काठमाडौँ - युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा परिषद् स्थापना गर्याे। परिषदमार्फत ‘युवा उद्यम कार्यक्रम’ अर्को वर्ष २०७३/७४ देखि सुरु गरियो।
स्थानीय स्तरमा पाइने स्रोतसाधन प्रयोग गरी सञ्चालन हुनसक्ने उद्यमहरू पहिचान गरी युवालाई स्थानीयस्तरमा व्यवसाय तथा उद्यमशीलतातर्फ आकर्षित गर्ने, स्वरोजगार बनाउने र देशलाई आत्मनिर्भर उन्मुख गराउने उद्देश्यसहित ‘युवा उद्यम कार्यक्रम’ सञ्चालन गरिएको थियो।
कार्यक्रममा सहभागिताका लागि एकै वडाका ५ वा १० जना युवाको समुह (१६ देखि ४० वर्ष उमेर समूहका) हुनुपर्ने, ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने र उनीहरु बेरोजगार हुनुपर्ने नियम बनाइएको छ। सुरुको वर्ष २ सय ४० संसदीय निर्वाचन क्षेत्रमा १/१ वटा ‘युवा उद्यम कार्यक्रम’ सञ्चालन गरिएको थियो।
राष्ट्रिय युवा परिषदका उपसचिव तथा सूचना अधिकारी ध्रुवराज पौडेलका अनुसार उक्त अवधिमा १२ करोड रुपैयाँ ती समूहलाई ५ लाख रुपैयाँका दरले ऋण उपलब्ध गराइएको थियो।
त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा पनि युवा उद्यम कार्यक्रम अन्तर्गत ९ करोड रुपैयाँ वितरण गरिएको थियो। सो अवधिमा पनि प्रत्येक निर्वाचन क्षेत्रमा युवा समूहलाई पाँच/पाँच लाख रुपैयाँका दरले ऋण उपलब्ध गराइएको थियो। त्यसको २० प्रतिशत अर्थात १ लाख रुपैयाँ समूहले नै लगानी गर्नुपर्थ्यो।
अब समन्वय मात्रै
यसअघि आफ्नै युवा उद्यम कार्यक्रम सञ्चालन गर्दै आएको युवा परिषदले अब भने त्यसका लागि समन्वय मात्रै गर्ने भएको छ। कार्यक्रमका लागि चालू आर्थिक वर्ष २०७५/७६ मा सरकारले छुट्टै बजेट नछुट्याएको राष्ट्रिय युवा परिषदका सूचना अधिकारी पौडेलले बताए।
‘यसपटक युवा उद्यम कार्यक्रमका लागि छुट्टै बजेट छैन,’ उनले भने, ‘यस वर्षदेखि छुट्टै नियमावली बनाएर युवा समूहलाई ऋण उपलब्ध गराइने छ।’ त्यसका लागि अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको छ। उक्त कार्यविधिमार्फत युवा समूहले शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म लिन सक्नेछन्।
उक्त कर्जाको भुक्तानी अवधि ५ वर्ष हुनेछ भने २ प्रतिशत बढी नहुने गरी बैंक तथा वित्तीय संस्थाले ब्याज निर्धारण गर्न सक्नेछन्। त्यसका लागि सक्कल प्रमाणपत्र धितो राख्न सकिने छ। उक्त ऋण लिएर व्यवसाय गर्दा बिमा अनिवार्य गरिएको छ। सरकारले नै व्यवसायको बिमा गरिदिने छ भने २५ प्रतिशत प्रिमियम समूहले तिर्नुपर्ने छ।
राष्ट्रिय युवा परिषदका सूचना अधिकारी पौडेल भन्छन्, ‘अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएपछि हामीले सञ्चालन गर्दै आएको युवा उद्यम कार्यक्रम पनि त्यसमा समेटिएको छ। एउटै प्रकारको कार्यक्रम भएकाले हामीले छुट्टै सञ्चालन नगरेका हौँ।’
न्यून निवेदन
राष्ट्रिय युवा परिषदले सञ्चालन गर्दै आएको युवा उद्यम कार्यक्रमको उद्देश्य स्थानीय स्तरमा पाइने स्रोत साधन प्रयोग गरी सञ्चालन हुन सक्ने उद्यमहरू पहिचान गर्दै युवालाई स्थानीय व्यवसाय तथा उद्यमतर्फ आकर्षित गरी स्वरोजगार बनाउने र देशलाई आत्मनिर्भर उन्मुख गराउनु थियो। त्यसका लागि पाँच लाख रुपैयाँ ऋण सहयोग गरिन्थ्यो।
अहिले अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएपछि परिषदले सञ्चालन गर्दै आएको कार्यक्रमको उद्देश्य त्यसैमा समेटिएको छ। उक्त कार्यविधिमार्फत युवा समूहले प्रक्रिया पुर्याएर ७ लाख रुपैयाँसम्म सहुलियत कर्जा प्राप्त गर्न सक्छन्।
तर, त्यसमा न्यून मात्रामा मात्रै निवेदन परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। उनले पुस मसान्तसम्ममा न्यून मात्रामा मात्रै निवेदन परेको भन्दै संख्या खुलाउन चाहेनन्।
निजी बैंकका कारण उक्त कार्यक्रम प्रभावकारी हुन नसकेको उनले बताए। ‘निजी बैंकहरूले सहुलियत कर्जा दिन आनाकानी गरिरहेका छन्,’ उनले भने, ‘कर्जाका लागि पुगेका युवा समूहलाई पनि त्यस्तो व्यवस्था छैन भन्दै निजी बैंकले फर्काउने गरेको गुनासो आएको छ।’
केही युवा समूहले शिक्षित युवा स्वरोजगार कर्जा लिए पनि उनीहरूले निजीबाट नभई सरकारी बैंकबाट मात्रै कर्जा लिएको उनले बताए। निजी बैंकहरूले शिक्षित युवा स्वरोजगार कर्जा वितरण गर्न आनाकानी गरेको विषयलाई राष्ट्र बैंकले गम्भीर रूपमा लिएको र त्यस विषयमा उनीहरूलाई बोलाएर समाधान खोजिनेसमेत नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेलले जानकारी दिए।
अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएपछि राष्ट्रिय युवा परिषदले विगत झैँ प्रत्येक निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम भने सञ्चालन गर्ने छैन।
तर, २ वर्षमा फ्रिज बजेट (खर्च हुन नसकेको)मार्फत युवा उद्यम कार्यक्रमअन्तर्गत केही समूहलाई ५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ ऋण दिने परिषदले जनाएको छ। त्यसका लागि परिषदले केही महिनाअघि सार्वजनिक सूचना आह्वान गरेको थियो।
उक्त सूचनाका लागि देशका विभिन्न जिल्लाका युवा समूहले निवेदन दिएका छन्। तीमध्ये केन्द्रीय उद्यम छनाेट समितिले १८ समूहलाई छनाेट गर्ने राष्ट्रिय युवा परिषदका सूचना अधिकारीले पौडेलले बताए।
परिषदले युवा उद्यम कार्यक्रम सञ्चालन गर्दा नेक्सोन सहकारीले ऋण उपलब्ध गराउँदै आएको थियो युवा समूहलाई। सो क्रममा केही युवा समूह सम्पर्कमा नआउँदा, केही समूहका कागजातपत्र नपुग्दा, केहीसँग सम्झौता नहुँदा रकम खर्च हुन सकेको थिएन।
‘विगत २ वर्षमा युवा उद्यम सञ्चालन गर्दा ९० लाख रुपैयाँ खर्च हुन सकेको थिएन। त्यो चाहिँ यो चालू आर्थिक वर्ष (२०७५/७६) मा युवा समूहलाई दिन्छौँ।’ पौडेलले भने, ‘त्यसका लागि छनाेट प्रक्रिया अन्तिम चरणमा छ। केन्द्रीय उद्यम छनाेट समितिको बैठक बसेर यही (चैत्त) महिनाको अन्तिमसम्म टुङ्ग्याउँछौँ।’
४ सय बढी युवा समूह व्यवसायमा
युवाले नेपालमै उद्यम व्यवसाय गरी आफू पनि आत्मनिर्भर हुने र क्रमशः राष्ट्रलाई नै आत्मनिर्भर उन्मुख बनाउने उद्देश्यका साथ ३ वर्षअघि राष्ट्रिय युवा परिषद् स्थापना गरिएको थियो। अर्को वर्षदेखि युवा उद्यम कार्यक्रम सञ्चालन गरिएको थियो।
हालसम्म करिब ४ सय बढी समूहलाई युवा उद्यम कार्यक्रमअन्तर्गत ऋण सहयोग गरी व्यवसायमा लगाइएको परिषदले जनाएको छ। आर्थिक वर्ष २०७३/७४ मा २ सय र आर्थिक वर्ष २०७४/७५ मा २ सय गरी ४ सय युवा समूहलाई व्यवसायमा संलग्न गराइएको पौडेलले जानकारी दिए।
त्यसअनुसार करिब ३ हजारदेखि ४ हजार युवा प्रत्यक्ष रूपमा व्यवसायमा लागेर आत्मनिर्भर भएको उनको दाबी छ। उक्त कार्यक्रम लक्ष्यअनुसार सफल भएको सूचना अधिकारी पौडेलको दाबी छ। उनका अनुसार युवा उद्यम कार्यक्रमअन्तर्गत छनाेट भइ सहुलियत ऋण पाएका युवा समूहहरू विभिन्न व्यवसायमा संलग्न छन् र राम्रो आम्दानी पनि गरिरहेका छन्।
‘रकम पनि सानो छ। त्यसैले ठूलो व्यवसाय गर्न सकिँदैन।’ उनले भने, ‘जति बजेट हामीले दिएका छौँ, त्यसले युवा समूहहरूले सदुपयोग गर्दै राम्रो प्रतिफल लिइरहेका छन्। त्यसैकारण उनीहरू ठूलो व्यवसाय गर्न खोजिरहेका छन्। त्यसका लागि १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइदिन माग गरिरहेका छन्।’
युवा समूहले कृषि तथा पशुपक्षीमा आधारित उद्यम व्यवसाय, बन (जडीबुटी वन पैदावार) मा आधारित उद्यम, विज्ञान तथा सूचनाप्रविधि र सञ्चारमा आधारित उद्यम गरिरहेको परिषदले जनाएको छ।
त्यस्तै कतिपय युवा समुहले पर्यटन प्रवर्द्धन (होटल, होमस्टे, रिसोर्ट)मा आधारित , निर्माणमा आधारित, हस्तकला, मूर्तिकला, चित्रकलामा आधारित र संस्कृति, साहित्य सृजना, गीत संगीतमा आधारित व्यवसाय पनि सञ्चालन गरिरहेका छन्।
कसरी ‘युवा उद्यम कार्यक्रम’मा सहभागी हुने?
‘युवा उद्यम कार्यक्रम’का लागि राष्ट्रिय युवा परिषदले ३५ दिने सूचना जारी गर्दछ। उक्त सूचना परिषदको
www.nyc.gov.np मा समेत राखिन्छ। साथै, परिषदले जिल्ला युवा समितिको कार्यालयलाई पनि जानकारी गराउने गरेको छ। आवश्यकताअनुसार परिषदले १५ दिनसम्म म्याद थप समेत गर्न सक्दछ।
युवा समूहबाट निवेदन परेपछि केन्द्रीय उद्यम छनाेट समितिले सिफारिस गरेका प्रस्ताव कार्यकारी समितिले निर्णय गरी जिल्ला युवा समितिमा सम्झौता र कार्यान्वयनका लागि पठाइने गरिन्छ।
युवा विकासका लागि राष्ट्रिय युवा परिषदले लिएको दीर्घकालीन (१० वर्षे रणनीति (युथ भिजन):
- गुणस्तरीय र व्यावासयिक शिक्षा
- रोजगारी, उद्यमशीलता र सीप विकास
- स्वास्थ्य र सामाजिक सुरक्षा
- युवा परिचालन, सहभागिता र नेतृत्व विकास
- खेलकुद र मनोरञ्जन