काठमाडौँ - राप्ती नगरपालिकाका सात पर्यटकीय स्थललाई एकापसमा जोडेर पर्यटन प्रवर्द्धनको काम शुरू गरिएको छ। नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न लागिएको हो।
नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ। त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागिश्वरी मन्दिरलाई व्यवस्थित गरिँदैछ।
जिल्लाका विभिन्न क्षेत्र अवलोकन गर्न सो स्थल प्रभावकारी हुनेछ। सोही ठाउँबाट पैदलयात्रा गर्दै पुगिने अनेमङ भन्ने ठाउँमा विशाल बौद्ध विहार बनाइँदैछ। लामाले सो ठाउँ बुद्ध धर्मावलम्बीको आस्थाको धरोहरको केन्द्र बनाइने बताए। अनेमङबाट उत्तरतर्फ जिल्लाको अग्लो ठाउँ चितवनसहित छिमेकी सबै जिल्ला सहजै अवलोकन गर्न सकिन्छ।
मन्दिरसम्म जानका लागि पाँच सय मिटर सिढी बनाउने र रात बिताउनका लागि संरचना निर्माण गर्ने तयारी गरिएको छ। यसको नजिकै नोकु गुफा रहेको भन्दै उनले सो गुफाको सबै क्षेत्र अवलोकन गर्न दिनभर लाग्ने बताए। गुफालाई व्यवस्थित गरेर पर्यटकीय संरचना निर्माण गरिने लामाको भनाइ छ।
राप्ती नगरपालिका–४, भवानीपुरमा पर्या पर्यटन प्रवर्द्धनका लागि काम थालिने भएको छ। सोही क्षेत्र नजिकै नागदह र नागको मूर्ति तथा जातीय सङ्ग्रहालय र उद्यान निर्माण गरिने भएको छ।
वडा नम्बर ९ मा बाह्रै महीना गुलाफ फूल फुल्ने गर्दछ। वनको बीचमा रहेको सो रमणीय क्षेत्रमा पानीका तालतलैया पनि रहेका छन्। सातवटै स्थानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ। हालसम्म चार ठाउँको प्रतिवेदन तयार भइसकेको भन्दै उनले सबै काम सम्पन्न गर्न करीब रू. २ अर्ब लाग्ने अनुमान रहेको बताए।
नगरपालिका, प्रदेश सरकार र संघीय सरकार मिलेर राप्तीमा सात परिपथ निर्माण गर्न सकेमा देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनाइएको छ। राप्तीको सात परिपथलाई सौराहा, लुम्बिनी, काठमाडौँ र पोखरासँग जोड्न सकिने छ।
क्षेत्रीय होटलसँग चितवनका अध्यक्ष सुमन घिमिरेले राप्तीमा पर्यटन प्रवर्द्धन गर्न सकिएमा यहाँ आउने पर्यटकको सङ्ख्या थपिने र बसाइ लम्ब्याउन सकिने बताए। वन र वन्यजन्तुमा आश्रित यहाँको पर्यटन क्षेत्रलाई विस्तार गर्न जरुरी रहेको सरोकारवाला बताउँछन्।
पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले राप्तीमा सेभेन सर्किट निर्माण गर्नसकेमा पर्यटकलाई नयाँ गन्तव्य दिन सकिने बताए। प्रचुर सम्भावना रहेर पनि राप्ती ओझेलमा परेको भन्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान राप्तीको पर्यटन प्रवर्द्धनमा जानुपर्ने बताएका छन्। (रासस)