वैशाख कविता स्मृतिहरूको दंश हो। नयाँ र नौलोको जोखिम उठाउने महिना पनि हो वैशाख। वर्गीय हिसाबले आरम्भको चरम शोषण वैशाखको विशेषता पनि हो। प्रकृति र संस्कृतिको अपूर्व सम्मीलन छ यस महिनामा। वैशाखका विषयमा यस कविताले दिएको परिवेश आजका निम्ति एउटा विम्ब मात्र हो ! प्राकृतिकताले भरपुर तिलस्मी संचेतना फैलाउने यस्तो कविता धुलो र धुवाँको साम्राज्यमा हिजोआज कुनै कविका सिर्जनशीलतामा ओर्लिनै मान्दैनन्। कवितामा प्राकृतिकताको सर्वाधिक ह्रास भएको समयमा म वैशाख कविताको सुगन्धतिर तानिएको मात्र हुँ। त्यसैले वैशाख एउटा स्मृतिदंश। आजका कविताले त विषाक्त परिवेशको कङ्काल बोकेका छन्। यही वास्तविकता साहित्यका अन्य विधाले पनि खेपिल्याउँदै छन्।
कविवर माधव घिमिरेलाई शताब्दीको सङ्घार दिने महिना हो यो। वैशाख भन्ने बित्तिकै गृहस्थहरूले विवाहको लगन हेरेको सम्झन्छु। सायद वैशाखको आरम्भसँगै सुरु हुने नयाँ जीवन प्रकृतिसँगको विश्वास हुनुपर्छ। समय र सन्दर्भ दुवै आधारले वैशाखलाई जीवनको नयाँ मोडमा हिँड्न पर्याप्त सहयोग गर्ने महिनाका रूपमा लिइन्छ। चैत–वैशाख कवितामा कविले जीवनको सर्वाधिक अनुपम सत्य र सौन्दर्यलाई लिपिबद्ध गरेका छन्। २००९ सालमा संरचित यस कविताका पङ्क्तिमा वैशाख नै वैशाखको कवि चेतना परिव्याप्त छ। भर्खर प्राप्त भएको प्रजातन्त्र र यसकै समकालीनतामा फैलिएको प्रकृतिको माधुर्य कविताको जीवन्त परिवेश भएर रसाएको छ। राजनीति र प्रकृति त्यति बेलासम्म फरक फरक विषय रहन सक्थे। आजको वैशाखमा प्रकृतिभन्दा समाज पो ज्यादा प्रतिविम्बित छ। समाजका धेरै सिर्जनात्मक अभियान यही महिनाबाट सुरु हुने अतीतको प्राचीन सभ्यता अहिले झल्याकझुलुक मात्र हुनेगरेका छन्। कविले देखेको हरियाली कविको निजत्व नभएर यो सामान्यीकृत स्थिति हो। वैशाखको कवितामा पालुवा, फूल र धूप छुट्ने विषय कदापि होइनन्। यहाँ कविताको साक्ष्य यसरी बोल्छ:
डाँडाकाँडा चउर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुलवनको वास मीठो हवाले
डाकी मौरी कुसुम–रसमा लेक पाक्यो गुहेली
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली
वैशाखको धूप पालुवामा गाढा रङ भर्न प्रयत्नशील रहन्छन्। बतासको सुगन्ध र घामको प्रताडनालाई कविले पालुवाको शक्ति बनाएका छन्। हावाले बोकी ल्याउने वनफूलको सुवास अर्को एउटा स्मृतिविहार हो। यस विहारमा पाकेका गुहेलीहरूको पाक्नुमा नै खास उद्देश्य छ। मौरी डाक्ने तिनले मानिसलाई जीवनका कर्मगीत सुनाएका छन्। कविले प्रयोग गरेको भाषिक सादृश्यमा डाँडा–काँडाको विस्तारित अर्थ प्रतिध्वनित छ। यस अर्थमा प्रकृति मानिसको अन्तर्यमा प्रवेश गर्छ। त्यसैले त वनको प्राङ्गारिक सुवास बोक्ने हावा मानवीकृत बिम्बमा अवतरित हुँदा कविता मिठो लाग्छ। गुहेलीले मौरी डाक्नु अर्को सामाजिक भावना पनि प्रतिबिम्बित छ कवितांशमा। गोठालो श्रमशील वर्गको प्रतिनिधि पात्र हो। अनुशासित जीवनको ठूलो सामाजिक न्यायिक जिम्मेवारी पनि बोकेको छ गोठालाले। त्यसैले ऊ पशुभन्दा माथि छ। पशुलाई नियन्त्रण गर्ने मात्र होइन, मार्ग देखाउँछ गोठालो। अतः उसले गाउन, नाच्न र प्रकृतिमा रमाउन बिर्सिएको हुँदैन। उसको सुसेली एउटा गहिरो भाषा हो। भयानक परिस्थिति र भयावह एकान्तमा भाषाको भन्दा आवाजको अर्थ जीवन्त हुन्छ। सुसेली हाल्नु प्राकृतिक भाषा बोल्नु हो। यो मानिसको अभिव्यक्तिको सहजात माध्यम पनि हो। त्यसैले कवि चेतनामा गोठालो र सुसेली ग्रामीण सरलताको परिचायक शब्दावली पनि हुन्। डुल्नु शब्दले स्वतन्त्रताको सङ्केत गरेको छ। मानिस प्रकृतिमा विचरण गर्दा आफ्ना सारा थकान बिर्सिन्छ, भोक र निराशा पनि बिर्सिन्छ। यहाँ वन वन डुलेर यायावरीय प्राकृतिक स्पन्दनलाई जिउँदो राख्ने गोठालो गतिशील ग्रामीण नायक हो। उसको स्वस्थ, स्फूर्त र संवेदनायुक्त जीवनशैली कविताको यही अन्तिम पङ्क्तिले मुखर गरेको छ। कविले दोस्रो श्लोकमा जातीय सांस्कृतिक विशिष्टतालाई चित्रात्मक विम्बका माध्यमबाट प्रकट गरेका छन्:
लाऊँ कानैतिर भनि टिपिन् गुर्सिनीले गुराँस
नेवार्नीले मधुसुमनले जेल्दिइन् केशपाश
भोटेनीले मगमग–बुकीफूल बाँधिन् तुनामा
क्वैली बोल्यो वनवन नयाँ प्रीतिको सम्झनामा
कवि शिरोमणिले ऋतुविचारमा वनजङ्गल र नारी सौन्दर्यका बिचको सम्बन्धलाई उल्लिखित कवितामा जस्तै विशेष अभिव्यञ्जनामार्फत प्रस्तुत गरेका थिए। वास्तवमा ग्रामीण युवतीले कानमा सुनका टप लगाएजस्तो ऐंसेलुको कविता उनले लेखेका थिए। राष्ट्रकवि माधवप्रसाद घिमिरेको चैत–वैशाखको उल्लिखित पङ्क्तिमा नेपाली ग्रामीण आदिवासी जीवनको गरिबी र त्यसबिचको जीवनप्रतिको उत्सवमय प्राकृतिक भावना विशिष्ट कलाका साथ प्रकट भएको छ। गुरुङसेनीलाई गुर्सेनी भन्नुमा दुई भाव प्रकट भएका छन् ः एउटा यही भइगयो, अर्को गुराँसको फूलसँग रमाउने जो कोही नारीको सन्दर्भलाई पनि चियाउन खोजेको हुँदो हो तर यथार्थमा यस विषयको सत्यता खोज्न त्यति टाढा भौँतारिनु पर्दैन। जनजातीय स्थानीय संस्कृतिमा वनस्पति र नारीको सम्बन्ध पर्यावरणीय चक्रमै सर्वदा निकट देखिन्छ। कविले नारीका अलङ्कार आभूषणमा प्रकृतिका फूललाई आरोपित गरेका छन्। गुरुङ्सेनीले कानमा लगाउन टिपेको गुराँस अर्थात हिमाली फूल नेवार्नीले भने केशपाशमा पो जेलिदिइन्। यसरी नै भोटेनीले बुकीफूल चौबन्धीको तुनामा बाँधिन्। यहाँ गुरुङ, नेवार र भोटे जातिका नारीका पहिरन् र परिवेश अनुकूलको वेशभूषालाई सुन्दर संयोजन गरिएको छ। यी परिधानले भूगोल र मौसमअनुसारको फूल संस्कृतिलाई लक्ष्य गरेको छ। यी सबै जातजातिका प्रेम र विरहका संयोगान्त शृङ्गार र वियोगान्त शृङ्गारका गीतमा हृदयको आवाज भर्ने कोइलीको साझा अनुभूति प्रकृति साझा हो भन्ने गम्भीर भावले आलोकित पनि छ। कविले सङ्केत गरेकै भरमा विश्वले संज्ञान प्राप्त गर्छ। माधव घिमिरेको वैशाखमा यही क्षमता छ। देवकोटाले जीवनलाई वन भनेर प्रकृतिको मानवीकरण गरिदिएका छन्। यहाँ त्यही वनभित्रको सार खोज्न तल्लीन घिमिरेले कोइलीको सुमधुर गायनमा मानवप्रेमको अमरत्व चारैतिर (वनवन) गुन्जिएको भाव प्रकाशित गरेका छन्। उनले कवितामार्फत नेपाली हुनुको जिम्मेवारी उजागर गरिदिएका छन्:
आए पाखा वन चउरमा फूल लाखौं पलाई
को भन्देला सकल यिनको नाम मिठो मलाई
मेरै धौलागिरि–उपरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको
कविताले उद्घोष गरेको चउर वैशाखको फाँट पनि हो, सिङ्गो नेपाल पनि हो। उत्तर–पश्चिमको सुदूर विकट होस् वा दक्षिणको मैदान,वैशाखको सरगर्मी सबैलाई प्रिय छ। पाखा, चउर र वनमा पालुवा हुँदै फूलको सौन्दर्य घनीभूत हुने मौसम यही हो। हेर्दा आँखाको प्यास नमेटिने यी प्रकृतिका सारा वनस्पतिको नामसमेत आफूलाई थाहा नहुनुको रहस्य पनि कविले अभिव्यक्त गरेका छन्। यो कविको अज्ञानता होइन, यो कविको दूरदर्शीता हो। नेपालको प्राकृतिक जैविक विविधतालाई परायाले विश्वमानकीकरण सूचीमा दर्ता गराउँदै गइरहेको छ। आफ्नो सम्पत्तिमा आफैले कर तिर्नुपर्ने बिडम्बना नेपाली जनताले झेलिरहेछन्। बस्, कवितामा नामको रहस्य कविका निम्ति होइन, देशका निम्ति हो। एउटा अनुसन्धानको विषय कविताले उपस्थित गराइदिएको छ। राजनीतिले प्रकृति विपरीतको बाटो खन्दा सिङ्गै देश पहिरोमा पर्नु नेपालीका लागि चिन्ताको विषय हो। कवि देशको पाखा पर्वत र गिरि शिखरमा पुगेर नेपाली माटोमा रस भर्न चाहन्छन्। नेपालीको स्थानीय मूल्यलाई संरक्षण र संवद्र्धन गर्नसके देशको अर्थतन्त्र सुदृढ हुन्छ। यसले मात्र समकालीन नेपालीको हृदय सच्चा अर्थमा छोइन र धोइन सक्छ। वैशाख कविताको मर्म यस्तै विशिष्ट भावले परिलक्षि छ।
मीठो बास्ना मधुपवनमा आज आइरहेछ
यौटा थुङ्गा वनतिर कतै मुस्कुराईरहेछ
को हो को हो भनि वनवनै क्वैलि गाईरहेछ
नौलो मान्छे कुसुम –पथमा हेर, आईरहेछ
वैशाखको वासन्ती दिन फूल, वासना, सिर्सिरे बतास र कोइलीको गायनले विशेष बनेको हुन्छ। कविले कवितामा बारबार वनको सुगन्ध र कोइलीको गायनको स्मरण गरेका छन्। विषयको पुनरावृत्ति सौन्दर्य सायद अन्य विषयमा यति सुहाँउने थिएनन्, जति यस कवितामा खुलेको छ। उपर्युल्लिखित श्लोकको सार एउटा अर्को रहस्य नै हो। त्यो नौलो मान्छे को हो, जो कुसुम–पथबाट आइरहेको छ। पक्कै त्यो फूलको बाटो पछ्याउने मानिस लक्षित प्रेमी नै हो। कवि विश्वमानवको कल्पना पनि बारबार गरिरहन्छन्। उनको यही परिकल्पनाको मानिस हो नौलो मान्छे। यही नौलो मान्छेको खोज पूरा नहुँदै रिमालको अवसान भयो। माधव घिमिरेदेखि श्रवण मुकारुङसम्म कवितामा अनेक सन्दर्भबाट नौलो मानिसका निम्ति बाटो खनिरहेका छन्। वैशाख दोहोरिएजस्तै यो खोज पनि दोहोरिएकै छ। निसन्देह प्राप्तिको सङ्केत नभए पनि कवितामा एउटा रहस्य निवर्तमान भएको छैन। त्यो यथावत छ। कविताले कोइलीको भाषामा नयाँ मानिसप्रतिको जिज्ञासा र अभिरुचि उद्देश्यमूलक अर्थमा उभ्याएको छ। वैशाख एउटा चक्र हो। समयको यो परिमापनले जीवनदर्शनको पटाक्षेप गरेको छ:
चौतारीमा वरपिपलको बोट नौलो लगाऊँ
छहारीको तलतिर बसी गीत यौटा म गाऊँ
आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरो
चौतारी एउटा रुखको छहारी मात्र होइन, यो परम्पराका आधारमा भन्ने हो भने पनि सिङ्गै मानवसमाजको सभ्यता हो। सामाजिक र सामूहिक प्राकृतिक जीवनको आरम्भ यहीँबाट भएको हो। कवि सभ्यताको बचाउमा वरपिपलको बोट रोप्न प्रेरित गर्छन्। उनलाई आफ्नो सहभागितामा चौतारी समाजको स्थापना गर्नुछ। त्यो नौलो बोटको परिकल्पना छ उनको मानसमा जो पुर्खाको सभ्यतामा नयाँ पालुवा लिएर उम्रिएको होस्। त्यसैले त उनी ‘बोट नौलो लगाऊँ’ भनिरहन्छन्। कविको प्रिय शब्द हो ‘नौलो’ र वैशाखको सार्थकता यही शब्दको गहिराइमा छ। एउटै मानिसलाई पटक पटक प्रेम गर्न आफूलाई शङ्करले नै सिकाएका हुन् भन्ने कुरा शङ्कर लामिछानेकी पत्नी रत्नाले आत्मस्विकृतिमा लेखकी छन्। शङ्कर स्वयम्ले चाहिँ प्रत्येक प्रेममा आफूलाई पहिलो प्रेमको अनुभूति हुने कुरा व्यक्त गरेका छन्। उल्लिखित कवितांशमा घिमिरेले यस्तै नौलो प्रेमको अभिसारमा प्रकृति गीतको सहारा लिन चाहेका छन्। उनी प्रेम र ऋतु कहिल्यै नसकिने अमर तत्त्व मान्छन्। त्यसैले उनलाई पोहोर फुलेको गोदावरी र यसपालि फुलेको गोदावरी एउटै नभएर पनि ती दोहोरिने ऋतुका एकै सन्तानजस्तो लाग्छन्। उनको जीवनदर्शन यहाँबाट अरूको भन्दा भिन्न देखिन्छ। नदी नै जीवन मान्नुभन्दा ऋतु नै जीवनको वास्तविकता हो भन्ने दर्शनमा उनको वैशाख कविता फैलिएको छ। चैत वैशाखको नसकिने ऋतुचक्र अन्य महिनाभन्दा फरक हुनुमा बीजाङ्कुरको विशेष स्थितिका कारण हो। उनले चैतको ट्युनिङमा वैशाखको गीत गाउनु प्रेमको सीमातीत स्वरूप छर्नु, उमार्नु र हुर्काउनु हो। कवि अशेष मल्लको कविताले आकाशभरिका ताराहरू कति मिलेर बसेका भन्ने शाश्वत भावमा समकालीन युगको प्रतिबिम्ब उभ्याएका छन्। कवि घिमिरेका कवितामा यही तत्त्व विशेष गतिशील भएर कवितालाई प्राकृतिक स्वच्छता दिन अग्रसर छ। जीवनप्रति प्रकृतिको आफ्नै नियम छ। कविको नियमले नियति बदल्ने होइन। कवि यसरी जीवनप्रतिको आफ्नो दृष्टिकोणको सार निकाल्छन्:
वैली जान्छन् कुसुमहरू यी जेठको घाम ओढी
क्वैली जान्छे कुन विरहमा माइतीदेश छोडी
हाँसी खेली दुई दिन, कहाँ जान्छ यो जिन्दगानी
को लैजाला अमरपुरमा फूलको यो जवानी
वैशाख अघिको महिना चैत र वैशाख पछिको महिना जेठ दुवै कविका निम्ति वैशाखलाई प्रेरित गर्न र वैशाखलाई समापन गर्ने सन्दर्भमा विशेष बनेका छन्। आरम्भ चैत हो भने अन्त्य जेठ हो। जीवनको चैत र जेठ यति छिटो आउँदैन वा कहिले त यो भन्दा पनि छिटो आइदिन्छ। जीवनको नियति कसैलाई थाहा हुँदैन। तर यसको क्षणिकता भने यसरी नै अनुभूत हुन्छ। काठमाडौं पोष्टमा उज्जवल प्रसाईंसँगको एउटा अन्तर्वार्तामा कथाकार इन्द्रबहादुर राईले ८४ वर्षको उमेरमा भनेका थिए,” आज फर्केर हेर्दा जीवन जम्मा एकदिन बाँचेको जस्तो लाग्छ।” घिमिरेले उपर्युल्लिखित कवितामा सङ्केत गरेको सत्य पनि यही न हो ! प्रत्येक जीवन एक फूल हो र प्रत्येक फूल तापले ओइलिनु र अन्त्य हुनु निश्चित छ। वैशाखमा मिठो गायन गर्ने कोइली जेठैमा ठाउँ सर्छे। जीवन दुईदिनको भन्ने मान्यता कवितामा र जीवनमा उत्तिकै प्रयुक्त भइरहेछ। जीवनको अन्तिम रहस्य कसैलाई थाह छैन। हाँसखेल गर्ने समय क्षणिक भएकैले जीवनको महत्त्व ज्यादा भएको हो। कोही पनि सभौतिकी अमरपुरमा जानसक्ने होइन र कसैले लानसक्ने पनि होइन, त्यसैले जीवन र जवानीको गीतवैशाखमै गाउन कविले सबैलाई प्रेरित गरेका छन्। ऋतुले उजाडेको प्रकृतिलाई फेरि उसैले आएर सजाउने हो। कविको आशय यसरी घनीभूत भएको छ:
बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन्
मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन्
कस्तुरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
हुन्नन् कैल्यै कुसुमवनमा प्रीतिका गीत बन्द
बोक्रा भनेको बोक्रा मात्र पनि होइन। बोक्रा अनेक गुणकारी तत्त्वले युक्त हुन्छन्। बोक्रा फेरिनु भनेको घाउमा खाटा बस्नु हो। समयभन्दा पहिले घाउ पुर्छु भनेर सकिंदैन। घाउ, समय सँग मौरी, रस, मधुपवन र सुन्तला अप्रासङ्गिक भएर पनि प्रासङ्गिक छन्। प्रकृतिको निरन्तरताभित्र विपर्याससँगको सम्बन्धमा समेत कुनै कृत्रिमता हुँदैन। ती कतै न कतै जीवन रसजस्तो मिल्न आइपुग्छन्। कति कति विषय छन् प्रकृतिको रहस्यभित्र। कवि घिमिरेको कविताको पहिलो सौन्दर्य रहस्यको यही पौष्टिक अभिव्यक्ति क्षमता नै हो। कविता सकिन्जेलसम्म लाग्छ कवि स्वयम् कस्तुरी हुन् र उनी आफ्नो काव्य सुगन्धलाई कतै प्रकृतितिर खोजिरहेका छन्। कविको चेतना त्यति मात्र पनि होइन, उनी कुसुम वनमा प्रीतिको गीत गाउने यात्रुहरूको निरन्तरता चलिरहने सत्यसँग आत्मिक भाव राख्छन्। वैशाख कविताको अन्तिम निष्कर्ष सृष्टिको निरन्तरतामा गीतको जीवन्तता नै हो। प्रकृतिको लयमा प्रकृतिले नै भरेको सुललित सङ्गीतले वैशाख कविताको आन्तरिक लय प्रवाहित भएको छ। यस लयमा जीवनका लाखौं अवसादहरूको विलय छ !
जसरी वैशाखको हरियालीमा अनेक उदासीको विलयन भएको छ !