वीरगंज – यहाँका निजी विद्यालयको बस चलाउने चालक तथा सहचालकको लागि पोशाक लगाउनुपर्ने नियम लागु भएको छ। आउँदो आइतवारदेखि निजी विद्यालयका चालक तथा सहचालकले ड्रेस कोडको नियम पालना नगरे कानुन बमोजिम कारवाही हुने बताइएको छ। पछिल्लो समय वीरगंज निजी विद्यालयका बसहरुका कारण गर्दा ट्राफिक व्यवस्थापनमा असर परेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चासो देखाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले प्रारम्भिक चरणमा सबै विद्यालयका चालक तथा सहचालकलाई प्रशिक्षण दिई सचेत बनाएर अगामी आइतवारदेखि छुट्टाछुट्टै पोशाक तथा पिठ्युमा स्कूलको नाम र पद लेखिएको पोशाक अनिवार्य रुपमा लगाउन निर्देशन दिइएको जानकारी दिनुभयो। ‘वीरगंजका ११ वटा विद्यालयका ६१ जना चालक तथा सहचालकलाई प्रशिक्षण दिएका छौ,’ उनले भने, ‘बजार क्षेत्रमा गाडी कहाँ रोक्ने, रोक्दा के कुरामा ध्यान दिने भन्ने बारेमा तालिम दिएका छौ।’ नियम पालना भेटिएमा कारवाही गर्न कुनै कसर बाँकी नराख्ने उनले प्रष्ट पारे।
वीरगंजमा प्याब्सन र एन प्याब्सन अन्तर्गत १ सयको हाराहारीमा निजी विद्यालय छन्। प्याब्सन पर्साका पदाधिकारी तथा साउथ जोन इंग्लिश बोर्डिग स्कूलका प्रिन्सिपल सरोज चौधरीले नियम लागु भएपछि आफुहरुलाई पनि सहज हुने बताए। ‘कुन चोकमा कुन विद्यालयको गाडी रोकिएको छ, कुन स्टाफले बच्चा पिकअप गर्दैछ भन्ने कुरा प्रहरीहरुलाई थाहा हुन्छ,’ उनले भने, ‘सवारी दुर्घटना नियन्त्रणका साथै थप प्रभावकारी र सुरक्षित हुन्छ।’ पछिल्लो समय वीरगंजमा निजी विद्यालयका बसका कारण दुर्घटना हुने क्रम बढेको छ।