काठमाडौं – अनिकेत खड्का (परिवर्तित नाम)ले शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) खोलेको ४ महिना भयो। कन्सलटेन्सीमा काम गरेको साडे ४ वर्षको अनुभव र काम गर्दा जोगाएको रकममा थोरबहुत थपथाप गरेर व्यवसाय शुरु गरेका अनिकेत अहिले तनावमा छन्।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर उनले आफ्नो व्यवसाय त शुरु गरे तर शिक्षा मन्त्रालयबाट स्विकृती भने पाएका छैनन्। ‘शिक्षा मन्त्रालयको स्विकृती लिन आवश्यक पर्ने सबै कागजपत्र तयार छ,’ अनिकेतले दुखेसो पोख्दै भने, ‘स्विकृती लिनका लागि आवेदन दिन भने पाएको छैन।’
कम्पनी रजिष्ट्रारमा सजिलै दर्ता हुने एजुकेशनल कन्सलटेन्सीलाई शिक्षा मन्त्रालयबाट स्विकृती लिन भने ‘लगन’ नै कुर्नुपर्छ। लामो समयसम्म स्विकृती आवेदन दिने समय नखुल्दा व्यवसायीहरु समस्यामा छन्। शिक्षा मन्त्रालयको स्विकृती नपाएका कन्सलटेन्सीले कुनै व्यवसायिक गतिविधी गर्न नपाउने प्रावधान छ।
शिक्षा मन्त्रालयको स्विकृती बेगर व्यवसाय सञ्चालन गरेको आरोपमा ३ वर्षअघि दर्जनौ व्यवसायीहरु जेल बस्नुका साथै अदालत धाएको देखेका अनिकेत कार्यालयमा स्विकृतीको प्रमाण पत्र नझुण्डाई काम शुरु गर्ने मुडमा छैनन्। ‘२ महिनादेखी घरभाडा पनि तिरेको छु, स्टाफलाई तलव पनि खुवाएकै छु, तर काम भने गर्न पाएको छैन्,’ उनले भने।
‘पुरानालाई पनि समस्या’
यता किरण बराल (परिवर्तित नाम)को व्यथा चाँहि अलि बेग्लै छ। उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई अष्ट्रेलीया पठाउदैँ आएका उनले आफ्नै कन्सलटेन्सी खोलेको २ वर्ष पुग्नै थाल्यो। अष्ट्रेलीयाबाट व्याचलर्स अफ अकाउण्टीङको पढाइ सकेर नेपाल फर्किएका उनले ८ महिनाजती काठमाडौंको एक कन्सलटेन्सीमा काम गरेपछि कन्सलटेन्सी खोलेका हुन्।
दुई वर्षसम्म उनले राम्रै व्यवसाय गरे। पछिल्लो समय भिईटि (भोकेसनल एजुकेशन एण्ड ट्रेनिङ) क्षेत्रमा भिसा पाउने विद्यार्थीको संख्यामा कमि आएसँगै किरणलगायत धेरैको व्ययसाय धर्मराएको छ। ‘भिइटीमा भिसा घटेपछि हामी साना व्यवसायीहरुलाई राम्रै मर्का परिरहेको छ,’ किरण भन्छन्, ‘हाइअर कलेज (उच्च शिक्षा अध्ययन गराउने क्याम्पस)को एजेन्सी नभएकाले काम गर्नै गाह्रो भइरहेको छ।’
एजेन्सीको लागि २–२० लाखसम्म घुस!
नेपालमा अष्ट्रेलीयाका भिईटि शैक्षिक संस्थाको एजेन्सी सहजै पाइने भएपनि हाइअर क्याम्पस र विश्वबिद्यालयको एजेन्सीको लागि भने गतिलै कसरत गर्दा पनि पाउन गाह्रो हुन्छ। ‘एजेन्सी त परको कुरा उनीहरुको प्रतिनीधीलाई भेट्न पाए ठुलो कुरा हो’ एक व्यवसायी भन्छन्, ‘पुराना स्वघोषित ठुला कन्सलटेन्सीको सिण्डीकेट नै चलिरहेको छ भन्दा पनि हुन्छ।’
प्रकृया पुर्याएर एजेन्सी लिनु असम्भवप्रायः नै रहेको केहि कन्सलटेन्सी व्यवसायीहरुको कथन छ। यद्दपी पैसा र शक्तिको चलखेल गर्न सक्ने हो भने एजेन्सी पाउन सकिने उनीहरु बताउछन्। ‘मैले नै ५ लाख तिरेर ३ वटा हाइअर क्याम्पसको एजेन्सी किनेको छु,’ बागबजारमा कन्सलटेन्सी सञ्चालन गर्दै आएका एक व्यवसायीले नाम नखुलाउने शर्तमा भने, ‘१५–२० लाख खर्च गर्ने हो भने बिश्वबिद्यालयको पनि मिल्दो रहेछ।’
‘ठुला व्यवसायीहरुको चलखेल’
माघमा अष्ट्रेलीयाको एक बिश्वबिद्यालयका प्रतिनिधी नेपाल आएका थिए। लाजिम्पाटको एक तारे होटलमा बसेका उनले नेपालमा करिव २ साता बिताए। त्यसविचमा उनले केहि गिने–चुनेका व्यवसायीहरुसँग मात्र भेटघाट गरे। पुतलीसडक स्टार मलस्थित रहेको एक कन्सलटेन्सीका सञ्चालकले भने, ‘मैले धेरै पटक भेट्ने प्रयास गरे तर उनले भेट्नै चाहेनन्।’
व्यवसाय प्रवद्र्धनका लागि बिश्वबिद्यालय र हाइअर क्याम्पसका प्रतिनीधीहरु बेला–बेलामा नेपाल आइरहन्छन्। नेपाल आउने प्रायः प्रतिनीधीहरु आफ्ना नेपाली एजेण्टहरुले आयोजना गर्ने सेमीनार र शैक्षिक मेलामा मात्र झुल्किन्छन्। ‘एअरपोर्टदेखी नै उनीहरु ठुला कन्सलटेन्सीका सञ्चालकहरुको कब्जामा हुन्छन्,’ एक कन्सलटेन्सी सञ्चालकले भने, ‘बिहान ब्रेकफास्टदेखी बेलुका रक्सी र डिनरसम्म उनीहरुले नछोड्दो रहेछन्।’
उनी थप्छन्, ‘अरुले भेटेर एजेन्सी लिने वातावरण नबनोस भनेर उसलाई एकछिन छोड्दैनन्।’ केहि पुराना व्यवसायीहरुले विश्वबिद्यालय तथा हाइअर क्याम्पसका प्रतिनिधीहरुलाई विभिन्न प्रलोभन र प्रभावमा पारेर आफुँखुशी गर्दै आएका छन्।
‘किन यस्तो गर्छन ठुला व्यवसायीहरु?’
अध्ययनका लागि विद्यार्थी पठाएवापत कन्सलटेन्सीले गतिलो कमिसन पाउने गरेका छन्। यहि कमिसन नै कन्सलटेन्सीको मुख्य आयश्रोत हो। भिसाको दृष्टिकोणले भिइटिभन्दा हाइअर क्याम्पस र विश्वबिद्यालय निकै सुरक्षित मानिन्छ।
भिइटिको तुलनमा हाइअर क्याम्पस र विश्वबिद्यालयको शैक्षिक र भौतिक गुणस्तर राम्रो भएकाले पनि यस्ता शैक्षिक संस्थाप्रति विद्यार्थीहरुको आर्कषण बढी देखिन्छ। ‘हाइअर क्याम्पस र विश्वबिद्यालयको एजेन्सी केहि प्राय ठुला कन्सलटेन्सीहरुसँग मात्र छ,’ बानेश्वरस्थित एक कन्सलटेन्सी व्यवसायी भन्छन्, ‘अरु कन्सलटेन्सीहरुले एजेन्सी पाउँदा उनीहरुको व्यवसायीक रुपमा असर पर्छ।’ यहि व्यवसायिक स्वार्थका कारण ठुला व्यवसायीहरुले हाइअर क्याम्पस र विश्वबिद्यालयका प्रतिनिधीलाई प्रभावित गरेर आफुँअनुकुल चलाउने गरेको उनको ठम्याई छ।
(एजुकेशनल कन्सलटेन्सी व्यवसायीहरुसँगको कुराकानीमा आधारित)