सक्छन्
चर्जका जिसस उभिन सक्छन्
त्यो पनि भुइँचालो नआउञ्जेल सम्म मात्र
▪▪▪