धनगढी – शहजपुर–बोगटान सडक कालोपत्रेको काम धमाधम भइरहेको छ। तीन दशकदेखि स्तरोन्नति हुन नसकेको उक्त सडकको गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माणको कामले गति लिइरहेको हो।
दुई लेनमा विस्तार हुने उक्त सडक आगामी ३० महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पीआरएल कुमार जेभीले गरिरहेको छ। उक्त सडकका लागि २ अर्ब बजेट बिनियोजन गरिएको छ।
शहजपुर–बोगटान सडक योजना प्रमुख कल्पना अधिकारीले निर्माण कार्य सन्तोषजनक रुपमा भइरहेकाले निर्धारित समयमै सम्पन्न हुने दावी गरिन्। २०४४ सालबाट शुरु भएको शहजपुर–बोगटान सडकलाई पटक पटक नेताहरुले चुनावी नारा बनाउदै आएका थिए।
तत्कालिन समयमा कैलालीका दुई र डोटीका १७ गाविसका लागि ट्रयाक खोलिएको थियो। त्यसै बेलादेखिको साँघुरो कच्चि सडक कालोपत्रेका लागी पटक पटक शिलान्याश भएपनि हालसम्म पनि कालोपत्रे हुन सकेको थिएन।
भौतिक पुर्वाधार विकास मन्त्री रघुबिर महासेठ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, डोटीबाट निर्वाचित सांसद प्रेम आलेलाई लिएर प्रधाममन्त्री ओलीले शिलान्यास गरेको सडकको निर्माण कार्य धमाधम हुन थालेपछि स्थानीय वासिन्दामा सडक बन्ने आशा पलाएको छ। ५० किलोमिटर उक्त सडक कालोपत्रे सम्पन्न भएपछि कैलालीको चुरे, डोटीको जोरायल, बडीकेदार, बोगटान फुड्सील र केआइसिंह गाउँपालिकाका स्थानीयलाई यातायातमा सहज हुनेछ।