– यादव थपलिया
नेपाली कांग्रेस अहिले तीन प्रकृतिको द्विविधामा छ। पहिलो, कांग्रेसको जुन वैचारिक धरातल खासगरी लोकतन्त्रवादी धरातलमा प्रस्टसँग र व्यावहारिक दृष्टिले लागू गर्न सक्ने गरी अघि बढ्न सकेको छैन। यसको स्पष्ट अर्थ हो– नेपाली कांग्रेस लोकतान्त्रिक विचार र पद्धतिमा हिँडेको छैन। विशेषगरी कांग्रेसले अंगिकार गरेको विचारअनुरूप पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने, लोकतान्त्रिक समाजवादको अवधारणालाई वर्तमान अवस्थामा किन र कति सान्दर्भिक छ र कसरी व्यवहारमा रूपान्तरण गर्न सकिन्छ, यही समाजवादले नै मुलुक र जनताको हित गर्न सक्छ भन्ने विषयमा नेपाली कांग्रेसमा अलमल मात्र होइन, लोकतान्त्रिक समाजवादलाई समय सान्दर्भिक ढंगले अध्यावधिकसमेत गर्न सकेको छैन।
हालै सम्पन्न महासमिति बैठकले नै यो वैचारिक द्विविधा र अलमलको अन्त्य गरेर एउटा प्रस्ट र प्रखर समय सान्दर्भिक लोकतान्त्रिक समाजवादी विचारको चिन्तन र धारलाई अगाडि ल्याउनु पथ्र्यो। तर, यस वैचारिक मन्थनपट्टि कांग्रेस महासमिति बैठक जाँदै गएन, यस कार्यमा चुक्यो।
दोस्रो, मुलुक संघीयतामा गएको छ। संघीयताको स्वामित्व लिन लोकतान्त्रिक समाजवादी विचार अँगालेको एउटै मात्र पार्टी नेपाली कांग्रेस अग्रसर हुनुपथ्र्यो, अग्रसरता लिनुपथ्र्यो। किनभने, संघीयताको मूलभूत मर्म, आदर्श र सिद्धान्त भनेको लोकतन्त्र हो। पूर्ण उदात्त स्वतन्त्रता नदिईकन ठीकसँग संघीयता चल्दैन। केन्द्रले अधिकार कब्जा गर्ने र खटाई–खटाई किस्ताबन्दीमा प्रदेश र स्थानीय तहलाई अधिकार दिने प्रक्रियाबाट संघीयताले पूर्णता पाउन सक्दैन, न त यसको विकास नै हुनसक्छ। प्रदेशलाई पूर्ण अधिकार दिँदा अधिकारको दुरुपयोग हुन्छ कि? सुरक्षाको अधिकार दिँदा देश टुक्रिने पो हो कि? भन्ने आशंका गरिरहने हो भने फेरि संघीयता लागू गर्नुको कुनै अर्थ र औचित्य हुँदैन। संघीयता पूर्णरूपले चिरस्थायी भएर फस्टाउनका लागि उदात्त भावनाले अधिकारको बाँडफाँट हुनुपर्छ। संघीयतामा कुनै जाति, वर्ग र क्षेत्रले मुलुकको अहित नहुने सीमासम्म चाहेको अधिकार पाउनै पर्छ। सबैले आफ्नो हित अनुकूलको अधिकार पाएका छाँै भन्ने अनुभूति हुनु पनि संघीयताको मूलभूत उद्देश्य र मर्म हो। हिजो संघीयता ल्याउनु गलत थियो वा ठीक थियो भनेर अब बहस गर्ने समय छैन। ठीक वा गलत जे भए पनि मुलुक संघीयताको बाटोमा अघि बढिसकेको छ। त्यसैले अब संघीयताको सिद्धान्त, उद्देश्य र मर्मअनुसार काम गर्नैपर्छ। यदि संघीयताको सिद्धान्त र मर्मअनुसार मुलुकका शासक वर्ग तथा नेताहरू हिँड्न तयार हुँदैनन् भने मुलुक चल्न सक्दैन। खासगरी शासक वर्ग यही अलमलमा रहिरहने हो भने झनै मुलुक चल्न सक्दैन। त्यसैगरी प्रमुख प्रतिपक्षीका रूपमा रहेको नेपाली कांग्रेस पनि संघीयताको सिद्धान्त र मर्ममा प्रस्ट हुनु जरुरी छ। तर, उसले यस दिशामा प्रस्टताका साथ अघि बढ्ने लक्षणसमेत देखाएको छैन। तेस्रो कुरा चाहिँ नेपाली कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह र धर्मको स्पष्टतामा उसको उपस्थितिविहीनता देखिएको छ। नेपाली कांग्रेससँग अहिले प्रतिपक्षको हैसियतबाट संसद्मा ६० जना सांसद छन् भन्नेसमेत कसैलाई हेक्का नै नभएको जस्तो अवस्था देखिएको छ। सत्तारूढ दलका सांसदले त प्रधानमन्त्रीले जे जे भन्छन्, त्यसैमा ताली बजाए हुने भइगयो, यस विषयमा संसद्मा उपस्थित हुनु र नहुनुले समेत खासै अर्थ नराख्ने वा तात्विक अन्तर नपर्ने देखिएको छ। तर, प्रतिपक्षको हैसियतबाट नेपाली कांग्रेसले त संघीय संसद्, प्रादेशिक संसद् र स्थानीय तहमा समेत एउटा जुझारु सहभागिता देखाउनुपर्ने थियो, त्यहीअनुरूप आफ्ना सांसद र स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षित बनाउनुपर्ने थियो। नेपाली जनताले नेपाली कांग्रेसलाई एउटा गतिलो र लोकतान्त्रिक प्रतिपक्षको भूमिकामा देख्न पाउने आश पनि गरेकै हो। तर, यी तीनवटै भूमिकामा नेपाली कांग्रेस पछि परेको छ, पछि परेको मात्र होइन कि उसको अस्तित्वसमेत न्यून हुँदै गएको देखिन्छ। गम्भीर रूपले हेर्ने हो भने कांग्रेस यसरी पछि पर्नुमा केही खास कारणहरू छन्। कांग्रेसको मूल नेतृत्वले मुलुक र जनताको हितभन्दा व्यक्तिगत हित र स्वार्थलाई प्राथमिकतामा राख्नुले नै पार्टी दिशाहीनता र सिद्धान्तविहीनताको अवस्थामा पुगेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाको अहिलेको प्रमुख प्राथमिकता भनेको ‘आफ्नी सासु जापानकी राजदूत प्रतिभा राणालाई पदमै टिकाइराख्नु’भएको छ। मुलुकका ठूला आयोजना निर्माणमा सरकारले आफूसँग सल्लाह गरोस्, सकेसम्म नियुक्तिहरूमा पनि सल्लाह गरोस् भन्ने मानसिकता देउवामा देखिन्छ। यसबाहेक कांग्रेसमा रहेका वर्तमान नेतृत्वमध्ये झन्डै ८० प्रतिशत नेतृत्वको विशेष चासो कांग्रेसको प्रभाव घट्नु वा बढ्नुसँग देखिँदैन।
अहिलेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र ठूला ठूला नेताहरू भएको तर संगठन र कार्यकर्ता नभएको, नयाँ कार्यकर्ता आकर्षित गर्न नसकेको एउटा ‘झुण्ड’जस्तै कांग्रेस नेताहरूको एउटा ‘झुण्ड’ पनि नेपाली कांग्रेसको केन्द्रीय संगठनमा कुण्डली मारेर बसेको छ। र, यी नेताहरूमा यसभन्दा अघि बढेर मुलुक र जनताका लागि केही नयाँ गर्छु भन्ने कुनै महत्वाकांक्षासमेत देखिँदैन।
एकपटक मन्त्री भएपछि कुनै नेतामा प्रधानमन्न्त्री बन्ने महत्वाकांक्षा देखियो भने पनि त्यसबाट मुलुक र जनताका निम्ति केही काम होला कि भनेर सोच्न सकिन्थ्यो। तर, त्यस्तो महत्वाकांक्षा बोकेका नेताहरू कांग्रेसमा देखिएका छैनन्। बरु आजसम्म जेजति अर्थोपार्जन गरिएको छ, घर तथा गाडी जोडिएको छ, त्यसैलाई आफ्ना सन्तान–दरसन्तानलाई जोगाएर राखिदिने र थप केही आर्जन भइहाल्यो भने त्यसलाई चिट्ठा परेको सम्झिएर अगाडि बढ्ने अधिकांश नेतामा जुन मानसिकता देखिएको छ, यही नै कांग्रेसको मूल बाधक तत्व हो र यसैले नेपाली कांग्रेसलाई विचार र कार्यक्रम शून्य बनाएको छ। लोकतन्त्रमा प्रतिपक्षी भनेको सरकारको लगाम हो। त्यो लगाम ढिला भयो भने सरकार लगामविनाको घोडाजस्तै अनियन्त्रित हुन पुग्छ। प्रतिपक्षीका मुख्य नेताले यही कुरालाई बिर्सिंदा सरकार अहिले अनियन्त्रितजस्तै देखिन्छ। प्रतिपक्षीका मुख्य नेता शेरबहादुर देउवा सासुको पद थमौती र विगतमा सरकारबाट डा. गोविन्द केसीको अनशन तोड्नमा पनि प्रयोग भए। त्यतिखेर प्रधानमन्त्रीलाई भेटेलगत्तै देउवाले केसीको अनशन स्थल पुगेर अनशन तोड्न आग्रह गरेका थिए। देउवाले नभनेको भए केसीले अरू दुई दिन अनशन तोड्दैनथे, सरकार निहुरिएर डा. केसीसँग वार्ता गथ्र्यो। यसैगरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका विषयबाट समेत कांग्रेसले हात झिक्यो वा खुट्टा छोड्यो। केहि समयअघिमात्र सरकारबाट भएको संवैधानिक नियुक्तिमा समेत कांग्रेसले लत्तो छोडेको छ। सरकारले संवैधानिक निकायमा गरेको एकलौटी सिफारिसमा कांग्रेसले चुँसम्म गरेन। यस्तै सरकारले प्रमुख निर्वाचन आयुक्त नियुक्तिको घोषणा गर्दा पनि कांग्रेसले मौनता साँध्यो।
सरकारका यी यावत् एकलौटी कार्यलाई कांग्रेसले मौन सहमति दिँदै आउनु भनेको नेपाली कांग्रेसका नेताले यस पार्टीलाई मृत्युपथमा अघि बढाउनु नै हो।
तर, समयमै कांग्रेस नेतृत्वमा पार्टीको यो मृत्यु बोध हुन सकेन भने भविष्यमा उनीहरू एउटा सानो झुण्डबाहेक अरू केही हुन सक्दैनन्। अब नेपाली कांग्रेस पार्टीको भविष्यलाई हेर्ने हो भने यसमा नयाँ ऊर्जा र विचार भएका मानिसहरू आउनसक्ने वातावरण पटक्कै बन्न सकेको छैन। अहिले कांग्रेस आफ्नो महाधिवेशनको तयारीमा जुट्न थालिसकेको छ। तर, यसमा ‘चेस’को खेलजस्तो कुन नेताले कसलाई कसरी ‘माथ’ दिने भन्ने मात्र ध्याउन्न देखिन्छ। वर्तमान सभापति शेरबहादुर देउवा प्यानल र कोइराला परिवारको प्यानल नै आगामी महाधिवेशनका प्रमुख प्रतिस्पर्धी हुने पक्कापक्की जस्तै छ। तर, कोइराला परिवार, रामचन्द्र पौडेल र कृष्ण सिटौलासमेत एकै ठाउँमा जबसम्म उभिँदैनन्, तबसम्म देउवालाई सभापतिबाट कसैले हटाउन र हराउन सक्दैन भन्नेमा देउवा ‘प्यानल’ ढुक्क छ। कोइराला परिवारबाट सभापतिको उम्मेदवारी आएको खण्डमा रामचन्द्र पौडेललाई जसरी भए पनि सभापतिमा लड्न तयार गर्ने, कोइराला परिवार र रामचन्द्र पौडेल मिल्ने परिस्थिति बन्यो भने (जुन सम्भावना अहिलेसम्म बनेको छैन) कृष्ण सिटौलालाई बलशाली ढंगले महाधिवेशनको चुनावी मैदानमा उतार्ने देउवा प्यानलको रणनीति देखिन्छ। देउवा प्यानलको यो रणनीतिले देउवालाई कांग्रेसको सभापति त बनाउला तर देउवाको सभापतित्वबाट नेपाली कांग्रेसको वैचारिक, सैद्धान्तिक र सांगठनिक रूपान्तरण भने हुन सक्दैन। अहिले देउवाको सभापतित्वबाट चलेको कांग्रेस पार्टीको जसरी रूपान्तरण हुन सकेको छैन, त्यसरी नै देउवा पुनः सभापति बन्दा पनि कांग्रेसमा तात्विक भिन्नता वा रूपान्तरण हुन सक्दैन। बरु जनतामा यसको साख अरू कमजोर भएर जानेछ। वर्तमान समयमा नेपाली कांग्रेसका केही नेताहरूमा एउटा अर्को भ्रमले पनि जरा गाड्न थालेको देखिन्छ। त्यो के हो भने, कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’प्रति नरम दृष्टिकोण अपनाएर अथवा ‘विप्लव’को आलिंगनमा बाँधिएर सत्तासीन नेकपासँग लड्ने ! दार्शनिक र वैचारिक सोचको दृष्टिकोणबाट एउटा लोकतान्त्रिक पार्टीका नेताहरूमा देखिएको यो विचलन अत्यन्तै खतरनाक हो। हिजो ‘माओवादी’ पार्टी र त्यसका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राज्यले गरेको सहमति र सम्झौताले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। सत्य निरुपण तथा मेलमिलाप आयोगको टुंगो अहिलेसम्म लाग्न सकेको छैन। यसका कारण अन्तर्राष्ट्रिय जगत्ले नेपाललाई पूर्णतः बेवास्ता गर्ने अवस्था सिर्जना भएको छ। दार्शनिक दृष्टिकोणबाट मुलुकमा फेरि एउटा हिंसात्मक शक्ति उदाउन आँटेको छ। यो शक्ति पूर्वमाओवादी पार्टीकै एउटा चोइटो हो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अहिले नेकपा विप्लवका कार्यकर्तालाई धमाधम पक्राउ गर्ने र विप्लवले पनि मुलुकमा हिंसात्मक गतिविधि बढाउँदै लैजाने स्थिति बन्दै गएको छ। हिजो प्रचण्डको नेतृत्वमा जुन हिंसात्मक गतिविधि भएको थियो, अहिले विप्लवले पनि गरेको त्यही नै हो। हिजो भएका गल्तीको माफी नमागी, सत्य निरुपणलाई नटुङ्ग्याई प्रचण्ड सत्ताको भागीदार हुने र अहिले त्यही गतिविधि गर्न शुरु गरको विप्लवचाहिँ आतंककारी हुने राज्यको दोहोरो मापदण्ड भने निश्चिय पनि तर्कसंगत विषय हुँदैन। उद्देश्यका दृष्टले हेर्ने हो भने हिजो प्रचण्डसँग पनि सत्ताप्राप्तिबाहेक कुनै उद्देश्य देखिएन, अहिले विप्लवसँग पनि त्योभन्दा पृथक् उद्देश्य देखिँदैन।
त्यसैले नेपाली कांग्रेसले मुलुक र जनताका निम्ति साँच्चै केही गर्ने हो भने वैचारिक, व्यावहारिक र कार्यगत प्रस्टता आफ्नै बलबुताबाट गर्नुपर्ने हो, अर्काको बैशाखी टेकेर होइन। त्यसका लागि माथि उल्लिखित तीन प्रकारका द्विविधाबाट मुक्त भएर स्पष्टताका साथ आउनुपर्छ। एउटा गतिलो र भरपर्दो प्रजातान्त्रिक प्रतिपक्षको भूमिका निर्वाहका निम्ति स–साना झीनामसिना स्वार्थलाई परित्याग गर्नुपर्छ। अन्यथा पार्टीको भविष्य त्यति सुखद हुने छैन।