काठमाडौँ – प्राध्यापक डा. दिपक शाक्य, मोफसलमा शिक्षा क्षेत्रमा परिचित नाम हो। उनी वीरगञ्जका व्यवस्थापन संकायका एक्ला प्राध्यापक पनि हुन्।
पर्साको वीरगञ्ज महानगरपालिका–१८ मा जन्मेका शाक्यले गाउँकै सरकारी विद्यालयबाट पढाइ शुरु गरे। विसं २०३३ मा सरकारी विद्यालय माइस्थान विद्यापीठबाट कक्षा १० को पढाइ पूरा गरेका शाक्यले ठाकुरराम बहुमुखी क्याम्पसबाट २०३६ सालमा व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र (हाल दश जोड २)र स्नातक गरे।
शाक्यले २०४२ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरे। त्यतिबेलै उनी शिक्षकको उपस्थिति नहुँदा खाली भएको कक्षामा पढाउँथे। तिनै युवा सहायक प्राध्यापकदेखि प्राध्यापक हुँदै मोफसलका शिक्षा क्षेत्रका धरोहर बन्न सफल भएका छन् अहिले। शाक्यको वीरगञ्ज पब्लिक कलेज पनि मोफसलको मात्रै नभएर देशकै उत्कृष्ट कलेजका रूपमा स्थापित भइरहेको छ।
‘हाकिम बन्न छोडेर पढाउन लागेँ’
प्राध्यापक शाक्य पढाउने पेशालाई स्वच्छ ठान्छन्। त्यसैकारण विगत २४ वर्षदेखि शिक्षण पेशामा रमाइरहेका छन्। उनले प्रवीणता प्रमाणपत्र र स्नातक पढेको ठाकुरराम बहुमुखी क्याम्पस प्रमुख थिए, मोहनप्रसाद लाखे। उक्त क्याम्पसमा ‘बिजनेस ल’ पढाउने शिक्षकको अभाव थियो।
स्नाकोत्तरको पढाइ सकेर वीरगञ्ज गएका बेला डा. शाक्यलाई क्याम्पस प्रमुख लाखेले पढाउन भने। ‘म स्नातकोत्तर सकेर घर गएको थिएँ,’ उनी भन्छन्, ‘सरले खाली समयमा पढाइदिन भनेपछि पढाउन थालेँ।’ उनले पछि त्यही क्याम्पसमा सह–प्राध्यापकका रूपमा काम गर्न थाले।
डा. शाक्यलाई सरकारी, गैरसरकारी कार्यालय तथा संघ–संस्थामा रोजगारीका लागि अवसर नआएका होइनन्। सो क्रममा उनले कृषि औजार कारखानामा मार्केटिङ म्यानेजरको काम गरे। उक्त कारखाना सरकारी थियो। उनी त्यसबाट सन्तुष्ट हुन सकेनन्। एक हप्तामै जागिर छोडिदिए। ‘त्यसपछि पनि धेरै कम्पनीबाट अफर आएको थियो,’ डा. शाक्यले भने, ‘मैले शिक्षण पेशा नै रोजँे, रोजगारीलाई अस्वीकार गरिदिए।’
शिक्षण पेशा स्वतन्त्र पेशा लाग्दो रहेछ, डा. शाक्यलाई। उनी भन्छन्, ‘जागिर खाँदा आफूभन्दा ठूलोको चाकडी गर्नुपर्छ, सानोलाई पेल्नुपर्छ।’ शिक्षण पेशाप्रति पनि उनको आफ्नै मान्यता छ, ‘पढाउने सबै शिक्षक हुँदैनन् भने पढ्ने पनि सबै विद्यार्थी हुँदैनन्। सिकाउन र सिक्न जान्नुपर्छ।’
पब्लिकका लागि पब्लिक कलेज
तराईका जिल्लामा अझै पनि छोरीलाई घरबाहिर पठाएर पढाउने परम्परा कमै छ। छोरी मात्रै हैन, आर्थिक अवस्था कमजोर भएकाहरूको छोराले पनि बाहिर गएर पढ्न पाउँदैनन्। त्यतिबेला बाहिरका शहरमा पढेकालाई राम्रो विद्यार्थी भन्ने चलन पनि थियो। त्यही भ्रम चिर्नका लागि शाक्यले वीरगञ्जमा आफ्नै क्याम्पस स्थापना गरे। जसको नाम राखे, वीरगञ्ज पब्लिक कलेज।
आफ्नै कलेज खोल्दा डा. शाक्य ठाकुरराम बहुमुखी क्याम्पसको सहप्राध्यापक थिए भने हाल प्राध्यापक छन्। उनलाई ठाकुरराम बहुमुखी क्याम्पसमा केही निश्चित विषय पढाउन दिइएको छ। अन्य समयमा उनी आफ्नै कलेजमा पढाउनदेखि व्यवस्थापनमा व्यस्त हुन्छन्।
‘सरकारी कलेजमा केही सीमितता हुन्छन्। त्यसका कारण मैले आफैँ कलेज खोलेँ।’ उनी भन्छन्, ‘अझै पनि म ठाकुरराम क्याम्पसमै पढाइरहेको छु। जति समय दिनुपर्ने हो दिइरहेछु। अन्य समय आफ्नो क्याम्पसमा लगाउँछु।’ उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नका लागि कलेज स्थापना गरेको भन्दै हाल अहिले त्योअनुरूपको शिक्षा प्रदान गरिरहेको दाबी गरे।
डा. शाक्यले कलेज स्थापना गरेपछि आर्थिक अवस्थाका कारण छोराछोरीलाई बाहिर पढाउन नसक्ने परिवारले आफ्नो छोराछोरीलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा आर्जन गर्ने अवसर पाए। साथै, पढ्नका लागि बाहिर नपठाउने परम्पराका कारण पढाइबाट बञ्चित छोरीले समेत आफ्नै ठाउँमा पढ्ने अवसर पाए।
गाउँगाउँमा खुलेका निजी विद्यालयले समेत विद्यार्थी आकर्षित गर्न अनि आफूलाई आधुनिक देखाउन अंग्रेजी र अन्तर्राष्ट्रिय स्कूलको नाम राख्ने होडबाजी चलिरहेका बेला उनले भने आफ्नो क्याम्पसको नाम राखे, वीरगञ्ज पब्लिक कलेज। ‘सर्वसाधारणका छोराछोरीलाई सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कलेज स्थापना गरेको थिएँ,’ डा. शाक्य भन्छन्, ‘त्यसैकारण वीरगञ्ज पब्लिक कलेज नाम राखेँ।’
उनको क्याम्पसमा व्यवस्थापन संकायको मात्रै पढाइ हुन्छ। गुणस्तरीय, समयसापेक्ष र व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज स्थापना गरिएको उनको भनाइ छ। ‘एक सय २५ विद्यार्थीबाट शुरु गरिएको कलेजमा अहिले २ हजार ८ सय बढी विद्यार्थी पढिरहेका छन्,’ डा. शाक्य भन्छन्, ‘हामी आफ्नो उद्देश्यमा सफल भयौ कि जस्तो लाग्छ।’ यद्यपि, शिक्षा क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको उनले सुनाए।
वीरगञ्ज पब्लिक कलेजमा व्यवस्थापन संकायअन्तर्गत बीबीए, बीआईएम, बीबीएस, एमबीए, एमबीएस लगायतका विषय पढाइ हुँदै आएको छ। यस वर्षदेखि नयाँ कोर्स चार्टर्ड एकाउन्टेन्ट (सीए) र बीआईएम पनि शुरु भएको छ। छिट्टै होटेल व्यवस्थापन, टुर्स एन्ड ट्राभल्स म्यानेजमेन्ट विषय भित्र्याउने तयारीमा छन् डा. शाक्य।
‘मोफसलको उत्कृष्ट कलेज’
अझै पनि मोसफलका कलेजमा राम्रो पढाइ हुँदैन, काठमाडौँका कलेज मात्रै उत्कृष्ट हुन्छन् भन्ने सोचाइ कतिपयको छ। सकी नसकी पनि छोराछोरीलाई बाहिर पढाउनुपर्छ भन्ने सोच अभिभावकमा हावी हुन्थ्यो। तर, शाक्यले वीरगञ्ज पब्लिक कलेज स्थापना गरेपछि भने त्यो सोचाइमा नै परिवर्तन आएको छ।
यसका कारण वीरगञ्ज पब्लिक कलेज स्थापनाको २०औँ वर्षमा प्रवेश गर्नै लाग्दा मोफसलको उत्कृष्ट कलजको पहिचान बनाउन सफल भएको छ। प्रदेश २ मा व्यवस्थापन संकायमा उत्कृष्ट रहेको वीरगञ्ज पब्लिक कलेज एमबीएमा नेपालकै उत्कृष्ट तथा बीबीए र बीबीएसमा नेपालमा उत्कृट १० मा पर्छ। उनको कलेजले रेटिङ एन्ड र्याङ्किङ्ग अवार्ड २०१८ पनि प्राप्त गरेको थियो।
यसै वर्ष पूर्वाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकायमा निजी विद्यालयतर्फ उत्कृष्ट कलेजका रूपमा सम्मानितसमेत गरेको छ। उक्त सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेकी थिइन्।
पीएचडी गर्दै
शाक्य हाल भारतको मगध विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्दैछन्। ‘टेड्र टुरिजम् इन नेपाल’ भन्ने विषयमा उनले पीएचडी गर्न लागेका हुन्।
शिक्षासँगै समाजिक सेवामा
मोफसलको शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल वीरगञ्ज पब्लिक कलेजका सञ्चालक डा. शाक्य सामाजिक कार्यक्रममा समेत त्यत्तिकै सक्रिय छन्। नेपाल जेसिज १९९८ का राष्ट्रिय अध्यक्ष, रेयुकाइ नेपाल १९९४ का काठमाडाँै अध्यक्ष भइसकेका शाक्य हाल नेपाल हेमोपिलिया सोसाइटीका अध्यक्ष छन्।